कोभिड-१९ को आपत्कालीन स्थिति सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा
विश्व स्वास्थ्य संगठनले कोभिड-१९ महामारी अब उप्रान्त विश्वव्यापी आपत्काल नरहेको घोषणा गरेको छ।
महामारीलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरिएको तीन वर्षपछि संगठनले शुक्रबार औपचारिक रूपमा महामारी अन्त्यतर्फ जान लागेको सङ्केत सहितको घोषणा गरेको हो। कोभिड-१९ को प्रकोप चीन सहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले २०७६ माघमा विश्वव्यापी रूपमा आपत्काल घोषणा गरेको थियो।
महामारी उचाइमा पुगेका वेला सन् २०२१ को जनवरीमा एक सातामा विश्वव्यापी रूपमा एक लाखले ज्यान गुमाएकोमा अहिले यो मृत्यकको संख्या घटेर प्रतिसाता तीन हजार ५०० मा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोमले महामारीबाट कम्तीमा दुई करोड मानिसको ज्यान गएको बताएका छन्।
कोभिड-१९ महामारीले संसारभरिको अर्थतन्त्र र जनस्वास्थ्यमा ठूलो सङ्कट पैदा गरेको थियो। यो महामारीपछि सुस्त भएको आर्थिक क्रियाकलापका कारण कैयौं देशका अर्थतन्त्र धराशयउन्मुख बनेका थिए।
नेपालमा पनि महामारीपछि लगाइएको बन्दाबन्दीका कारण ठूलो आर्थिक क्षति भएको थियो भने त्यसको प्रभाव अहिले पनि कायम छ। नेपालमा महामारीबाट १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन्।
संगठनले कोभिड-१९ लाई आपत्कालीन सूचीबाट हटाएपछि अब संसारभरिको आवागमन र आर्थिक क्रियाकलाप थप सहज हुने अपेक्षा गरिएको छ।