‘जलवायु सङ्कटलाई अर्थतन्त्रको सङ्कटका रूपमा लिऔं’
‘पहिला भारत र चीनले भन्थे- पश्चिमा देशले हामीलाई क्षतिपूर्ति दिनुपर्छ। अहिले भाषा फरक भएको छ। चीन भविष्यतिर हेर्न थाल्यो, तर भारतले भने विगततिरै हेर्ने गरिरहेको छ।’
हिमाल मिडिया मेला २०२३ को दोस्रो दिन वैशाख २२ मा ‘पत्रकार र जलवायु सङ्कट’ विषयमा बहस भयो। यसमा जलवायु वैज्ञानिक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाँडे, अन्नपूर्ण दैनिकमा आबद्ध पत्रकार नितु घले र नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित वक्ता थिए। यस कार्यक्रममा अनलाइन समाचार पोर्टल द थर्ड पोलका नेपाल सम्पादक रमेश भुसाल प्रस्तोता थिए।
मिडिया मेलामा भएको छलफलको सम्पादित अंशः
रमेश भुसाल: मान्छेले पृथ्वी गोलो छ भनेर पत्याएको ५०० वर्ष भयो। त्यसअघि जब बेलायतमा वाष्प इन्जिन बन्यो, त्यो इन्जिन बोकेर हिंडेको मान्छे यसरी दौडियो, त्यसको गति मापन गर्नै गाह्रो भयो। गएको ३०० वर्षमा यस्तो परिवर्तन भयो, मान्छेले पृथ्वीको तापक्रम नै बढाइदियो। अहिले पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढेको छ। अरू कुनै जीवले पृथ्वीको तापक्रम यसरी बढाएको थिएन।
पहिलो पटक सन् १९३०-३५ तिर पृथ्वीको तापक्रम बढ्दै छ भनेर लेख लेखिएको थियो। अहिले पृथ्वीको तापक्रम बढिरहेको छ, त्यसले जलवायु परिवर्तन भएको छ, सङ्कट बढेको छ र सङ्कटकाल घोषणा गर्ने वेला आएको छ।
म सन् १९८२ मा जन्मिँदा पृथ्वीमा भएका १० लाख अणुमध्ये ३४१ वटा कार्बनका अणु हुन्थे। अहिले ४१६ छ। त्यसकारण हजारौं हजार जीव लोप भएका छन्। हामीले विनाश गरेका छौं।
सँगसँगै पृथ्वीको गति विस्तार हुँदै गर्दा प्रविधिको पनि विकास भएको छ। जसरी मानिसको सत्ता बढिरहेको छ त्यसरी नै मिडियाको सत्ताको ठाउँमा अर्को सत्ता विकास हुँदै छ। हिजो एक जनाले धेरैलाई भन्थ्यो, अहिले सबैले सबैलाई भनिरहेछन्। यो चुनौती मिडियाले कसरी सामना गर्ने? तपाईंले पृथ्वी तात्दै छ भन्ने कहिले सुन्नुभएको थियो?
कुन्द दीक्षित: पहिलो चोटि सन् १९८४ मा वाशिङ्टनमा एक जना वैज्ञानिकसँग कुरा गर्दा ‘ग्लोबल वार्मिङ’ शब्द प्रयोग गर्नुभयो। सन् १९०२ मा पहिलो पटक कोइला बालेर पृथ्वी तात्दै छ भनेर लेखिइसकेको रहेछ। तर, किन नीतिनिर्माताहरूमा यो चेत आएन होला? धेरैले त्यो विश्वास गरेनन्।
यूरोपका नागरिकले भने जलवायु परिवर्तनलाई आत्मसात् गरे। अमेरिकामा त्यो चेतना आउन २५ वर्ष ढिला भयो। त्यही अमेरिकाले संसारको २५ प्रतिशत कार्बन उत्सर्जन गर्छ। त्यो फरक मिडियाको भूमिकाले गर्दा भएको हो। यूरोपका मिडियाले यो सन्देश राम्रोसँग प्रवाह गरे।
रमेश भुसाल: अहिले पृथ्वी तातिसक्यो भन्ने सामान्य भइसक्यो। तपाईंले ‘ग्लोबल वार्मिङ’ बारे पहिलो पटक कहिले पढ्नुभयो?
अरनिको पाँडे: सन् १९२२ मा अमेरिकामा जाँदा के पढ्ने भन्ने छान्नुपर्थ्यो। यत्तिकै एउटा कक्षामा गएँ। त्यहाँ कार्बनडाइअक्साइडको मापन भइरहेको देखें। पहिलो पटक त्यहीं सुनें। पछि बुझ्दै जाँदा सन् १९०२ मा सैद्धान्तिक रूपमा यो कुरा उठेको रहेछ। सन् १९०६ मा अमेरिकी राष्ट्रपतिलाई त्यसबारे प्रतिवेदन बुझाइसकिएको थियो। तर, काम अघि बढेन। वैज्ञानिक ज्ञानले मात्र नपुग्ने रहेछ।
रमेश भुसाल: नितुजी, तपाईंले कहिले सुन्नुभएको थियो?
नितु घले: कहिलेदेखि भन्ने थाहा छैन। सुनिरहेकी थिएँ, लेख्न थालेको केही वर्ष भयो। सन् २०२० मा ब्रिटिश काउन्सिलले तालीम खुलाएको थियो। त्यहाँ एक महीना तालीम लिएपछि यसबारे लेख्न थालें।
रमेश भुसाल: जलवायुबारे कति सचेत छौं र समाचारकक्षले जलवायु परिवर्तनको विषयलाई बुझ्छ भन्न पनि यो प्रश्न गरेको हुँ। हामीले जलवायु र मौसमको फरक बुझिरहेका छैनौं। सामान्य बदली र ठूलो बदलावको तुलना गरेर हेर्न सक्ने भएका छैनौं जस्तो लाग्छ। तपाईंलाई कस्तो लाग्छ?
अरनिको पाँडे: जलवायु भनेको एक दशकमा तापक्रम लगायतमा आएको परिवर्तन हो। लगातार मौसम परिवर्तन हुँदै जाँदा जलवायु हुने हो। पोहोर, परार र यसपालि पनि फागुन-चैततिर एकदमै सुक्खा थियो, वैशाखमा पानी पर्न थालेको छ। अझै तीन-चार वर्ष यस्तै भयो भने जलवायु परिवर्तनको प्रभाव भन्न मिल्छ।
रमेश भुसाल: मौसम सम्बन्धी समाचार किन छापिन्छ?
अरनिको पाँडे: मानिस भएपछि आज के छ भन्नेमा धेरै ध्यान जान्छ। लामो समयमा हुने परिवर्तनमा धेरै मानिसको ध्यान जाँदैन।
रमेश भुसाल: समाचारकक्षमा बसेर हेर्दा, अरू विषयपछि मात्र वातावरणको स्थान दिने समस्या थियो। अहिले अलि कम छ। तपाईंको समाचारकक्ष अलि बढी ध्यान दिनेमा पर्छ। तपाईंले केका आधारमा यो गर्नुहुन्छ? पाठकले कस्तो प्रतिक्रिया दिन्छन्?
कुन्द दीक्षित: पत्रकारिताको करिअरअघि म वैज्ञानिक भएकाले पनि होला जलवायुबारे चासो भएको। सम्पादकको चासो भएपछि समाचारकक्षको पनि चासो बढिहाल्छ। जलवायु परिवर्तनबारे लेख्न पत्रकारिताको कक्षामा पढाइने समाचारको परिभाषा नै फेर्नुपर्छ। जलवायु परिवर्तन लामो समयको घटना भएकाले धेरैको ध्यान जाँदैन।
रमेश भुसाल: जलवायु परिवर्तनसँग नागरिकलाई जोड्नका लागि चाहिने वैज्ञानिक सूचना जसरी आउनुपर्थ्यो, त्यो सूचना खोज्ने कुरामा नेपाल र यस क्षेत्रको वैज्ञानिक जगत् नै कम छ भनिन्छ। हाम्रो क्षेत्रमा राम्रो ज्ञान नहुँदा सूचना नपाएर समाचार नलेखिएको हो वा के हो?
अरनिको पाँडे: वैज्ञानिकको हिसाबले हेर्दा ‘ग्याप’ धेरै छन्। तर, लेख्न सकिने गरी सूचना धेरै छन्। जस्तै- मेलम्ची बजार डेढ सय वर्षदेखि थियो। तर, दुई वर्षअघि सबै बगायो। मेलम्ची बजारलाई अहिले पनि जोखिम छ भन्ने ज्ञान छ। तर, कति ठाउँमा कति क्युबिक गेग्रान बाँकी छ, कति पानी पर्यो भने बगाउँछ भनेर अध्ययन गर्ने ठाउँ धेरै छन्। तर, अनुसन्धान गर्न ‘रिसर्च फन्डिङ’ खोइ त?
रमेश भुसाल: रिपोर्टिङका लागि चाहेर पनि सूचना नपाउनुभएको छ? समाचारकक्षमा केही समस्या छ कि?
नितु घले: जलवायु सम्बन्धी रिपोर्टिङ गर्न थालेको दुई वर्ष मात्र भयो। पहिलो त तथ्याङ्क व्यवस्थापन नै छैन। त्यस्तै, विज्ञलाई कसरी ‘अप्रोच’ गर्ने भन्ने पनि गाह्रो छ। हामीलाई विज्ञसम्म पुग्न गाह्रो छ। गत वर्ष अमेरिका गएका थियौं। त्यहाँ पत्रकारलाई ‘ग्रूमिङ’ गरेको पाएँ। सोधपुछ गर्दा ‘यो इस्यूमा फलानासँग सम्पर्क गर्नुपर्छ, म गराइदिन्छु’ भने। तर, हाम्रोमा त्यस्तै छैन।
रमेश भुसाल: संसारभरका वैज्ञानिकमा पत्रकारले मैले भनेको भन्दा बिगारेर छाप्छ कि भन्ने डर देखिन्छ। प्रायः वैज्ञानिक बोल्न चाहँदैनन्, त्यही डरले बढी काम गरिरहेको छ कि?
अरनिको पाँडे: म इसिमोडमा काम गर्दा एउटा अनुसन्धान गरेका थियौं- काठमाडौंमा बिहानपखको वायुमण्डलमा धुवाँका कण केबाट आउँछन्। त्यो वेला भक्तपुरको ठिमीनेर एक महीना लगाएर नापेका थियौं। २२ देखि २८ प्रतिशत धुवाँका कण आगो बालेर आउँदो रहेछ, तर ‘एक्युरेसी’ भएन भनेर बोलेनौं। अर्को, वैज्ञानिकहरूलाई तालीम नपुगेको पनि हो।
रमेश भुसाल: अनिश्चितताको एउटा ‘रेन्ज’ हुन्छ। सगरमाथामा ४० देखि ९९ प्रतिशतसम्म हिउँ पग्लिन्छ भन्ने रिपोर्ट आउँदा ९९ प्रतिशत भनेर सामाचार लेख्छौं। तपाईं के भन्नुहुन्छ?
कुन्द दीक्षित: पत्रकारलाई ‘साउन्ड बाइट’ चाहिन्छ। ‘मेलम्चीको बाढी जलवायु परिवर्तनका कारण हो’ भन्ने खोज्छौं, तर वैज्ञानिकहरू त्यस्तो भन्दैनन्। त्यसैले वैज्ञानिक र जलवायु परिवर्तनबीच तानातान हुन्छ। वैज्ञानिक र पत्रकार दुवैले काम गर्ने तरीका एउटै हो। शतप्रतिशत प्रमाण नभईकन नलेख्ने भन्ने मिडियाको धर्म हो। तर, धेरै मिडिया चुक्छन्।
रमेश भुसाल: वकालत र पत्रकारिताबीच ‘ग्रे-लाइन’ सानो हुन्छ। त्यो पार गर्दा पत्रकारिता सङ्कटमा पर्छ। तर, जलवायु परिवर्तनमा त्यो लाइन पार गर्न सजिलो हुने हो?
कुन्द दीक्षित: जलवायु परिवर्तनबारे पुरानो खालको पत्रकारिता गरेर पुग्दैन। पत्रकारले पनि केही निष्कर्ष दिनुपर्छ।
रमेश भुसाल: पहिलाका पत्रकारसँग धेरै सुविधा थिएन। अहिले त सुविधा छ। सिक्न चाहे जति पनि सामग्री छन्। तर, किन समाचार लेखिरहेका छैनन्?
नितु घले: एउटा तालीममा एक जना प्रशिक्षक भन्नुहुन्थ्यो- पत्रकार अफिसमा बस्ने जात होइन। तर, फिल्डमा जान स्रोतसाधनको अभाव छ। अफिसमा बसेर मात्र काम गर्दा पछि पर्छौं।
रमेश भुसाल: हामीले चाह्यौंं भने गर्न सकिने ठाउँ छ, तर ज्यालादारी काम गर्नेले त त्यो समस्या पनि सोच्नुपर्छ। स्रोतको कमीका कारण समाचार नआएको वा आउन सक्ने पनि नआएको छ?
कुन्द दीक्षित: गाह्रै छ। हिमनदीको स्टोरी गर्न सगरमाथा राष्ट्रिय निकुञ्जमा जानुपर्छ। त्यहाँ कसैले लगे मात्र जाने हो। कसरी ‘स्टोरी प्याकेज’ गर्ने भन्नेबारे मेरो सुझाव छ- अब जलवायु सङ्कट भन्ने शब्दै प्रयोग नगरौं। हामीले जलवायु परिवर्तनका कारण ल्याएको परिवर्तनसँग अनुकूल हुने हो। त्यो प्रकोपका लागि तयारी हुने हो।
नेपालमा धेरै खालका प्रकोप जोडिएर आउँछन्। हामीले ‘मिटिगेशन’ का लागि के गर्ने भन्न वातावरण जोड्नै पर्दैन। नेपालले गर्ने कार्बन उत्सर्जनले खासै फरक पार्दैन। जलवायु सङ्कटलाई अर्थतन्त्रको सङ्कटका रूपमा लिऔं। सकेसम्म नवीकरणीय ऊर्जामा गएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्छ। त्यो नगर्दासम्म अर्थतन्त्र र राजनीतिक स्वतन्त्रता पनि जोगिंदैन।
रमेश भुसाल: अर्थात्, तापक्रम बढ्छ, घट्छ भन्न परेन। जलवायु परिवर्तनलाई समस्याका रूपमा मात्र लिएका हौं?
अरनिको पाँडे: केही हदसम्म राजनीति कता गइरहेछ भनेर प्रभाव पार्छ। नेपालमा जलवायु परिवर्तन एउटा अवसर पनि हो। यसले रोजगार सिर्जना गर्न सक्छ। त्यस्तै, अन्तर्राष्ट्रिय तहमा आफूलाई बलियो बनाउन सक्छौं। तीन वर्षअघि सगरमाथा संवाद गर्ने कुरा आएको थियो, नेतृत्व परिवर्तन भएपछि फेरि हरायो। अरू वेला एकअर्कासँग संवाद पनि नगर्ने देशलाई एउटै मञ्चमा ल्याउने अवसर छ।
छलफलमा सहभागीका जिज्ञासा मेटाउन प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो। जसमा केही सहभागीले प्रश्न सोधेका थिए।
पत्रकार विराट अनुपमले पत्रकार दीक्षितले जलवायु परिवर्तनलाई लिएर २५ वर्षअघि लेखेको पुस्तक ‘डेटलाइन अर्थ’ का विषयमा प्रश्न गरेका थिए। यो पुस्तक अहिले नेपालीमा ‘डेटलाइन पृथ्वी’ भनेर प्रकाशित छ।
पत्रकार एवं लेखक मोहन मैनालीले फिल्म रिपोर्टिङdf जाँदा लाग्ने पैसा कसरी जुटाउने भन्ने विषयमा आफ्नो विचार राखेका थिए। उनले दुई दशकअघि रसुवाको क्यान्जिङभन्दा माथि गएर गरिएको रिपोर्टिङको सन्दर्भ सुनाएका थिए।
पत्रकार दिनेश पन्तको प्रश्न थियो- जलवायु परिवर्तनका लागि मानिस जिम्मेवार छ भनिन्छ, तर कुन मानिस कहिल्यै भन्दैनौं। समाज, वर्ग, जात निरपेक्ष बनाइदिएका छौं। जलवायु परिवर्तनका जिम्मेवार नेपाली वा तेस्रो विश्वका मानिस हुन् र? जुन अपराध हामीले गरेका छैनौं, त्यसको सजाय हामीले किन भोग्ने?
लेखक रूपा जोशीको प्रश्न थियो- मिडियाले अनुकूलन गर्नुपर्छ भनेर नीतिनिर्मातालाई जोड दिन नसकेको हो कि?
पत्रकार कनकमणि दीक्षितको प्रश्न थियो- हामीले ‘ब्राउन क्लाउड’ बारे पनि कुरा गर्नुपर्ला कि?
सहभागीले सोधेका प्रश्नको वक्ताहरूले जवाफ दिएका थिए। उनीहरूले दिएको जवाफः
रमेश भुसाल: ब्राउन क्लाउडबारे कुरा गरौं।
अरनिको पाँडे: कसको जिम्मा भन्ने कुरामा, ‘ग्लोबल नेगोसिएशन’ मा देशहरू हेरिन्छन्। अमेरिकामा पनि २५ प्रतिशतले कम कार्बन उत्सर्जन गर्छन् भन्ने छ। ब्राउन क्लाउड (तुवाँलो)को स्रोत खुला बलेको आगो नै धेरै हो। डढेलो र खेतमा बाल्ने ठुटा र इँटाभट्टाबाट आएको धुँवा पनि यसको स्रोत हो। यो उत्तरी भारत र नेपालको तराई क्षेत्रबाट पनि हुने गरेको छ।
त्यसले हिमनदी पगाल्न पनि दुई किसिमले सहयोग गर्छ। एउटा, आकाशमा उडिरहेका कालो कणले घामको किरण सोसेर माथि नै तताउँछ। जसले गर्दा काठमाडौंमा चिसो हुन्छ, तर हिउँ पगाल्छ।
अर्को, त्यो तुवाँलो सेतो हिमनदीमा गएर बसेर रङ परिवर्तन गरी किरण सोसिरहेको हुन्छ। त्यो विषय जति उठ्नुपर्ने हो, त्यति उठेको छैन।
२०७२ सालपछि काठमाडौंमा इँटाभट्टा पुनर्निर्माण हुँदा कम धुवाँ फाल्ने र कम कोइला उपयोग गर्नेगरी बनाइयो। त्यो परिवर्तनबाट सिक्न भारत र पाकिस्तानबाट पनि आए। पाकिस्तानी पञ्जाबमा २० हजार इँटाभट्टा छन्, त्यहाँको धुवाँ यहाँसम्म आउँछ। नेपालको परिवर्तनबाट सिकेर त्यहाँ पनि नीतिगत परिवर्तन नै भयो।
कुन्द दीक्षित: अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूमा भारत र चीनको भाषण गर्ने तरीकामा आएको परिवर्तनबाट धेरै कुरा आउला। पहिला भारत र चीन भन्थे- पश्चिमा देशले हामीलाई क्षतिपूर्ति दिनुपर्छ। अहिले भाषा फरक भएको छ। चीनको प्रतिनिधिले वायु प्रदूषण घटाउन के के गरिरहेछौं भनेर भाषण गर्न थालेका छन्। चीन भविष्यतिर हेर्न थाल्यो।
भारत भने विगततिरै हेर्ने गरिरहेको छ। त्यही भएर अहिले चीनले संसारभर वायु ऊर्जा र सौर्य ऊर्जा उत्पादनका प्रविधि विस्तार गर्न थालेको छ।
हामीले पनि अन्तर्राष्ट्रिय जगत्मा आफ्नो उपलब्धि प्रचार गर्न सकेका छैनौं। गएको ३० वर्षमा जङ्गल दोब्बर भएको छ। यो विषय अन्तर्राष्ट्रिय फोरममा उठाउन सकेका छैनौं।
रमेश भुसाल: नेपालले ऐतिहासिक अन्यायलाई सोधेको छैन। तर, त्यो अन्यायबारे कहाँ कुरा गर्ने हो भन्ने जान्नपर्यो भन्न खोज्नुभएको हो?
कुन्द दीक्षित: अहिले सबै समस्याको दोष जलवायु परिवर्तनलाई दिने चलन छ। जस्तै- बागमती प्रदूषणदेखि सुदूरपश्चिमको खाद्य सङ्कटसम्म। यो गएको दशकमा सरकारको असफलताको परिणाम हो।
रमेश भुसाल: त्यस्तो तपाईंलाई लाग्छ?
अरनिको पाँडे: २०८४ सालको चुनावमा भ्रष्टाचार नगर्ने, सुशासनको पक्षधर र जलवायु परिवर्तनलाई बुझ्ने नेतालाई जिताउने चुनौती दिन्छु।