संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा छानबिनको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।
बैठकको प्रारम्भमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूले यो प्रकरणमा धारणा राखेका छन्। नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे। “सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दै छौं, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ,” बर्तौलाले भने।
सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए। सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुने बताए।
सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरे। सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागीदार हुन तयार हुनुपर्ने बताए।
त्यस्तै, सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे। सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरू विभिन्न भ्रष्टाचार सम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे। सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए। सांसद सरिता प्रसाईंले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने बताइन्।
यसैगरी, सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताइन्। सांसद आरजु राणा आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताइन्। उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताइन्।
सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचार सम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए। सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे।
सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए।