यार्सागुम्बा सङ्कलन गर्न गएका तीन जनाको हिमपहिरोमा परेर मृत्यु
मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।
जुम्लाको पातारासी गाउँपालिकाका-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।
यार्सागुम्बा सङ्कलनका लागि गएका १४ जनामध्ये तीन जनाको मृत्यु भएको हो। अन्य सामान्य घाइते भएका छन्। दुई जना सकुशल छन्।
प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। उनीहरूको उद्धारका लागि मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले बताइन्।
उनीहरू हिमपहिरोमा परेको खबर शनिबार दिउँसो पाएपछि इलाका प्रहरी चौकी मुगुबाट टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले बताए। घटना के कारणले भएको भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ।
यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भने पनि सयौं व्यक्ति अर्कै बाटो हुँदै अहिले मुगुको पाटनमा पुगेका छन्। मृत्यु भएका तीन जना सहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो। -रासस