मौसम सुधार नहुँदा चार सयभन्दा बढी आरोही सगरमाथा आधारशिविरमै
सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा आरोही आधारशिविरमै प्रतीक्षारत छन्, तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही माथि उक्लिन्छन्। तर, झन्डै दुई सातादेखि सगरमाथाको आधारशिविर र आसपास क्षेत्रमा बसेका आरोही अन्योलमा छन्। आरोहण कहिले खुल्ने हो भन्ने निश्चित छैन।
आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। उनीहरूले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै सगरमाथा आरोहण शुरू हुन्छ।
पश्चिमी र स्थानीय वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसममा वैशाख २२ गतेदेखि क्रमिक सुधार आएको छ। दुई दिनदेखि राजधानी काठमाडौं सहित देशभरको आकाश खुलेर घाम लागेको छ। देशभरको मौसममा सुधार आए पनि आरोहणको सँघारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन।
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीब्र वेगले हावा चलिरहेको छ। सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर सात हजार ५०० मिटरभन्दा माथि तीव्र वेगले हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नभएको जनाइएको छ।
अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघन्टा ४० देखि ५० किलोमिटर हावाको वेग रहेकाले आरोहणमा कठिनाइ भएको हो। केही आरोही सगरमाथा आधारशिविरमा छन् भने केही काठमाडौं फर्किएका छन्। अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन्।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ। केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन। “सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, अपराह्नतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ,” लामिछानेले भने।
महाशाखाले हरेक दिन साँझ सगरमाथा लगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ। पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ। महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ। महाशाखाबाट सगरमाथा, अन्नपूर्ण क्षेत्र लगायतमा सरसफाइ अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद् लामिछानेले बताए।
मौसम अनुकूल भइदिएको भए यही वैशाख २१ गते सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो। निर्धारित तालिका अनुसार सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने योजना मौसमकै कारण रद्द भयो।
झन्डै दुई सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ। प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एन्ड एक्स्पिडिशन कम्पनीले जनाएको छ।
इमेजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिए वैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरू हुने विश्वास व्यक्त गरे। “सगरमाथा क्षेत्रको मौसममा अझै पूर्ण रूपमा सुधार आएको छैन, शुक्रबारको तुलनामा भन्दा आज मौसम राम्रो छ, वैशाख २९ सम्म चुचुरोसम्मको बाटो खुलाउने योजना साकार हुनेछ,” शेर्पाले भने।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो।
सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टर जस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी ४०० भन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन्।
आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन्। ‘वीन्डी एप’, ‘निम्सदाइ स्टोर एप’ लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ। विभिन्न मुलुकबाट आएका आरोहीहरू सम्बन्धित मुलुकबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन्।
पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रूपमा सुधार हुँदै गएको बताए। “सगरमाथा क्षेत्रको मौसममा सुधार भइरहेको छ, म आफू पनि आधारशिविर पुगेर आजै फर्किँदै छु। आरोही अनुकूल मौसमको प्रतीक्षामा आधारशिविरमा आराम गरिरहेका छन्,” खतिवडाले भने।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४३ आरोही समूहका ४६६ आरोहीले आरोहण अनुमति लिएका छन्। जसमा ९८ महिला र ३६८ पुरुष छन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो। (रासस)