व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ
पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा एक जना पक्राउ परेका छन्।
चितवनको भरतपुर महानगरपालिका-८ का ३७ वर्षीय जीवन रावललाई बिहीबार राति बाराको सिमराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। रावललाई राति नै चितवन ल्याइएको र शुक्रबारदेखि अनुसन्धान शुरू गरिने पण्डितले बताए।
घटनास्थलमा भेटिएको ‘सुसाइट नोट’ का आधारमा कँडेलको परिवारले अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट रावल र सोही कम्पनीका शेयर सदस्य प्रदीप रुँगटा विरुद्ध किटानी जाहेरी दिएको थियो। रुँगटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक पण्डितले नेपाल प्रहरी, सीआईबी लगायत संगठनका निकाय परिचालन भएकाले छिटै पक्राउ पर्ने बताए।
कँडेलले केही समयअघि आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुँगटालाई बिक्री गरेका थिए। उनी मंगलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए।