भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष
स्वास्थ्यसंस्थामा पुगेर सुरक्षित सुत्केरी गराउने कार्यलाई प्रोत्साहन गर्न पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ ।
कार्यक्रम अनुसार गाउँपालिका अध्यक्ष सहितको टोली भाले, घ्यू र अण्डा बोकेर स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुको घरमा पुग्छ । स्वास्थ्य जाँच गर्छ र आवस्यक सर सहयोग र सल्लाह दिएर फर्कन्छ ।
“हरेक महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ”, अध्यक्ष पौडेलले भने, “अब घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस् भनेर प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।”
३ असारमा महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारकहाँ भाले, घ्यू र अण्डा कोशेली लगेर कार्यक्रमको उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजु पौडेल उपाध्यक्ष हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घ्यू र अन्डा वितरण गरिएको थियो ।
साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरिएको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।
महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् ।
आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभाबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयन शुरु गरेकोमा जनता खुसी भएका छन् ।