समावेशिताको ‘कलब्रेक’: ‘मिडिया आत्मसमीक्षा’
अब को मानिस कुन विषयमा बोलिरहेको छ र विचार निर्माण गरिरहेको छ? यो हेर्ने समय आयो। समावेशिताको कुरा गर्दा, जाति, लिङ्ग, वर्ग, भूगोलमा मात्र होइन, अब सीधै विषय र मुद्दाको छनोटको कुरा गरौं।
सात वर्षअघि दिल्लीको इन्टरन्याशनल सेन्टरमा थिएँ म। दक्षिणएशियाभरिका स्वतन्त्र पत्रकारहरूको भेला थियो। आफ्नै बलबुतामा लेख/रिपोर्ट तयार गरी मिडिया हाउसहरूमा पठाउने पत्रकारहरू निर्धक्क आफ्ना कुरा भन्दै थिए।
बिहान, दिउँसो र बेलुका गरी एकै दिनमा, देशका तीन ठूला मिडियामा लेख/रिपोर्ट पठाएको अनुभव मसँग पनि थियो। महीनौं लगाएर तयार गरिने खोजी रिपोर्ट र ‘लङ फर्म आर्टिकल’ को आफ्नै कथा हुन्छ। यस्तै कथा त्यो भेलामा धेरैले सुनाएका थिए।
एक्लै बसेर लेख्नु र ठूला मिडिया हाउसहरूसँग समानान्तर उभिन सक्नु साहसी काम रहेछ। त्यही ‘कन्फ्रेन्स’मा थाहा पाएँ। मलाई लाग्यो, स्वतन्त्र पत्रकार लेखकको विषय र उपस्थिति त अन्तर्राष्ट्रिय स्तरको मिडिया मेला बन्न सक्ने विषय रहेछ। नेपालमा त यसको चर्चासम्म भएको छैन।
आजसम्म आइपुग्दा लगभग मूलधारका सबै सम्पादकलाई टेबलमा लेख हाजिर गराएको अनुभव छ। आफ्नो टेबलमा स्वतन्त्र लेखकको लेख/रिपोर्ट कसरी उभिन्छ? कुनै सम्पादकले सहअनुभूति सहित चासोसम्म देखाएको थाहा छैन। नेपालका स्वतन्त्र लेखकहरूका सामग्री मिडिया हाउसका लागि माछा हुन्। ‘माछा मीठो, काँडा तीतो’ कस्तो रमाइलो! स्वतन्त्र लेखक–पत्रकारप्रतिको चासो र चिन्ता परको कुरा भयो। सामग्री पाएपछि जवाफमा ‘धन्यवाद’ लाई धेरै मान्दिनुपर्ने छ। मिडिया हाउसहरूले आत्मसमीक्षाको शुरूआत न्यूनतम व्यावसायिक व्यवहारको चर्चाबाट गरून्।
राजधानीमा हालै मिडिया मेला भयो। मेलामा धेरै लेखक पत्रकार भेला हुनुभयो। एउटै मिडिया हाउस नछोडी कोरम मिलाइएको भेलामा राजधानीका घाघडान मिडिया विद्वान्हरू छुट्ने कुरै भएन। हिमालमिडियाले गरेको आत्मसमीक्षा सहितको मिडिया मेला थियो। आफ्ना कुरा सुनाएपछि हिंड्ने नेताज्यूहरू जस्तो धेरै पत्रकारहरू पहिलो दिन टाप कसे। आफ्नो विज्ञता देखाउने सेसनमा मात्र टक्क आइपुग्ने। बाँकीको सुन्ने वेला फुत्त चल्दिने।
एउटा मिडिया हाउसमा बसेर एकदुई वर्ष कुनै विषयमा लेखेपछि पत्रकारले विज्ञ हुन पाइहाल्छ। कोरम मिलाउँदा फोरम पाइहालिने भएपछि सुन्नु किन पर्यो? मिडिया हाउसका धेरैजसो आफन्त–नातेदार हिंडे पनि केही मानिस दिनभर बसेर समीक्षा सुनिदिए। देशका अखबारका पाना भरिदिने, स्वतन्त्र लेखक, पत्रकार, समाजशास्त्री र अध्येताहरूको उपस्थिति भने थियो।
आत्मसमीक्षामा स्वतन्त्र लेखक र पत्रकारको अस्तित्व र विचारको दुर्गति नै थियो। यही कारण दिल्लीको ‘कन्फ्रेन्स’ मनमा आयो। ‘आत्मसमीक्षा नभनौं, समीक्षा भन्दा पुग्छ’ भन्ने चर्चा पनि सुनियो। आत्म शब्द राख्दा त धानिएको देखिएन, त्यही हटायो भने के होला? कन्तबिजोग! मिडियालाई थोरै दूरीबाट नियाल्ने लेखक–विश्लेषकको विचार झन्डै प्रवेश निषेध जस्तै देखिन्थ्यो। मिडिया नातेदारहरूले एअरटाइट माहोल बनाएर गरिएको आत्मपरक छलफलले मिडियाको ‘निर्मम समीक्षा’ धान्ला?
मौसम र माहोल स्वतन्त्रहरूकै छ। स्वतन्त्र लेखकका तर्फबाट प्रश्न राखुँली भनेको प्रश्न राख्ने समय मिलेन। जीवनमा कुनै सार्वजनिक कार्यक्रममा उठेर प्रश्न गरेकी थिइनँ। रेकर्ड ब्रेक हुन पाएन।
मिडिया हाउसको जीवनचक्र आफ्नै कर्मचारीहरूको योगदानबाट मात्र चलेको हुँदैन। स्वतन्त्र लेखक–पत्रकार र विश्लेषकहरूको योगदानले पनि उसको हैसियत उकासिएको हुन्छ। आफूलाई योगदान गर्ने मानिसहरूको अस्तित्व नेपाली मिडिया हाउसहरूले स्वीकार गरेको पाइन्न। यो मेलामा पनि पाइएन।
सन्दर्भ मिडिया मेलाको भए पनि यो हेपाहा चरित्र आमरूपमा सबैको हो। ‘आज कोही मानिस म स्वतन्त्र रूपमा लेख्न चाहन्छु। यसो गर्दा अझै विषयवस्तुप्रति तुलनात्मक रूपमा निष्पक्ष हुन सक्छु। सुझाव दिनुस्।’ यसो भनेर कसैले हामीलाई सोधे के भन्ने?
आफूभन्दा पछिल्लो पुस्तालाई हामीले दिनुपर्ने जवाफ मञ्चमा उपस्थित प्रकाशक र सम्पादकबाट लिन मन थियो। मौका जुरेन। यतै राखियो। दिल्लीको ‘कन्फ्रेन्स’ मा जुन अपनत्वबोध भएको थियो, आफ्नै ठाउँमा भएको मिडिया मेलामा गर्न सकिएन।
नेपालमा महिला पत्रकारहरूको अधिकार भन्दै दशकौं हिंड्नुभएका ‘दिदी’हरूको आफ्नै दुःख सकिएको छैन। दिनहुँ जस्तै हुने कार्यक्रममा विचार दिंदा फुर्सत पनि नहोला। उहाँहरूलाई देख्दा भीरपाखा चहार्दाका धेरै कुरा सम्झन्छु। आफ्ना कष्टका गाथा नियात्रामा पनि लेख्न मन लाग्दैन। अहिले बेलिविस्तार लाउने त कुरै भएन।
अधिकारको कुरा गर्दा मनमा एउटा कुरा चाहिं आइबस्छ, वनबासा नाकाको। रातको दुई बजे अनिंदा आँखा लिएर नेपाली कामदारहरूसँग बिताएको क्षण। ठाउँ ठाउँमा उभिएर भारतीय प्रहरीसँग बाझ्दै ‘डायलग’ मारेको पलहरू। भारतीय प्रहरीबाट लुटिन लागेका ३० जना नेपालीलाई एक सुका लुटिन नदिई सँगै नेपाल भित्रिएको दिन खल्तीमा कुनै मिडिया हाउसको कार्ड थिएन। पासपोर्ट र नागरिकता थियो साथमा।
नागरिकताको बलमा पत्रकार भएर देशका लागि उभिन पाएको क्षण जीवनकै सन्तोषकाे क्षण हो। तराई–पहाड घुमिहिंड्दाका धेरै कुरा छन्। अरू धेरै स्वतन्त्र लेखकका कुरा पनि होलान्। केहीले त यही कार्यक्रममा मन खोल्नुभयो, खुसुक्क। मिडिया हाउसमा नबसी लेख्नेहरूको घर सिङ्गो समाज हो।
स्वतन्त्र लेखक–पत्रकारहरूलाई साहसका साथ उभ्याउने पनि यही समाज हो। मिडियाको ‘नजरअन्दाजीफिकेसन’ लाई माथ गर्दिने नेपाली समाज जिन्दावाद! नयाँ पुस्ताका स्वतन्त्र लेखकहरू मलिन हुनु पर्दैन। आफ्नो कामले आफ्नै साम्राज्य निर्माण हुँदै जान्छ। स्वतन्त्रताको गाण्डीव धनु हाम्रो हातमा छ। समाजलाई ‘मास हिस्टेरिक’ भन्दै आत्मरतिमा रमाउनेहरूको सामुन्ने हट्ने होइन, डटिलड्ने हो।
समावेशिताको ‘कलब्रेक’
नेपालमा धेरै वर्षदेखि चलेको थेगो हो ‘समावेशिताको सवाल’। थेगो हुँदै अब यसले उखान–टुक्का बन्ने दाउ हेरिरहेको छ। यो थेगोको उखानटुक्कामा प्रमोशन हुने पक्का छ।
दिनहुँजसो हुने विचार–विमर्शका पुराणमा पुरेत उनै छन्। समावेशी शब्दको गणेश वन्दना गरेर आफ्नो प्रवचन शुरू गर्छन् र भन्छन् ‘विचारको नयाँ पुस्ता तयार भएन। महिला, दलित, मधेशी, तेस्रो लिङ्गी लगायत मानिसहरूको विचार आएन।’ विचारका सबै आसनमा तपाईं विराजमान, विचार चाहिने सबैको?
अझ रमाइलो कुरा फूलपाती समातेर सुन्न बसेका श्रोतातिर फर्केर भन्छन्, ‘लौन महिलाले प्रश्न गरिदिनुस्।’ तपाईंको सदाबहार विचारकको हैसियत बढाउन हामीले सधैं प्रश्न मात्र गरिरहनुपर्ने? बहाना यही हिमाल मिडिया मेलाको हो। सन्दर्भ भने पूरै देशका सबै मिडिया र अन्य सबै क्षेत्रको भनेर बुझिदिनुहोला।
एकछिन म तपाईंलाई बाजुराको बडिमालिका लान्छु। साउन महीनाको झमझम पानी। बडिमालिका जाने हजारौंको लावालस्कर। हाम्रो टीम पनि त्यही लस्करमा मिसियो। प्लास्टिक ओढेर तीन दिन हिंडेर बडिमालिका पुग्यौं। पाल टाँग्यौं। अब के गर्ने?
गोजीमा तास बोकेका साथीले भने– ‘कलब्रेक’ खेल्ने। म परें जुटपत्तीभन्दा माथि नउक्लेको। साथीहरूलाई कोरम मिलाउनु थियो। मलाई सिकाए। मैले सिकें। खाल जम्यो।
वैचारिक बहसहरूमा समावेशिताको नाममा मिलाइएको कोरम हेर्दा म त्यही खाल सम्झन्छु। ‘एउटा एउटा महिला नमिसाए त बसिखान दिन्नन्। भरे ट्वीटर हेरिनसक्नु हुन्छ।’ यही डरको कारण पनि कम्तीमा एक महिलाको अनुहार अचेल देख्न पाइन्छ। भलै दशकौं उही अनुहार किन नहोस्।
कोरम मिलाउनै भए पनि केही नयाँ अनुहारहरूको प्रवेशलाई सुखद नै भन्दिनुपर्ला। तर, भन्दैनौं। अब को मानिस कुन विषयमा बोलिरहेको छ र विचार निर्माण गरिरहेको छ? यो हेर्ने समय आयो। समावेशिताको कुरा गर्दा, जाति, लिङ्ग, वर्ग, भूगोलमा मात्र होइन, अब सीधै विषय र मुद्दाको छनोटको कुरा गरौं।
मिडियामा विचार लिनुपर्दा होस् या स्टेजमा, समावेशिताकै नाममा पनि उही अनुहार छन्। सधैं आफ्नो वर्चस्व जमाए भनेर बदनाम भएका पहाडे बाहुनको प्रतिस्पर्धामा, महिला, मधेशी समुदाय या दलित समुदाय सबै सँगै छन्।
मधेश भन्यो उभिने उही एक्का–दुक्का हुन्। दलितबाट उही अनुहार। मुस्लिम महिलाको आवाज भन्ने एक महिला। तीन दशकको इतिहास बनाएका बाहुन–क्षेत्री महिलाले त छोड्ने कुरै भएन। वर्चस्व जमाएका पहाडे बाहुन–क्षेत्री पुरुष र महिला नयाँ आवाज प्रवेश गराउन जति बाधक हुन्, अरू समुदायका ठालु पनि त्यत्तिकै बाधक हुन्।
यी सबै एउटै खालका ‘कलब्रेक’ खेलाडी हुन्। कोरम नपुग्दा मात्र जुटपत्तीवालाले प्रवेश पाउने हो। विचारको आसनमा बस्नेहरूको संख्या हेरेर भन्न सकिन्छ– चार जनामा तीन पुरुष, एक महिला हुनुपर्ने। तीन महिला एक पुरुष हुनै नहुने? गालीबाट बच्नकै लागि मिलाइने कोरमलाई कहिलेसम्म समावेशी मान्दिनुपर्ने हो?
अब कुरा गरौं विचारका फोरमहरू र मिडियामा आउने विषय छनोटको। मिडिया मेलामा छलफलको एक शीर्षक थियो ‘नेपालको भूराजनीतिक अवस्था।’ कथित ठूला विषयमा ‘ऐरे गैरे’ ले बोल्ने कुरै भएन। प्यानलिस्ट थिए वरिष्ठ पत्रकार कनकमणि दीक्षित र सुधीर शर्मा।
अब यति घाघडान विषयमा प्रस्तोता महिला हुने? त्यो त हुनै सक्दैन। प्रस्तोता पनि त भूराजनीतिकको वजन बोक्न सक्ने पुरुष चाहियो।
किन सधैं उच्च कोटिका भनिने विषयहरूमा तपाईंहरू मात्रै? हामी प्रश्न गरौंला। तपाईंहरू उल्टै प्रश्न गर्नुहोला, ‘खोइ त अर्को पुस्ता तयार भएको। खोइ त महिलाले यस्ता विषयमा चाख दिएको। विषयवस्तु हाँक्न सक्ने महिला खोइ?’
यो प्रश्न तपाईंहरूतिरै फर्काइदिन्छु, ‘खोइ त तपाईंहरूले पुस्ता तयार गरेको? पुस्तान्तरणभित्र पनि खोइ त समावेशिताको झल्को दिएको? सधैं आफू ‘गह्रुँगा’ विषयहरूको भारी कति बोक्नुहुन्छ? समावेशी नयाँ अनुहार तयार नपारेकोमा आत्मसमीक्षा कहिले गर्नुहुन्छ?
अब आउँछ अर्को भारीभरकम विषय ‘देशको वर्तमान राजनीति र यसको भावी दिशा’ टाइपको। यी विषयमा उभिने अनुहार को को हुन्, हामीलाई कण्ठै छ। भन्ने कुरा के के हो, त्यो पनि कण्ठ छ। प्रधानसम्पादक र सो सरहका भन्दा कम उचाइ र प्रोफाइलले त तपाईंहरूको वजन बोक्दैनन् पक्कै। राजनीतिको मार्कशीटमा गुल्टेका पूर्व बीबीसीकर्मीको पनि अन्तर्वार्ता लिएर मिडियाकर्मी थाकेको देखिन्न।
विषय साना र ठूला हुँदैनन्। मिडियाले बनाइदिएका कृत्रिम मानकहरू मात्र हुन्। आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा आर्टिफिसियल मानकहरूमा नेपाली मिडिया अब कति वर्ष अल्झेला, हेर्दै जाऔं।
स्वतन्त्र लेखकहरूको दिल्लीकै कन्फ्रेरेन्समा विषय छनोटको सन्दर्भ जोडतोडले उठेको थियो। नेपाली मनोविज्ञानसग जोडेर हेरौं। दशक पहिला खोज पत्रकारिता केन्द्रको तालीममा सहभागी हुँदा विषय छनोटको वेला आयो। मैले ‘मधेश आन्दोलनका राजनीतिक, सामाजिक, आर्थिक असर’ विषय रोजें।
तालीमदातामध्ये एकले ‘छोटे मुँह बडी बात’ वाला नजरले हेर्नुभयो अनि आफ्नै वडाको कुनै सानोतिनो विषय रोज्न दबाबपूर्ण सल्लाह दिनुभयो। पछि नहटेपछि ‘मेन्टल ह्यारसमेन्ट’ गर्न थाल्नुभयो। अति भएपछि जुरुक्कै उठेर प्रतिवाद गरें।
तालीमदाताले जथाभावी बोल्दा पनि मुसा जस्तो सुनिरहने सहभागीहरूका आँखा ‘पज’ भए। यो विषयमा खोजी रिपोर्ट मात्र होइन, एमएको थेसिस नै तयार हुन पायो। दुर्व्यवहार भन्नु यौनिक मात्र हुँदैन। यो व्यावसायिक पनि हुन्छ। विषय छनोटदेखि शुरू हुन्छ। मेलामै कुरा उठेको थियो, महिला भएकै कारण पत्रकार महिलाले दुई दशकसम्म महिलाका मात्र मुद्दा उठाइरहनुपरेको छ।
सन् २०१६ मा गोर्खाल्यान्ड आन्दोलनबारे रिपोर्टिङ गर्न काँकडभित्ताको बाटो हुँदै दार्जीलिङ पुगें। दार्जीलिङ र सिक्किमका राजनीतिक नेता, व्यापारी र सर्वसाधारण कसैले ‘जेन्डर’ सोधेनन्। मधेशमा पनि जेन्डर हेरिएन। प्रश्न हेरियो। मानिसहरूले मिडिया कार्ड पनि हेरेनन्। मुद्दाहरू र विषयको लिङ्ग हुँदैन। भूराजनीतिक विषय हुन्, पर्यावरणको विषय होस् या अरू केही, दलित महिला, लैङ्गिक अल्पसंख्यक वा अरू कुनै पनि समुदायको मानिसले पकड राख्न सक्छ। उसको विचार समावेश गरिनु आवश्यक हुन्छ।
अनुभूतिको आधारमा दृष्टान्त दिंदा सजिलो हुन्छ। आफ्नो अनुभूतिको प्रयोग यसै कारण मात्र गरेकी हुँ। यस्तो अनुभव, मिडिया हाउसभित्र र बाहिर धेरैको होला। समावेशिताको लामो बहसमा विषय छनोटको बहस गर्न ढिलो भइसक्यो। छिटपुट सुखद शुरूआत देखिन्छ। तर, पुग्दो छैन।
विषय छनोट गरेर मेहनत सहितको कामले मात्र विचार निर्माण प्रक्रिया थेग्दैन। सार्वजनिक रूपमा आयोजना हुने कार्यक्रमहरू कुनै क्लबका रमाइला भेटघाट होइनन्। समग्र देशको विचार निर्माणको प्रकिया बोक्ने बहसहरू हुन्।
‘नेपाल जस्तो देशले संसारसामु कसरी उभिने’ भन्ने जस्ता विषयमा महिला लेखक–पत्रकारको विचार आउनैपर्छ। विचारको आधिपत्य केही सीमित मानिसहरूको होइन। संसारभरिका इतिहास निर्माण प्रकियामा महिला र धेरै समुदाय छुटेका छन्।
नजिकैको छिमेकी हेरौं, ‘भारत छोडो’ देखि ‘चिप्को आन्दोलन’ आन्दोलनसम्म सबैतिर महिला लगायत सीमान्तीकृत समुदायको उपस्थिति छ। तर, विचार निर्माणमा उनीहरूको स्थान र अस्तित्व न्यून छ।
धेरै पहिलाको होइन, अहिलेकै नेपालकै कुरा गरौं। आजकल पर्यावरण चक्र भन्ने विषयको बजारी चर्चा उकासिएको छ। यो बहसका नाममा मौसमी अभियन्ताहरू कहिले कालापत्थरतिर तमासा देखाउन गएका छन्। कति मौसमीहरू शहरका स्टेजभरि छाएका छन्। अनवरत कृषि कर्म गरेर पर्यावरणीय चक्रको जगेर्ना गर्ने कति मानिस बहसको केन्द्रमा छन्?
मिडियाले आफ्नै भाइभारदारले उमारेका दुई बोरा काउलीबारे पुराण लेख्छ। जीवन राई जस्ता लेखक/कृषकलाई पर्यावरण अभियन्ताका रूपमा कहिले उभ्याउँछ? यसैले कर्म मात्र गरेर पुग्दैन, विचार निर्माणकै प्रकियामा हस्तक्षेप गर्न ढिलो भइसक्यो।
समाजको विराट् फ्रेममा उभिएका मुद्दाहरूमा नजर पर्न अब कति दशक लाग्ने हो, थाहा छैन। प्रशिक्षकदेखि, रिपोर्टरसम्म वर्षौं एकै अनुहारहरूले ‘म्युजिकल चेयर’ खेलेर बसेको देखिन्छ। मान्छे फेरिएको पनि देखिन्न। तरीका कसरी फेरियोस्?
मिडियाको विश्वसनीयता धरमराएकै छ। यो धरमरको कारण अनेक छन्। पात्र छन् अनेक। समग्र मिडिया भने रुटिन अफ नेपाल बन्दसँग रिसाएर बसेको छ। हाम्रो बजार ‘रुटिने’ ले खायो भन्दै रुँदै छन्। रोएर बस्नुभन्दा आफूलाई नियाल्नु राम्रो होला। मिडियाबाट निर्माण गर्दै गरिरहेको वैचारिक मानचित्रमा समाजको कति र कस्तो चित्र उभिएको छ, हेर्दा जाति होला।
समावेशिता थेगो होइन। विचार निर्माणको प्रकियामा विचार राख्ने अधिकारी केही मानिस मात्र होइनन्। केही अनुहार मिसाएर भेराइटी दिंदैमा यसले पूर्ण चित्र पाउँदैन। विचारको पात्र छनोट, विषय छनोट, हरेक हिसाबमा विविधता चाहिन्छ। सञ्चारमाध्यमको बहस र ज्ञान निर्माण प्रकियामा दृष्टिदोष छ। एकले अर्कालाई हेरेर ‘आहा कति राम्रो’ भनेर भेला–मेलामा रमाइरहने कि निर्मम आत्मसमीक्षा गर्ने? यस्तो लेख्न त मन थिएन। लेखिहालियो, चित्त नदुखाउनुहोला।