सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बसुन्धरास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको सभापति रवि लामिछानेले बताए। “केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै प्रतिपक्षमा बस्ने सर्वसम्मत निर्णय गरेको छ,” सभापति लामिछानेले भने।
केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशभित्र र बाहिरका समर्थकको भावना अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए।
गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपा सहभागी भएको थियो। गत पुस १० गते सरकारमा सहभागी भएको रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो। तर, सरकारलाई दिएको समर्थन भने यथावत् राखेको थियो।
त्यति वेला रास्वपाले उपप्रधानमन्त्री सहित गृह, शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालेको थियो। यससँगै स्वास्थ्य राज्यमन्त्री पनि पाएको थियो।