लिवियाली पूर्व प्रधानमन्त्री मौमदी जेलमुक्त
लिवियामा लामो समयसम्म राष्ट्रपति बनी सन् २०११ मा जनआन्दोलनको बलमा अपदस्थ शासक मोहमर गद्दाफी युगका अन्तिम प्रधानमन्त्री बग्दादी अल–मौमदीलाई स्वास्थ्यका कारण जेलमुक्त गरिएको अधिकारीले जनाएका छन् ।
मौमदीसहित आठजनालाई लिवियाली जनताको आन्दोलनमा अन्धाधुन्ध बल प्रयोग गरी सयौँ नागरिकको ज्यान लिएको आरोपमा मृत्युदण्डको सजायँ तोकिएको थियो । उनी चार वर्षदेखि लिवियाली जेलमा रहँदै आएका थिए।
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को समर्थन पाएको लिवियाली राज्य विद्रोहका समयमा मौमदीले गद्दाफीको विश्वासपात्रका रूपमा सरकारको नेतृत्व गरेका थिए।
सत्तरी वर्ष पार गरिसकेका पूर्व प्रधानमन्त्री मौमदी, गद्दाफीका छोरा सैयफ अल–इस्लामसहित तत्कालीन आठ नेतालाई सन् २०१४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
मौमदीलाई चिकित्सा आयोगको सिफारिस अनुसार ‘स्वास्थ्यको कारण’ रिहा गरिएको छ । उनले विशेष स्वास्थ्य केन्द्रहरूमा स्वतन्त्र रूपमा उपचार गर्न सक्नेछन् ।
उनलाई के रोग लागेको र कहाँबाट रिहा गरिएको भन्नेबारे थप विवरण दिइएको छैन ।