मुगुको हिमपहिरोमा बेपत्ताहरूको खोजी गर्न हेलिकोप्टर परिचालन
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको च्याखु लेकमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गर्न नेपाली सेना‚ सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ।
नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बिहान नेपाली सेना‚ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना घटानास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृह मन्त्रालयले हेलिकोप्टरबाट उद्धारकर्मी पठाएको हो।
यार्सागुम्बु सङ्कलनका लागि च्याखु लेक पुगेका १५ जनामध्ये तीन जना वैशाख २२ गते दिउँसो १ बजे हिमपहिरोमा बेपत्ता भएका छन्। पाटनमा जाँदै गर्दा माथिबाट हिउँ पहिरो आउँदा ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहरा बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि सोही दिन इलाका प्रहरीचौकी मुगुबाट प्रहरी हिंडे पनि अझै घटनास्थलसम्म पुग्न सकेको छैन। हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक पन्थीले बताए।
मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा जान आगामी जेठ ४ गते मात्र अनुमति दिने सूचना जारी गरेको छ। तर‚ जुम्लाको पातारासी गाउँपालिका-२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ गएको प्रहरीको भनाइ छ।