वनकरिया महिलाले उत्पादन गरे साबुन
मकवानपुरका वनकरिया समुदायका महिलाले घ्यूकुमारी र तीतेपातीबाट साबुन उत्पादन गरेका छन्।
मनहरी गाउँपालिका-४ ट्वाङ्ग्रा गाउँमा बसोबास गर्दै आएका वनकरियाहरूले नुहाउने साबुन उत्पादन गरेका हुन्। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले २५ जना वनकरिया महिलालाई साबुन बनाउन तीन दिने तालीम दिएको थियो।
मञ्चले तालीमसँगै साबुन बनाउन आवश्यक औजार पनि प्रदान गरेको सन्तोषी वनकरियाले बताइन्। “साबुन उत्पादन गर्नका लागि आवश्यक औजारहरू समेत मञ्चले प्रदान गरेको थियो‚” उनले भनिन्। मञ्चले साबुन बनाउन आवश्यक पाँच वटा फर्मा दिएको छ। तीमध्ये कुनैमा एक पटकमा ६ वटा र कुनैमा २४ वटासम्म साबुन बनाउन सकिन्छ।
साबुन उत्पादन थाले पनि आवश्यक कच्चा पदार्थमध्ये अहिले घ्यूकुमारी अभाव भएको छ। “तीतेपाती त पाखा र बगरमा पनि पाइन्छ, घ्यूकुमारी छैन,” सन्तोषीले भनिन्‚ “कहाँबाट कसरी किन्ने भन्ने खोजी गर्दै छौं।”
लोपोन्मुख आदिवासी जनजाति वनकरिया समुदायको आर्थिक अवस्था नाजुक छ। त्यसैले साबुन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र उत्पादित साबुनको बजारीकरण भए आत्मनिर्भर हुन सहयोग पुग्ने वनकरिया महिला विकास संघका अध्यक्ष माया वनकरियाले बताइन्। “तालीम लिएपछि हामी एकदम खुशी छौं, अब स्थानीय सरकारले पनि केही सहयोग गरिदिए उद्योगको रूप दिन सक्ने थियौं,” उनले भनिन्।
तालीमको क्रममा उनीहरूले ४०० वटा साबुन उत्पादन गरेका थिए। अब व्यावसायिक रूपमा नै उत्पादन गर्न चाहेको सन्तोषीको भनाइ छ। वनकरिया महिला विकास संघबाट व्यावसायिक रूपमा उत्पादन गर्न तयारी गरिरहेको संघकी सचिव समेत रहेकी सन्तोषीले बताइन्।
उनीहरूले साबुनको मूल्य तोकिसकेका छैनन्। “लागत हिसाब गरेर मूल्य तोक्नेछौं‚” सन्तोषीले भनिन्‚ “शुरूमा फाइदाभन्दा पनि हाम्रो उत्पादनको बजारीकरण महत्त्वपूर्ण छ।”
साबुन उत्पादन र त्यसको बजारीकरणका लागि आवश्यक समन्वय र सहकार्यका लागि आफूहरूले पनि पहल गर्ने वडाध्यक्ष प्रकाश थापा बताउँछन्।
२०१८ सालदेखि ट्वाङ्ग्रामा बस्दै आएका उनीहरूलाई २०६२ सालमा नेपाल सरकारले कबुलियती वनमा बस्न दिएको थियो। उनीहरूले बसोबास गरेकै स्थानमा लालपूर्जा दिन माग गर्दै आएका छन्।
सरकारले भूमिहीनलाई जग्गा वितरण गरिरहँदा आफूहरूले पनि पाउनुपर्ने माग गर्दै २०७९ जेठमा वनकरिया समुदायका वडाध्यक्ष प्रकाश थापाको साथमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय पुगेका थिए। तत्कालीन मन्त्री शशी श्रेष्ठको आश्वासन उनीहरू फर्केका थिए। तर, एक वर्ष बितिसक्दा पनि कुनै काम नभएको सन्तमाया वनकरियाले बताइन्।