सभामुखलाई भनेरै कपडा फुकालेको हुँ: अमरेशकुमार सिंह
प्रतिनिधि सभाको बैठकमा कपडा फुकालेर विरोध प्रदर्शन गरेका सांसद अमरेशकुमार सिंहले कारबाही भोग्न तयार रहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्न समय नपाएपछि कपडा फुकालेको उनको भनाइ छ। संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसदले सिंहले यस विषयमा सभामुखलाई पहिले नै जानकारी दिएको बताए।
“मैले भनेको थिए, म विरोधको जुनसुकै हदसम्म जान सक्छु, कपडा खोल्छु,” सांसद सिंहले भने, “मेरो लागि यो सदन निर्वस्त्र हुन्छ। यो स्टन्ट होइन, पहिले सभामुखलाई भनेको थिएँ, बोल्न पाइनँ भने निर्वस्त्र हुन्छु।”
संसद्को मर्यादा विपरीत कार्य गरेमा सभामुखले कारबाही गर्ने व्यवस्था छ। उनलाई सभामुख देवराज घिमिरेले कपडा लगाउन निर्देशन दिएका थिए। आफ्नो व्यवहारमा नियन्त्रण नगरे कारबाही गर्ने चेतावनी दिएका थिए। सभामुखको निर्देशनसँगै उनले कपडा लगाएका थिए।
संसद्को मर्यादा विपरीत व्यवहार गरेकाले कारबाही भए के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा सांसद सिंहले त्यसका लागि तयार रहेको बताए। “कारबाही गरे कारबाही भोग्छु,” सिंहले भने, “म मर्न तयार भएको छु, कारबाही त सानो कुरा हो नि।”
संसद्को मर्यादा विपरीत सांसद पद नै जान सक्ने विषयमा सोधिएको प्रश्नमा उनले त्यसको चिन्ता नभएको जिकिर गरे। “सांसद पद त जनताले दिएको पद हो, जनता मेरो साथमा रहे उनीहरूले फेरि दिन्छन्। म टीका लगाएर आएको होइन,” सिंहले भने।