डा. ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. ढाकाकुमार श्रेष्ठमाथि गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
मन्त्री बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडिओ सार्वजनक भएको थियो। जसमा उनले मन्त्री बनेपछि प्रसाईंको काम गरिदिने प्रतिबद्धता जनाएका थिए।
अडिओ सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाई सांसदबाट हटाउन प्रतिनिधि सभालाई पत्राचार गरेको थियो। त्यसका आधारमा सभामुख देवराज घिमिरले सांसद पद रिक्त भएको घोषणा गरेका थिए। डा. श्रेष्ठ समानुपातिकबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
यसका विरुद्ध डा. श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश दिएका हुन्। डा. श्रेष्ठमाथि गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न आदेशमा भनिएको छ।
यससँगै सर्वोच्चले डा. श्रेष्ठको माग बमोजिम किन अन्तरिम आदेश नदिने भन्दै कारण देखाउ आदेश पनि दिएको छ। अन्तरिम आदेश दिने कि नदिने भन्ने ठहर गर्नअघि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।