संखुवासभामा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना (भिडिओ)
संखुवासभामा शुक्रबार सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना भएको छ।
शुक्रबार दिउँसो संखुवासभाको हटिया क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय, संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए। अरुण तेस्रो जलविद्युत् आयोजनाको सामान ढुवानीका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको जनाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार संखुवासभाको गोला भन्ने गाउँका बासिन्दाले धुवाँ उडिरहेको देखेको बताएका छन्। “धुवाँ त्यहींबाट आइरहेको छ। त्यो सितलुङ गोलातिर भनिएको छ। हामी थप प्रस्ट हुँदै छौं,” उनले भने।
भोटखोला गाउँपालिका-४ हटियामा हेलिकोप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभा प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। विस्तृत जानकारी आउन बाँकी रहेको गोदारले जानकारी दिए। उनका अनुसार राप्साबाट सामान ढुवानी गर्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जना घाइते भएको भोटखोला गाउँपालिका उपाध्यक्ष सहना लामाले बताइन्। “सामान बोकिरहेको थियो। एकाएक ठूलो आवाज आयो,” उनले भनिन्, “पाँच जना घाइते भएको खबर आएको छ।”