मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान
प्रत्येक वर्ष प्रदान गरिंदै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्रतर्फ प्रदान गरिने भएको छ।
स्वदेशमै रहेर चिकित्साशास्त्रको क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरिने फाउन्डेशनले निर्णय गरेको छ। फाउन्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमिमा रहेर नयाँ र लाभदायी स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति वा संस्थालाई पुस्कार प्रदान गरिनेछ।
यसका लागि फाउन्डेशनले पुरस्कार छनोट समिति समेत गठन गरेको छ। यो पुरस्कारको राशि एक लाख रुपैयाँ छ।
पुरस्कारका लागि चिकित्साशास्त्रतर्फ नयाँ लाभदायी शल्यक्रिया प्रविधिको विकास गरेको, अङ्ग प्रत्यारोपणका विशेष सेवाहरू (मुटु, कलेजो, मिर्गौला), जन्मजात अपाङ्गताको उपचार, महिला पाठेघर खस्ने समस्याको उपचार व्यवस्थापन तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पुर्याएको व्यक्ति वा संस्थाबाट आवेदन माग गरिएको छ।
यी सेवाको संस्थागत विकास गर्दै दुर्गम क्षेत्र, गरीबी, असहाय र सेवाबाट वञ्चित जनसंख्याको स्वास्थ्यमा सहज पहुँचका लागि विशेष भूमिका खेलेको व्यक्ति तथा संस्थाले समेत पुरस्कारका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, एक लाख राशिकै मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यस वर्ष खेलकूद क्षेत्रतर्फ प्रदान गरिने फाउन्डेशनले जनाएको छ। पुरस्कारका लागि व्यक्ति वा संस्था आफैंले आवेदन दिन सक्नेछन् भने अन्य कुनै व्यक्ति वा संस्थाले सिफारिश पनि गर्न सक्नेछन्।
जेठ २५ गतेसम्म आवेदनका लागि म्याद दिइएको छ। मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा पुरस्कार प्रदान गरिने भएको छ।