पोखरीमा डुबेका दुई बालकको उपचारका क्रममा मृत्यु
जनकपुरधाममा पोखरीमा डुबेर बेहोस भएका दुई बालकको उपचारका क्रममा मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वैशाख २३ गते साँझ जनकपुर–२४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।
उनीहरू पोखरीमा डुबेको खबर पाउने बित्तिकै जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याएको थियो। उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।
बालकका शव अस्पतालमै छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।