‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘केही वर्षअघि अमेरिका जाँदा हातमा पुस्तक, लठ्ठी र पानी हुन्थ्यो। पछिल्लो पटक अस्ट्रेलिया जाँदा हातमा लठ्ठी र पानी त थियो, तर पुस्तक थिएन, मोबाइल थियो। प्रविधिले उथलपुथल ल्याए पनि मोबाइल वा इन्टरनेटले पुस्तकको गन्ध र आत्मीयता दिन सक्दैन।’
युवराज नयाँघरेको नयाँ पुस्तक याकजी प्रकाशित भएको छ। डोल्पामा बसेर त्यहाँको समाज, परिवेश र रहनसहनबारे अध्ययन गरेर तयार पारिएको पुस्तक हो, याकजी। उनले २०६५ सालमा एक हातको ताली पुस्तकका लागि मदन पुरस्कार पाएका थिए।
लेखनयात्रासँगै नयाँ पुस्तक याकजीमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक नयाँघरेसँग अनिता भेटवालले गरेको कुराकानीः
काठमाडौंको बासिन्दा डोल्पामा बसेर याकजी पुस्तक लेख्नुभयो। यो क्रममा डोल्पोको जीवन, दैनिकी, खानपान र समग्र समाज कसरी चलिरहेको पाउनुभयो?
पहिलो त मलाई नेपाल चिन्नै बाँकी रहेछ भन्ने अनुभव भयो। त्यहाँ तल्लो डोल्पा र माथिल्लो डोल्पा छन्। तल्लो डोल्पाको सामाजिक अवस्था कहालीलाग्दो छ। सामाजिक निरङ्कुशता छ। त्यहाँ बाहुन, खस समाज एकातिर छन्, दलितको पीडा, छाउपडीको समस्या, ठकुरी समुदायले गर्ने व्यवहार फरक छ। त्यहाँ राज्य पुग्नै सकेको छैन।
माथिल्लो डोल्पामा भोटको समाज छ। भोटमा विकटताभित्र पनि मानिस दुःखले बाँचेका छन्। दुई-तीन वटा घर, एउटा गुम्बा, एउटा चिहान, केही भेडा र चौंरी पालिएको छ। माथि तिब्बतसँग जोडिएको छ। तल झर्न १० दिन लाग्न सक्छ। त्यो विकटता र अभावमा पनि भिन्न जीवनशैली छ। त्यहाँ पनि मान्छे बाँचेकै छन्।
२०३० सालतिर मात्र डोल्पाका गाउँहरू नेपाली गाउँ भनेर पत्ता लागेको रहेछ। त्यसअघि न चीन न त नेपाल भनेर बाँचेका रहेछन्। अहिले पनि मानिस त्यस्तो अवस्थामा बसेको हेर्दा अचम्म नै लाग्यो। त्यति अभावमा पनि मानिस बाँच्दा रहेछन् भन्ने लाग्यो।
यही प्रसङ्गमा डोल्पो क्षेत्रमा लुगा धोएर सुकाएको एउटा पनि स्थान नदेखेको पुस्तकमा उल्लेख गर्नुभएको छ। अलि बताइदिनुहुन्छ कि?
माथिल्लो डोल्पाको अनुभव हो। त्यहाँ मानिसका घर हिउँले भत्किएका छन्। हातखुट्टा रगत आउलान् जस्तो गरी फुटेका छन्। मानिसको अनुहार फुटेर रगत चुहिएला जस्तो छ। नाकको सिंगान अनुहारमा लतपतिएको छ। कोही एक जना पनि सुकिलो देखिनँ। फाटेका लुगा, जहाँ फाट्यो त्यहीं सिलाएको। एउटै लुगा तीन-चार पटक उही ठाउँमा सिलाएको थियो। लुगा धुनुपर्छ भन्ने पनि मान्छेलाई लागेको छैन। त्यस्तो अवस्थामा पनि मान्छेहरू मीठो हाँसेका छन्।
डोल्पो यात्रा गरेर फर्किने वेला मात्र सालनाङको बाटोमा एक जनाले लुगा धोएको देखें। अचम्म लाग्यो। त्यो पनि उनका कोही आफन्त काठमाडौं वा शहरमा बसेको भएर हुन सक्छ। त्यहाँ राज्यको उपस्थिति पनि छैन। जब तपाईं शे-फोक्सुन्डोभन्दा माथि जानुहुन्छ, त्यसपछि समाज धर्मले मात्र चलेको पाइन्छ।
अनि डोल्पोका मानिससँग नेपालीभन्दा चीनको मुद्रा युआन बढी रहेको पाएँ भन्नुभएको छ। त्यो कसरी रहेछ?
सरकार सदरमुकाममा मात्र छ। मैले देखेका, घुमेका सालनाङ, भिजेर, टाटा, टोकियो, कुगाउँ, रमन जस्ता गाउँहरूमा सरकार देखिनँ। हामीले पो खच्चडमा सामान लग्यौं, टेन्ट लगाउँदै बस्दै हिंड्यौं। त्यस्तो दुःख गरेर सरकार गाउँमा पुग्दैन। त्यहाँ मानिसको खल्तीमा युआन नोट बढी छ। मानिसका घरमा तिब्बतका बियर, उतैका चाउचाउ, चामल सबै उतैको छ। बिहेबारी पनि उतै हुँदो रहेछ। पूजापाठ गर्ने ठाउँमा पनि दलाई लामाको मात्र फोटो छ। गाउँ गाउँमा अहिले तिब्बतका मोटरसाइकल कुद्छन्।
अब त झनै तिब्बततिरबाट चीनले नाका पनि खोल्दै छ। बिरामी पर्दा एउटा सिटामोल पनि नेपाल सरकारबाट नआएपछि उनीहरू नेपाल सरकारसँग जोडिन पाएका छैनन्। सबैतिर किताब पुग्यो भन्छन्, तर सालनाङ र भिजेर गाउँका मानिस मलाई किताब पठाइदिनु भनिरहेका छन्। काठमाडौंबाट गएका पुस्तक जुफाल र दुनैमा नै अलमलिन्छ। दुनैबाट गाउँमा पुग्न तीन महीना लागेको छ। त्यसैले माथिल्लो डोल्पाको भिजेर गाउँमा ६ महीनासम्म पुस्तक थिएन।
डोल्पा त यार्सागुम्बुका लागि पनि प्रसिद्ध छ। अहिले जलवायु परिवर्तनको असर त्यहाँ पनि परेको छ भन्छन्। तपाईंले कस्तो पाउनुभयो?
अहिले यार्सागुम्बु घट्न थालेको रहेछ। त्यो जलवायु परिवर्तनका कारण पनि हुन सक्छ। किनभने त्यहाँ अहिले हिउँ निकै कम पर्न थालेको रहेछ। त्यो टिप्नलाई अहिले पनि कास्की, मनाङ, लमजुङदेखि मानिस जाँदा रहेछन्। चीनका मानिस हेलिकोप्टर लिएर यार्सागुम्बा खरीद गर्न आउँदा रहेछन्।
एकातिर, मान्छेको भीडले उत्पादनमा कमी पनि आएको रहेछ। अर्कातिर, चीनका व्यापारीले आफ्नो रणनीति बनाएर एक वर्ष चर्को मूल्य राखिदिने रहेछन्। त्यो महँगो भएपछि अर्को वर्ष खरीद कम हुँदो रहेछ। त्यसपछि मानिसहरू महँगोमा खरीद हुँदैन भनेर सङ्कलन गर्न नजाँदा रहेछन्। अनि फेरि एक-दुई वर्षपछि भाउ कम गरेर आफैं खरीद गर्ने रहेछन्। त्यही कारण पनि कति स्थानीय व्यापारीले घाटा खाएर घरबार नै डुबाएको पनि पाएँ।
प्रसङ्ग बदलौं। तपाईं त नियात्रा लेखिरहने मान्छे, नेपाली साहित्य सिर्जनामा नियात्राको स्थान कस्तो पाउनुहुन्छ?
निबन्धको एउटा हाँगाका रूपमा नियात्रालाई लिन सक्छौं। पछिल्लो पटक नेपाली निबन्धले आत्मपरकताको जति विस्तार गर्यो, त्यसको तुलनामा नियात्राले बढी चर्चा र स्थान लिएको जस्तो लाग्छ। निबन्धमा वैचारिक बहस र छलफल गरिन्छ भने नियात्रामा फुक्काफाल भएर हिंड्न सकिन्छ। त्यसैले पनि नियात्राको उचाइ र पाइला चलाइ बढी छ।
नियात्रा र निबन्धमा एक रोज्नुपर्यो भने के रोज्नुहुन्छ?
यो मलाई गाह्रो प्रश्न हो। किनकि, मेरो पहिचान र उपस्थिति निबन्धसँगै जोडिन्छ। तर, आनन्द, मस्त र दिल फुकाएर लेख्ने काम नियात्रामा गर्छु। त्यसैले जीवन सधैं दर्शनले चल्दैन, गम्भीर भएर मात्र पनि हुँदैन। लेखन पनि त्यस्तै रहेछ। नियात्रामा दिल खोलेर लेख्ने ठाउँ छ, तर निबन्ध साँघुरो छ। त्यसैले पनि नियात्रा नै मेरो रोजाइ हो।
नियात्रा लेखनतिर कसरी ढल्किनुभयो?
धेरै वर्षअघि रेडियो नेपालमा यज्ञनिधि दाहालले ‘साहित्य संसार’ कार्यक्रम चलाउनुहुन्थ्यो। प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यो कार्यक्रमको सहयोगी थिएँ।
इलामबाट आएपछि कलेजको पैसा पनि जुटाउनुपर्थ्यो। खोटाङबाट आएका साथी ज्ञानेन्द्र विवशलाई क्याम्पसको पैसा जुटाउन समस्यै थियो। २०५१ सालतिर योगिनीजीले हामीलाई घुमफिर गरेर लेख भनेपछि दार्जीलिङ गयौं। त्यहाँ प्रसिद्ध लेखक इन्द्रबहादुर राई, शिवकुमार राई, लखिदेवी सुन्दास, जगत क्षेत्री लगायत २५ जना लेखकको आवाज रेकर्ड पनि गर्ने र लेख्ने भयौं।
काठमाडौं फर्केर हेर्दा त कसैको आवाज रेकर्ड थियो, कसैको थिएन। इन्द्रबहादुर दाइको लामो अन्तर्वार्ता पनि रेकर्ड भएन। त्यही प्रसङ्ग कति निबन्धमा लेखें, कति भने यात्राका कुरा भनेर नै लेख्नुपर्ने भयो।
त्यसपछि चियाबगान, शिवकुमार राईसँगको भेटघाट, उहाँले नदिएपछि फोटो नै चोरेको कुरा मिलाएर ‘खर्साङको खिच्रिङमिच्रिङ’ लेखें। मधुपर्कमा छापिएपछि निबन्धभन्दा बढी त्यो नियात्राको चर्चा भयो। सबैले निबन्ध कठोर तर नियात्रा अनौपचारिक, रमाइलो, हाँसोठट्टा, भूगोल, संस्कृति र पात्रका अनेक कुरा आउँदा राम्रो भयो भने। सबैले निबन्ध हाडे ओखर र नियात्रा दाँते ओखर भएको प्रतिक्रिया दिए। त्यसपछि नियात्रा लेख्न थालें। बिस्तारै निबन्ध कम र नियात्रा धेरै लेखिन थाल्यो।
यात्रा त सबैले गर्छन्, तर नियात्राकारले गर्ने यात्रा र अरूले गर्ने यात्रामा केही फरक हुन्छ कि?
फरक त हुन्छ। हाम्रा पितापुर्खाले पनि यात्रा गरेका थिए। पहिलादेखि नै तीर्थ भनेर चारधाम जाने गर्थे। तर, उनीहरू लेख्न भनेर गएका हैनन्। तैपनि फर्केर आएपछि कसैले सिलोक भने कसैले डायरीमा टिपे। कसैले नातिनातिना र छोराछोरीलाई आफ्नो अनुभव सुनाए। तर, लेखकले यात्रा गर्दा भने फरक तरीकाले गर्छ। केही न केही लेख्छु भन्ने मनस्थिति हुन्छ।
म देशका ७७ वटै जिल्ला घुमें। कहीं पैदलयात्रा, कहीं हवाई त कहीं गाडीमा यात्रा गरियो। यसरी यात्रा गर्दा लेखकले सचेत भएर घुमफिर गर्दो रहेछ। भूगोल, संस्कृति, जनजीवन बुझ्न खोज्दो रहेछ।
त्यसैले लेखक र गैरलेखकले यात्रा गर्दा आनका तान फरक हुन्छ। गैरलेखकले समाज गहिरिएर अध्ययन गर्दैन। घुम्छ र त्यही उद्देश्य पूरा गर्छ, फर्कन्छ।
भनेपछि यात्रा गर्नुपूर्व नै लेख्छु भनेर हिंड्नुहुन्छ?
हो, कति यात्रा लेख्छु भन्ने सोचले गरिन्छ। तर, कतिपय अवस्थामा फर्केर एक अक्षर पनि लेखिंदैन। धेरै साथीहरूले सिक्किम, चीनको सीमा, गुम्बा पुगौं भनेपछि घुमफिर गरियो। फर्केर आएपछि एक अक्षर पनि लेख्न सकिनँ। आजसम्म सिक्किम कति घुमियो, कतिले लेखिदिनुपर्यो पनि भन्छन्। तर, लेख्न सकिएकै छैन।
त्यसैले घुम्नासाथ लेखिहाल्ने पनि हैन। मनको तार बज्नुपर्ने रहेछ। मनको तार नबज्दासम्म बाहिरको सत्कारले हुँदैन। कतिले लेखिदिनुपर्यो भनेर घुमाउन लग्छन्, तर फर्केर आएपछि एक अक्षर पनि लेख्न सकिंदैन। त्यो भनेको लेखक असफल र मानवीय रूपमा कमजोर भएको हो।
कति योजना गरेर, कहाँ कहाँ पुगेर पनि फेरि लेख्न नसकेका थुप्रै अनुभव छन्। पहिला दुई जोर कपडा लिएर कलंकीको गाडी जहाँ पुग्छ, त्यही पनि गएँ। त्यसरी कति अव्यवस्थित नियात्रा भने लेखिएका पनि छन्। त्यस्तोमा अनुभूति र विवरण कम आउँछ। पहिल्यै तयार भए विवरण बढी आउँछ भने अनौपचारिक रूपले यात्रा गर्दा अनुभूति बढी आउँछ। पाठकले भने विवरणभन्दा बढी अनुभूति मन पराउँछन्। तारानाथ शर्मा, लैनसिङ बाङ्देल, माधव पोखरेलका रचनामा अनुभूति बढी भेटिन्छन्।
नियात्रा लेख्दा केकस्ता विषय नछुटून् भनेर ध्यान दिनुहुन्छ?
नेपालको खोलावारि र पारिको भाषा नै फरक छ। त्यसैले मैले लेख्दा भाषिक सुन्दरतामा ध्यान दिन्छु। पूर्वतिर कम्मरमा हात लगाएर ‘हऊ’ भन्छ। सङ्खुवासभातिर लागेपछि ‘चुम’ लगाउने चलन छ। जान्चुम, खान्चुम भन्छन्। त्यो भाषिक सुन्दरतालाई टपक्क टिपेर हालिदिन्छु। त्यहाँको भूगोललाई सम्मान यसरी नै गर्ने हो। आफ्ना रचनामा स्थानीयता बोध गराउन भाषाको नमूना नछुटोस् भन्ने लाग्छ। त्यो नै मेरो आफ्नोपन पनि हो।
स्थानीय भाषाले हाम्रो गाउँ र ठाउँ पनि छुट्याउँछ। दाङ घुमेपछि त्यहींको भाषा आउनुपर्छ, कैलालीको भाषा आएर हुँदैन। जुम्ला गएर मुगुको शैली आउनु हुँदैन भन्ने लाग्छ। त्यो नै स्थानीयतालाई बढावा र स्थानीय बासिन्दालाई न्याय गरेको भन्ने लाग्छ। यस्तो प्रयोग तारानाथ शर्माले ‘घनघस्याको उकालो काट्ता’ मा नै गरेका थिए।
मदन पुरस्कार प्राप्त एक हातको तालीदेखि अहिलेसम्म नियात्रा नै लेखिरहनुभएको छ। प्रायः लेखकहरूले बजार हेरेर विधा परिवर्तन गरेको पाइन्छ। तपाईंलाई कहिल्यै परिवर्तन गर्ने सोच आएन?
गाडीमा चालक र सहचालक हुन्छन्। एउटा गाडी चलाउन सहचालकले धेरै दुःख गरेर चालक बनेको हुन्छ। चालक भएपछि फेरि किन सहचालक हुनु भन्ने मेरो तर्क हो। कति दुःखले एउटा शैली बनेको हुन्छ। भाषामा पकड, समाज पढ्ने शैली बनेको हुन्छ। खीर पकाउने बानी परिसकेको हुन्छ। त्यो छोडेर अर्को विधामा जाँदा खिचडी पो हुन्छ कि भन्ने डर पनि लाग्छ।
यही विधामा मेरो हात बसेको छ, यसमा खुल्न सक्छु। यहाँ म समुद्रको शार्क जस्तो भएर सबैतिर बाँकटे हान्न सक्ने भएको छु। अर्को विधामा गए भने मलाई समुद्रमा पानी कति छ भन्ने पनि थाहा नहोला। त्यसमा पौडिन नसकुँला। त्यो कठिन हुन सक्छ। पहिचान नै मेरो निबन्ध नियात्राकार भएको छ। अर्को विधामा लेख्दा नयाँ स्वाद त आउला, तर जीवनको आधा समय यसैमा बित्यो भने अब किन जोखिम उठाउने भन्ने लागेर हो।
फेरि नेपाली साहित्यमा निबन्ध र नियात्रा रूखको मुनि सेपमा परेका छन्। काठे च्याउ जस्तो भएका छन्। कृष्णचन्दसिंह प्रधान दाइ, कमलमणि दीक्षितज्यूहरू बितेपछि यो विधा फस्टाउन सकेको छैन। आत्मपरक निबन्धका एक-दुई वटा मात्र पुस्तक वर्षमा मुश्किलले आइरहेका छन्। नियात्रामा पनि धेरै काम भएको छैन।
विदेश जाने धेरै छन्, तर त्यहाँ गएका कतिले नियात्रा लेखे होलान्? लेखेकामध्ये कति पुस्तक चले होलान्? त्यसैले हामीले अझै धेरै काम यसैमा गर्नु छ। पटुकी कस्न नसकेको वेला फेटा कस्ने रहर गर्दिनँ।
अहिले त सञ्चार प्रविधिको निकै विकास भएको छ। युवा पुस्ताले आफ्नो यात्रालाई ‘भ्लग’ का रूपमा प्रस्तुत गरिरहेका छन्, चर्चित पनि छन्। भिडिओ रूपमा हुने भएकाले त्यसको प्रभाव पनि बढी नै हुन्छ। यो समयमा नियात्रा लेखनले कति महत्त्व बोक्छ?
केही वर्षअघि अमेरिका भ्रमण गर्दा हातमा एउटा पुस्तक, लठ्ठी र पानी हुन्थ्यो। पछिल्लो पटक अस्ट्रेलिया जाँदा हातमा लठ्ठी, पानी त थियो, तर पुस्तक थिएन। पुस्तकको ठाउँमा मोबाइल थियो। मलाई लाग्छ, मोबाइल वा इन्टरनेटले पुस्तकको गन्ध र त्यससँगको आत्मीयता दिन सक्दैन। ढिलो-चाँडो समाज पुस्तकमै फर्किन्छ।
म पनि ट्वीटर चलाउँथे। तर, त्यहाँ त राजा ज्ञानेन्द्र, कमल थापा, प्रचण्ड, गगन थापा, खगेन्द्र संग्रौला, भारतको अन्डरवर्ल्ड लगायत सबै रहेछन्। त्यसैले त्यो ठूलो ठाउँबाट आफ्नै पुस्तकको सानो ठाउँमा नै फर्किएँ। सानो ठाउँमा रहनुको मजा बेग्लै छ। पुस्तकको मजा बेग्लै छ, जुन जस्तै प्रविधिमा पनि पाइँदैन।
आज पनि तारानाथ शर्मा, देवीचन्द्र श्रेष्ठका यात्रा र माधव पोखरेलका निबन्ध, पारिजात र शंकर लामिछानेका रचना पढ्दाको अनुभूति अरू कुनै भिडिओ वा ‘भ्लग’ ले दिन सक्दैन। अहिले केही वर्ष चुनौती होला, स्वतन्त्रताका कारण सबैले अनेक कामकुरा गरेका छन्, तर त्यो पनि थिग्रिनेछ।
म अहिले पनि रामायण, वेद, गीता, त्रिपिटक आदि पल्टाइरहेको छु। हुन्डरीले पातपतिङ्गर उडाउँछ, तर पृथ्वीको माटो सबै उडाउँदैन। अहिलेको प्रविधिको चुनौती पनि त्यही हो। सबै महत्त्व प्रविधिले मात्र लिंदैन। नियात्रा लेखन र पठनको महत्त्व कहिल्यै कम हुँदैन।
भ्लगले मात्र यात्राको बयान गर्न सक्दैन। कुहिरो, पानीको दृश्य देखाएर मात्र वास्तविक मजा आउँदैन। त्यसको अनुभूति लिन पानीमा मुख डुबाउनै पर्छ। त्यसपछि मात्र आहा भन्ने अनुभव गरिन्छ। त्यही आहा भन्ने अनुभूति नियात्रा लेखनमा पाइन्छ। निबन्ध र यात्रा लेख्दा लेखक पसिना चुहाएर हिंड्छ। फेरि पसिना नै चुहाएर पाठकलाई पनि तिरमिराउने गरी लेखिदिन्छ।
त्यसपछि पाठकको मनमा पनि मलाई जस्तै तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्ता’ को याद आउँदो हो। अहिलेसम्म कति भ्लग हेरें, तर मलाई त पारिजातको ‘धूपी, सल्ला र लालीगुँरास’ को लेखनले नै छुन्छ, लैनसिङ बाङ्देलले पेरिसमा आफ्नी प्रेमिकासँग बिताएका दिनहरूको लेखन नै याद हुन्छ। त्यसैले अक्षर जति शक्तिशाली अरू केही छैन।
समीक्षकहरूको एउटा गुनासो छ, तपाईं जहाँ गए पनि नियात्रा लेखिहाल्नुहुन्छ। के नियात्रा त्यति सजिलो विधा हो?
यो त पसिना नै छुट्ने गरीको प्रश्न भयो। सबैको कर्म हुन्छ। एउटा शिक्षकले राम्रो पढाउनु उसको कर्म हो। सञ्चारकर्मीले सूचना र समाचार राम्रोसँग प्रकाशन-प्रसारण गरिरहनु उसको कर्म हो। चिकित्सकले उपचार गरिरहनु उसको कर्म हो। त्यस्तै, मैले जानेको कर्म नै लेखन हो। मैले सिङ्गो जीवन लेखेरै बिताएँ। त्यसैले जानेको कुरा समाजमा अर्पण गर्नुपर्छ भनेर लेख्छु।
मैले कति ठूला अवसर छाडेर पनि लेखन नै चुनेको हुँ, म लेख्नकै लागि आएको हुँ। यो आलोचना गर्नेहरूले चाहिं मलाई कम पढेको हुनुपर्छ। जहाँ गयो त्यहीँ लेखेको भन्ने कुरामा म लुम्बिनी सयौं पटक गएँ होला, कर्णालीका बस्ती बस्ती घुमें, इलामको चप्पा चप्पा घुमें, झापा, मोरङ, सुनसरीमा कति घुमें, तर अहिलेसम्म लेखेको छैन।
त्यसैले यो मेरोबारे छिटो गरिएको टिप्पणी हो। मैले त अझै समाजलाई पर्गेलेर, घुमेर र बुझेर लेख्नै बाँकी छ। अहिलेसम्म त मैले २५ प्रतिशतमा लेखें होला। अझै समाजका बहुआयामिक पक्षहरू बुझेर लेख्न त बाँकी नै छ। त्यसैले जसले यो टिप्पणी गर्नुभयो उहाँ हतारिनुभयो।
फेरि पुस्तककै कुरा गरौं। याकजी पुस्तकमा धेरै अनौठा घटना छन्। जस्तो, यात्राकै क्रममा लिदीमाथि पनि सुत्नुपरेको घटना। यस्ता अन्य घटना जुन पुस्तकमा लेखिएन, तर अविस्मरणीय बनेका छन् भने सुनौं न त?
सबै भोगाइ पुस्तकमा लेख्न सकिंदैन। कति त मैले साङ्केतिक रूपमा पनि लेखेको छु। जस्तो- खच्चड खेदाउनेहरूका प्रेमका कुरा। उनीहरूको परिवारले खान नपाएका कुरा, पहिलो पटक सिनेमा हेरेका कुरा छन्।
एउटा बिर्सनै नसकिने अनुभव छ। अत्यधिक चिसोका कारण पानी नै जम्दो रहेछ। चिसोले लुगामै पिसाब भयो र लुगामै जम्यो। त्यो वेला धेरै हँसीमजाक पनि चल्यो।
अन्त्यमा, देशलाई पूरै फन्को लगाइसक्नुभयो। विदेश पनि धेरै घुम्नुभयो। दर्जनभन्दा बढी त नियात्रा पुस्तक नै लेख्नुभयो। अब त यात्रा र नियात्रा लेखन पुग्यो भन्ने लागेको छैन?
मलाई त लागेको छैन। म ५३ वर्षमा टेकें, तर ३५ वर्षकै छु जस्तो लाग्छ। अझै पनि एउटा इच्छा छ, कञ्चनजंघाबाट शुरू भएर हिमालैहिमालको अपी निस्कने ट्रेलको यात्रा गर्ने। एउटा मन मिल्ने साथी भए त्यो यात्रा गर्छु। त्यो ‘ग्रेट हिमालय ट्रेल’ को यात्रा पूरा गरें भने मेरो यात्रा पूरा हुन सक्छ।
अब विदेश यात्रा गर्ने त रहर छैन। नेपालमा नै डुलेर, घुमेर, बुझेर रमाएर पुगेको छैन। संसारका सबै कुरा हावापानी, धर्म, संस्कृति, परम्परा, खानपान, जीवनशैली, भाषा र उत्कृष्ट साहित्य लेख्ने ठाउँ नै यही हो। हामीले पो लेख्न सकेका छैनौं, तर स्रोत यहाँ नै छ। त्यसैले अब हिमालय ट्रेलको यात्रा पूरा गरेपछि निरन्तर लामो हिंडिरहने यात्रा टुङ्ग्याउन सक्छु।
किताबका कुराका थप सामग्री: