आरजु र मञ्जुलाई पैसा बुझाएको भन्ने अडिओ प्रसारण गर्ने अनलाइन बन्द गराउन काउन्सिलको पत्र
नेपाली कांग्रेसकी नेत्रीद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई नक्कली भुटानी शरणार्थी खडा गर्ने गिरोहले पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक गरेको भन्दै प्रेस काउन्सिल नेपालले एक अनलाइनलाई बन्द गराउन पत्र काटेको छ।
नेशनल दैनिक डटकमले वैशाख २३ गते अडिओ प्रसारण गरेको थियो। वैशाख २४ गते काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई चिठी लेखेर अर्को व्यवस्था नभएसम्म उक्त अनलाइन नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन भनेको छ। पत्रमा पत्रकार आचारसंहिता विपरीत समाचार छापेको र सो अनलाइन काउन्सिलमा दर्ता र सूचीकृत नभएको उल्लेख गर्दै बन्द गराउन भनिएको छ।
काउन्सिलमा गुनासो सुन्ने अधिकारी राधेश्याम अधिकारीले अनलाइन विरुद्ध उजुरी परेको र छानबिन गर्दा काउन्सिलमा दर्ता एवं सूचीकृत नभएकाले बन्द गराउनुपरेको प्रतिक्रिया दिए। उक्त अडिओको आवाजको आधिकारिकता भने आफूहरूले नजाँचेको अधिकारीको भनाइ छ।
प्राधिकरणलाई लेखिएको पत्र अनुसार खाणले उक्त अनलाइनमा प्रसारित अडिओको आवाज नक्कली भएको दाबी गर्दै काउन्सिलमा उजुरी दिएकी थिइन्।
अनलाइनले त्यो अडिओ नेकपा (एमाले) का नेता एवं पूर्व सांसद महेश बस्नेतको फेसबूकबाट लिएको जनाएको छ। अडिओमा आरजुलाई डेढ करोड र मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको भन्ने कुराकानी सुनिन्छ।