जनजीवनमा किन चर्चित छ वरपीपल?
वरपीपलको वैज्ञानिकताबारे बुझ्न र बुझाउन नसक्दा यसको गाथा–गरिमा मिथकभन्दा पर पुग्न सकेको छैन।
नेपाली लोकजीवनको शास्त्र र मौखिक परम्परा दुवैमा वरपीपलको गाथा-गरिमा बग्रेल्ती भेटिन्छन्। धार्मिक अनुष्ठान र शुभ कार्यमा वरपीपलका पात अनिवार्य मानिन्छन्। वरपीपलका धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा चिकित्सकीय आयाम पनि छन्।
आखिर हामीकहाँ वरपीपल किन यतिविघ्न चर्चित छ?
इतिहास र संस्कृतिका ज्ञाता डा. गौतमवज्र वज्राचार्य हिन्दू र बौद्ध धर्मका अनुयायीले पीपल वृक्षलाई देवताको रूपमा पूजा गर्ने बताउँछन्। वैदिक समयभन्दा प्राचीन मानिएको सिन्धु सभ्यताको कलाकृतिमा पीपलको चित्र जताततै भेटिएको पनि वज्राचार्यले चर्चा गरेका छन् (अन्नपूर्ण पोस्ट्, २०७८ असार२६)।
गौतम बुद्धले बोधगयामा पीपलको फेदमा बसेर तपस्या गरी बोधिसत्व प्राप्त गरेकाले यसलाई बोधिवृक्ष भनिएको पनि सर्वविदितै छ। पीपललाई वृक्षराज अर्थात् वृक्षहरूको राजा पनि भनिन्छ। देवात्मा, अश्वत्थ आदि नामले पनि पीपल परिचित छ।
हिन्दू धर्मका शास्त्रहरू अथर्ववेद, छान्दोग्य उपनिषद्, स्कन्दपुराण, वामनपुराण, रामायण, महाभारत, भागवद्गीतामा वरपीपलको मुक्तकण्ठले महिमा गाइएको छ। ती ग्रन्थका अनेकौं ऋचा तथा श्लोकहरूमा पीपललाई पवित्र वनस्पति मानेर विशद चर्चा गरिएको पाइन्छ।
प्रेम खत्री र पेशल दाहालकृत पुस्तक आधुनिक नेपालको सामाजिक इतिहास (२०५३)मा हिन्दू समाजमा तुलसी र पीपलको बोटलाई विष्णुका रूप मानेर पूजाअर्चना गर्नुका साथै बाटो-चौबाटोमा पीपलको रूख रोप्ने तथा पानी चढाउने चलन रहेको चर्चा छ (खत्री र दाहाल, २०५३, पृ. १२५)।
पीपलको बोटमा रुद्र, विष्णु, ब्रह्मा, इन्द्र लगायत देवताको वास हुन्छ भन्ने मान्यता छ। ब्रह्माको वचनशास्त्रमा पीपलको वृक्षमुनि गरिएको जप, तप, यज्ञ, साधना तथा अनुष्ठानले अक्षय फल प्राप्त हुने बताइन्छ। श्रीकृष्णले ‘पीपलमा वास गर्छु’ भनेका थिए भन्ने लोकोक्ति छ। हिन्दू महिलाले पतिको दीर्घायुका लागि पीपलको पूजा गर्ने चलन छ।
पीपलको अभिन्न जोडी मानिने वरको पनि महत्त्व कम छैन। वर पनि अधिक पुजिन्छ। द टाइम्स अफ इन्डिया (१५ जुन २०११) मा प्रकाशित लेखमा हिन्दू तथा बौद्ध धर्ममा वरको उच्चतम महत्त्व रहेको चर्चा गरिएको छ। लेखमा हिन्दू मिथकलाई कोट्याउँदै वरलाई कल्पवृक्ष भनिएको छ। कल्पवृक्षको आराधनाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
रामायण, हरिवंश पुराण, अग्निपुराण, आयुर्वेद, मनुस्मृति लगायत ग्रन्थमा पनि वरको प्रसङ्ग आउँछ। यसलाई त्रिदेव वा त्रिमूर्तिको प्रतीक समेत मान्ने गरिएको पाइन्छ। शास्त्रीय मान्यता अनुसार वरको बोक्रामा विष्णु, जरामा ब्रह्मा र हाँगामा शिव रहन्छन्।
औषधीय गुण
औषधि विज्ञानमा वरका जरा, पात, बोक्रा, फल तथा चोप उपयोगी मानिन्छन्। खप्तड बाबाको कृति स्वास्थ्य विज्ञानमा वरलाई वीर्य सम्बन्धी रोगनिवारक वनस्पतिका रूपमा चित्रण गरिएको छ (बाबा, २०५२, पृ.४३)। आयुर्वेदमा वरलाई रक्तशुद्धिकारक, पीडानाशक, पाचन शक्तिवर्द्धक, ज्वरोनाशक, मधुमेह निवारक तथा प्रतिरोधात्मक क्षमतावर्द्धक वनस्पति मानिन्छ।
यसैगरी, जोर्नीको दुखाइ, छाला सम्बन्धी रोग, पिसाब सम्बन्धी गडबडी लगायत समस्या निवारणका लागि वर उपयोगी भएको स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक तथा वेबसाइटहरूमा उल्लेख छ। द टाइम्स अफ इन्डियाको एक लेखमा वरको बोक्रा तथा पातको मुना सही विधि र मात्रामा सेवन गर्दा रक्तस्राव निको हुने बताइएको छ। वरको लहराले दाँत माझ्दा दाँत सम्बन्धी समस्या समाधान हुने चर्चा गरिएको छ।
आयुर्वेदमा पीपल समेत जीवाणुका कारण लाग्ने रोग, पखाला, अल्सर, मधुमेह आदिका लागि लाभदायक हुन्छ भन्ने भनाइ छ। भिरिङ्गी लगायत यौनरोग तथा लुतो लगायत छाला रोगका लागि पनि पीपल लाभदायक हुने आयुर्वेद सम्बन्धी पुस्तकहरूमा वर्णित छ।
वरपीपलबीच दाम्पत्य
हाम्रो लोकजीवनमा भ्यागुताको बिहे गराइन्छ। वनस्पतिको पनि बिहे हुन्छ। यसको ज्वलन्त दृष्टान्त वर र पीपलबीच हुने विवाहलाई लिन सकिन्छ।
हाम्रो लोकजीवनले वरलाई बेहुला र पीपललाई बेहुली मान्छ। यही आधारमा बेहुलालाई वर अनि बेहुलीलाई वधू र उनीहरूले लगाउने मालालाई ‘वरमाला’ भनिन्छ।
चौतारा बनाएपछि त्यहाँ वरपीपल रोपिन्छ। तत्पश्चात् धार्मिक अनुष्ठानका साथ वरपीपलको विवाह (प्राणप्रतिष्ठा) गरिन्छ। यही भएर होला, गाउँबस्तीमा वरपीपल चौतारी बग्रेल्ती भेटिन्छन्। वरपीपलको विवाहमा पुरोहितले मन्त्रोच्चारण गर्छन्। यसले हाम्रो आध्यात्मिक जग बलियो बनाउन सघाएको छ।
वरपीपलबीच विवाह गर्दा पञ्चेबाजा घन्काइन्छ, जसले स्थानीय परिवेशलाई उत्सवमय बनाउँछ। यही परिवेशमा सानोतिनो भोजभतेर पनि गरिन्छ। यसबाट गाउँवासीबीचको युगौं पुरानो सहजीवनको संस्कृति अझ मजबूत बन्छ, जसले सामूहिकतामा रमाउने गुनी मनहरूलाई अझ गुनिलो बनाउन सहयोग गर्छ।
थकित बटुवालाई शीतल आश्रय तथा चराचुरुङ्गीलाई वासस्थान दिने वरपीपल चौतारी लगाउने चलन हाम्रो लोकसंस्कृतिको अभिन्न अङ्ग नै हो। वरपीपलको चौतारी बनाउँदा वरत्र र परत्र दुवै सुध्रिन्छ भन्ने मान्यता छ।
त्यस्तै, स्थाननामको नाता इतिहास, संस्कृति र भूगोलसँग रहन्छ। नेपाली गाउँबस्तीमा भेटिने ढल्केबर, आँपपीपल, एक्ले वर, लहरेपीपल, वरभञ्ज्याङ, पीपलडाँडा, बरथुम्की, पीपलटार, पीपल चौतारा, पीपलथोक, वरबोट आदि वरपीपलसँग जोडिएका स्थाननामले हाम्रो इतिहास, संस्कृति र भूगोलसँग जोडिएका कथा-कुथुङ्ग्रीलाई उजागर गर्छन्। हाम्रो भावनात्मक साइनो जोडिएका यस्ता स्थाननाम शोधकर्ताका लागि अध्ययनको मसला बन्न सक्छन्, जसबारे अनन्त तथा विशद शोधपत्र लेखिन सक्छ।
लोकभाकामा वरपीपल
सम्भवतः नेपाली लोकभाकामा सबैभन्दा बढी स्थान पाएको वनस्पति वरपीपल नै हो। लोकभाकामा वरपीपलको प्रसङ्गले लोकसुसेलीमा ज्यान मात्र भर्दैन, लोकजीवनका रैथाने अनुभूतिहरूमा मिठास र ताजापन थपिदिन्छ। यो नै हाम्रो लोकभाकाको तागत पनि हो।
मनको बेचैनी र औडाहा झल्काउन लोकभाकामा ‘चौतारीमा वर हैन पीपलु, कहाँ गएर होला मन शीतलु’ जस्ता अभिव्यक्ति भेटिन्छ। आफ्ना भनिएकाहरूबाट अपेक्षित आड-भरोसा नपाउँदा अनि स्नेही हातको स्पर्श नपाउँदा ‘चौतारीमा वरपीपल फेरो छ, दुःख पर्दा कोई छैन मेरो त’ भनेर मन व्यथित हुन्छ। हृदयमा घर गरिसकेका प्रियपात्र समक्ष सामीप्यभावको याचना सहित मनको दैलो उघार्न ‘अलि यता सर न रेशम, चौतारीको वरपीपल भई बसम्’ भनिएको छ। बैंसालु जोवन र जीवनको क्षणभङ्गुरताबारे लोकभाका मुखर छ- ‘वरको डाली भुइँ छोयो लर्केर, गयो जोवन आउँदैन फर्केर’।
मायाप्रेममा सम्बन्धको वासलात असन्तुलित हुँदा आरोप-प्रत्यारोपमा पनि उत्रन्छन्। एउटा दृष्टान्त- ‘उकालीमा वरको छायाँले, चम्धारै रुवायो यो जीवनमा पापी मायाले’। कसैको जादूमय मोहनी रूपले निम्त्याएको बेचैनीबारे पनि लोकभाका मौन छैन- ‘मधेशै ज्यानको लहरे पीपल भुइँ छोयो टुप्पैले, न रुन दियो न हाँस्न दियो त्यो तिम्रो रूपैले।’
यसरी कतै विम्बका रूपमा त कतै अन्त्यानुप्रासका रूपमा वरपीपलले लोकभाकालाई रसिलो र भरिलो बनाएका छन्। वरपीपलबाट लोकगीतका सूक्तिमय थेगो, फुँदा तथा फाँकी पनि बनेका छन्। जस्तो- ‘पीपलुको छाया, निष्ठुरी माया’, ‘चौतारीको वर, पीपलुलाई भर’, ‘वरको छाया, घरको के माया’ आदि। लोकभाकामा आएका वरपीपलका यस्ता अनगिन्ती प्रसङ्गले हाम्रो श्रुतिपरम्परामय सांस्कृतिक इतिहासलाई जीवितै राखेका छन्।
मिथकभन्दा पर
हिन्दू समाजमा देववृक्ष मानिने वरपीपलको महिमा युगौंदेखि धार्मिक र आध्यात्मिक क्षेत्रमा बहुश्रुत छ। आयुर्वेद लगायत प्राचीन औषधि विज्ञानमा पनि वरपीपलको व्यापक चर्चा छ। यति हुँदाहुँदै पनि शास्त्रहरूमा उल्लिखित वरपीपलको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक विधिविधानलाई कर्मकाण्डी रूपमा मात्र अपनाइएको र यसको वैज्ञानिकतालाई खोजीनिती गर्ने काम नभएको टीकाटिप्पणी पनि सुनिन्छ।
वरपीपलको पूजाअर्चना गर्ने युगौंदेखिको अभ्यासलाई कतिपयले अन्धविश्वासको द्योतकका रूपमा चित्रण गरेको पनि पाइन्छ। वरपीपलको वैज्ञानिकताबारे बुझ्न र बुझाउन नसक्दा यसको गाथा-गरिमा मिथकभन्दा पर पुग्न नसकेको प्रतीत हुन्छ।
अब वरपीपलसँग जोडिएका विषयबारे विज्ञानसम्मत किसिमले बहुआयामिक अध्ययन अपेक्षित छ। अध्ययनको नतीजाले आधुनिक जनमनमा सलबलाएका जिज्ञासा, शङ्का वा भ्रम बिस्तारै मेट्न सहयोग गर्छ।