नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा कसैको दबाबमा पर्दिनँ: प्रधानमन्त्री दाहाल
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा भइरहेको छानबिन कसैको दबाबमा नरोकिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले छानबिन प्रक्रिया अगाडि बढ्ने बताएका हुन्। यस विषयमा एमाले अध्यक्ष ओलीले चासो राखेको भए पनि कसैलाई जोगाउन नखोजेको दाहालको भनाइ थियो।
यो प्रकरणमा पूर्व मन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पूर्व मन्त्री रायमाझी फरार सूचीमा छन्। त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको घेरामा परेका छन्।
यो अनुसन्धान रोक्न दबाब आएको छ कि भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने, “अस्ति पनि उहाँको कन्सर्न थियो। तर, आफ्नो नेता बचाऊ भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन। म दबाबमा पर्दिनँ।”
अनुसन्धान प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। “अनुसन्धान प्रक्रिया रोकिंदैन,” प्रधानमन्त्री दाहालले भने, “प्रक्रिया, पद्धति र ऐन अनुसार सरकार दृढताका साथ अगाडि जान्छ। दोषी कोही नछुटून्, निर्दोष कोही नपरून् भन्ने मान्यताबाट गइन्छ।”
नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको छ। यसमा आठ जना पक्राउ परिसकेका छन् भने अन्य पनि संलग्न रहेको प्रहरीको भनाइ छ। यसमा पूर्व मन्त्रीहरूको नाम पनि मुछिएको छ।