‘राष्ट्रलाई नै लज्जित बनायो, छानबिन आयोग गठन गरौं’
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीर रूपमा छानबिन गर्न माग गरेका छन्।
सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे।
“जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ। विभिन्न देशमा पूर्व प्रधानमन्त्री समेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्,” सांसद केसीले भने, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ।”
सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीर रूपमा छानबिन आवश्यक रहेको बताए। सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्त्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए। यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए।
“कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ। त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ। यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ,” उनले भने।
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।
कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा छ। कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यलाई समेत अनुसन्धानमा खिचेको छ।
केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। उनीहरू प्रहरी हिरासतमा छन्।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृहसचिव टेकनारायण पाण्डेले यो समूहलाई सघाएको प्रहरीको भनाइ छ। पूर्व मन्त्री एवं नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा फरार छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण अनुसन्धानको दायरामा छन्।