चितवनमा सात वर्षमा ३० बाघ मरे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गत सात वर्षमा ३० वटा बाघ मरेका छन्।
निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म ३० वटा बाघ मरेका हुन्। मृत भेटिएका बाघमध्ये १४ भाले र आठ पोथी रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ। मृत भेटिएका बाघमा बूढो भएर आठ, आपसमा जुधेर आठ, उपचारका क्रममा पाँच, बिरामी भएर एक, विष सेवनबाट तीन र पाँच वटा कारण खुलेको छैन।
यस्तै आव २०७२/७३ मा एक, २०७३/७४ मा चार, २०७४/७५ मा ६, २०७५/७६ मा आठ बाघ मृत भेटिएका थिए। आव २०७६/७७ मा तीन, २०७७/७८ मा दुई र २०७८/७९ मा ६ वटा बाघ मृत भेटिएको तथ्याङ्क छ। चालू आर्थिक वर्षमा भने बाघ मृत भेटिएको छैन।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको संख्या बढेको छ। संख्या वृद्धि भएसँगै आहाराको खोजीमा बाघ एकआपसमा जुध्ने गर्नाले मर्ने गरेको तिवारीको भनाइ छ।
निकुञ्जको तथ्याङ्क अनुसार चालू आवको चैत मसान्तसम्म ९६ वटा वन्यजन्तु मृतावस्थामा भेटिएका छन्। यस्तै ९६ वटा वन्यजन्तुको उद्धार गरिएको छ। (रासस)