फिल्म ‘जारी’ ले कमायो १५ करोड
लिम्बू संस्कृतिमा आधारित फिल्म जारीले १५ करोड रुपैयाँ कमाएको छ।
वैशाखमा प्रदर्शन भएका चार फिल्म अहिले पनि हलमा चलिरहेका छन्। जसमध्ये जारीले सबैभन्दा बढी कमाइ गरेको हो।
चलचित्र विकास बोर्डको बक्सअफिसका अनुसार जारीले २१ दिनमा १५ करोड कमाएको हो। वैशाख १ गते प्रदर्शनमा आएको यो फिल्मको वैशाख २१ गतेसम्मको कमाइ हो।
बोर्डका सदस्य रवि अधिकारीले जारीको व्यापार राम्रो रहेको बताए। उनले रासससँग भनेका छन्, “जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ।”
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। यो लिम्बू समुदायको संस्कृतिमा आधारित भएर निर्माण गरिएको फिल्म हो।
त्यस्तै, वैशाख १५ गतेदेखि प्रदर्शनरत प्रसाद-२ र नाइँ नभन्नु ल-६ फिल्मको शो संख्या घट्दा दर्शक पनि घटेका छन्। प्रदर्शनको एक साता पार गर्दा नाइँ नभन्नु ल-६ ले २५ लाख रुपैयाँ र प्रसाद-२ ले ७० लाख रुपैयाँको व्यापार गरेको बोर्डले जनाएको छ।
बोर्डका अनुसार वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ज्याकीः आई एम ट्वान्टी वानले दुई दिनमा २० लाख रुपैयाँको व्यापार गरेको छ। नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य फिल्मले भने खासै राम्रो व्यापार गर्न सकेनन्।