माटाको ढिस्काले पुरिएर चार मजदूरको मृत्यु
इलाममा माटाको ढिस्काले पुरिएर चार जना मजदूरको मृत्यु भएको छ।
सूर्योदय नगरपालिका–१० फिक्कलमा माटाको ढिस्काले पुरिएर चार जनाको मृत्यु भएको हो। स्थानीय विनोद श्रेष्ठको घडेरी खन्ने क्रममा माटाको ढिस्काले चार जना मजदूर पुरिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।
चारै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए। फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घरका लागि जग खन्ने क्रममा माथिबाट एकाएक आएको माटाको ढिस्काले उनीहरूलाई पुरेको बस्नेतले बताए।
मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेरका युवा छन्। भारतको बिहार राज्यस्थित किसानगञ्जका तोसिव आलम, अजी मोदिन, मुजाफर आलम र अब्दुल आलमको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। प्रहरी टोली र स्थानीय बासिन्दाले उनीहरूको शव निकालेका हुन्।