बौद्ध धर्मका हाँगाबिँगा
गौतम बुद्धको समयमा महायान, बज्रयान, थेरवाद जस्ता सम्प्रदायहरू थिएनन्। अहिले कसरी भए? के यो बुद्धको उपदेशभन्दा बेग्लै हो?
गौतम बुद्ध (इपू ५६३–४८३) द्वारा उपदेश गरिएको शिक्षा नै बौद्ध धर्मदर्शन हो। तर‚ अहिले यो धर्मदर्शन अन्तर्गत महायान, बज्रयान, थेरवाद आदि नामका सम्प्रदाय तथा उपसम्प्रदायहरू अस्तित्वमा छन्। यस्ता नामका अनेकौं सम्प्रदाय तथा उपसम्प्रदायहरूको उदय मात्रै होइन, एकअर्कामा विलय वा हराएर गएका उदाहरण छन्। हाँगाबिँगाका रूपमा रहेका यी सम्प्रदाय तथा उपसम्प्रदायहरूको लेखाजोखा छैन।
भर्खर भर्खर बौद्ध धर्मदर्शनमा चासो राख्नेलाई मात्र नभएर यसै क्षेत्रमा जीवन अर्पण गरिराखेकाहरू पनि कतिपय सन्दर्भमा अलमलिने गरेको पाइन्छ। बौद्ध धर्मदर्शनमा रहेका यी सम्प्रदायगत विकासलाई लिएर कतिपय बौद्धहरू चिन्ता पनि व्यक्त गर्दछन्। कतिपयले यसलाई बौद्ध शिक्षामा आएको विकृति भनी व्याख्या गरी एकअर्कामाथि आक्षेप वा टीकाटिप्पणी हुने गरेको पनि पाइन्छ। यद्यपि यसलाई सहज रूपमा लिनुपर्छ। गौतम बुद्धद्वारा उपदेश भएको शिक्षा अन्तर्गत नै राखेर हेर्दा यो समस्याको समाधान हुने देखिन्छ।
बुद्धको जीवनी पढ्ने जोकोहीलाई जानकारी छ, घरगृहस्थी त्याग गरी साधनामा लाग्ने क्रममा उनलाई बेग्लै खालको धर्म बोध भयो। त्यही बोधलाई बोधि (ज्ञान) भनिएको छ। बोधि प्राप्त गर्नु नै बुद्धत्व प्राप्त गर्नु हो। बुद्धत्व प्राप्त गर्नेलाई बुद्ध भनिन्छ। गौतम बुद्धले प्राप्त गरेको बोधि तत्कालीन समाजका लागि नौलो थियो। न कसैले कहिल्यै सुनेको न कहींकतै लिपिबद्ध भएको। तर‚ बौद्ध परम्परा अनुसार यो धर्मदर्शन गौतम बुद्धले चिन्तनमनन गरेर बनाएको नभई कठोर साधनापछि बोध गरेका हुन्।
हामी अनेक खालका क्लेशले छोपिएका हुन्छौं जसका कारण जीवन र जगत्का यथार्थ देख्दैनौं। जब साधनाद्वारा क्लेशरूपी पर्दा हटाउँदै जान्छौं, अन्त्यमा सबैले एउटै कुरा देख्छन्। बुद्धले देखेको र देखाउन खोजेको पनि उही हो। बुद्धका अनुसार कुनै कुरा नित्य छैन, परिवर्तनशील छ। हेतु र प्रत्यय (कार्यकारण) का कारण यहाँ सम्पूर्ण कुरा उत्पत्ति र विनाश भइरहेको हो। यसमा कुनै परमसत्ताको भूमिका छैन‚ त्यस्तो परमसत्ता भेटिंदैन पनि। कसैको पनि आफ्नै भन्ने स्वभाव छैन अर्थात् सबै कुरा अनात्म छन्। सबै शून्य छन्। यही ज्ञानलाई नै बुद्धले विभिन्न प्रसङ्ग र सन्दर्भमा उपदेश गरेका हुन्। बुद्धत्व प्राप्ति र महापरिनिर्वाणबीच ४५ वर्षको अन्तर छ। यो ४५ वर्षभित्र बुद्धले जेजति उपदेश वा शिक्षा दिए, त्यही कुराको अध्ययन, अनुसन्धान र साधना अहिले पनि भइरहेको छ।
बौद्ध धर्मदर्शनमा रहेका यी सम्प्रदायगत विकासलाई लिएर कतिपय बौद्धहरू चिन्ता पनि व्यक्त गर्छन्। यद्यपि‚ यसलाई सहज रूपमा लिनुपर्छ।
गौतम बुद्धको समयमा महायान, बज्रयान, थेरवाद जस्ता सम्प्रदायहरू थिएनन्। अहिले कसरी भयो? के यो बुद्धको उपदेशभन्दा बेग्लै हो? बुद्धले दिएको उपदेश अपूर्ण भएकाले पछिल्ला आचार्यहरूले थपथाप पारेको हुन्? थपथाप पार्ने क्रममा पो विकृति आयो कि? यस्ता प्रश्नहरू गम्भीर त छन्। तर‚ सुझबुझपूर्ण तथा तार्किक होइनन्। यी प्रश्नको निरूपण गर्न नसक्दा दृष्टिभ्रम हुने गरेको पाइन्छ।
बुद्ध एकै ठाउँमा मात्र बसेनन्। विभिन्न ठाउँ घुम्दै उपदेश दिए। उनले एउटै वर्गलाई मात्र ध्यान दिएनन्। धनी होऊन् वा गरीब, दास होऊन् वा प्रतापी सम्राट्, बुद्धका आँखामा सबै बराबर हुन्। जाति, भाषा, राज्य, लिङ्ग, वर्ण आदिमा भेद नगरी सबैलाई एक प्राणीका रूपमा हेरेर उपदेश गर्दथे। बौद्ध धर्मदर्शनले अनेकौं संख्यामा रहेका भिन्नाभिन्नै नामका ब्रह्मा र इन्द्रको चर्चा गर्छ। इन्द्र र ब्रह्माहरू बाहेक अन्य देवताहरूको पनि सन्दर्भ बरोबर आउने गर्छ। महाब्रह्माको पनि सन्दर्भ आउँछ। रूपलोक र अरूपलोकको पनि चर्चा हुन्छ। बुद्धका लागि यी सबै बराबर हुन्। उनका अनुसार यी सबै दुःखी छन्। दुःखबाट मुक्ति पाउन बाँकी छ। बुद्ध आफूले जसरी जानेको वा मन परेको हो‚ त्यसरी मात्रै नभएर उपायकौशल प्रयोग गरेर सबैमा करुणा राखी सबैले बुझ्ने गरी उपदेश गर्थे। एउटै उपदेश विभिन्न वर्ग, क्षेत्र, लिङ्ग आदिलाई अनेक सन्दर्भ र प्रसङ्गमा दिंदा फरक फरक काइदा अपनाउनुपर्ने हुन्छ। एक सर्वसाधारण र अत्यन्त तार्किक विद्वान्लाई दिने उपदेश एउटै भए पनि तौरतरीकाको फरकबाट यो कुरा सहज रूपमा बुझ्न सकिन्छ।
बौद्ध धर्मदर्शनमा देखा परेका सम्प्रदाय तथा उपसम्प्रदायहरूका सम्बन्धमा प्रायः के भन्ने र लेख्ने गरेको पाइन्छ भने बुद्धको महापरिनिर्वाणको १०० वर्ष नपुग्दै भिक्षुहरूबीच झगडा पर्यो र ‘महायान’ तथा ‘हीनयान’ भन्ने सम्प्रदाय छुट्टियो। तर‚ यो प्रसङ्ग गलत छ। यस बुझाइमा धर्म र सम्प्रदायबीचको भेद छुट्याउन नसकेको देखिन्छ। एकअर्कोसँग मिसमास पारेको पनि पाइन्छ।
बौद्ध धर्ममा ‘हीनयान’ र ‘महायान’ नितान्त दर्शनसँग सम्बन्धित विषय हुन्। जन्म र मृत्युको चक्रबाट मुक्त हुनुको अवस्थालाई अर्हत् भनिन्छ। अर्हत् हुनेले प्राप्त गर्ने बोधि (ज्ञान)लाई श्रावक बोधि भनिन्छ। यो मार्ग श्रावकयान हो। श्रावकयान अन्तर्गत अर्हत् हुनेलाई श्रावक बुद्ध पनि भन्न सकिन्छ, तर गौतम बुद्ध स्तरको बुद्ध होइन। श्रावक बुद्धभन्दा अलि उच्च कोटिको बुद्ध त हुन्, तर गौतम बुद्ध जस्तो सम्यक् सम्बुद्ध नै नहुनेहरूलाई प्रत्येक बुद्ध भनिन्छ। यसलाई प्रत्येक बुद्धयान भनिन्छ। यस वर्गका बुद्धहरू उपदेश दिने तथा संघ बनाउनेतिर लाग्दैनन्। आफूलाई बुद्ध हुँ भनेर चिनाएर पनि बस्दैनन्।
श्रावकयान र प्रत्येक बुद्धयानलाई सामान्यतः हीनयान भनिन्छ। हीनयानभन्दा बेग्लै मार्ग अपनाएर बोधिसत्व भई बोधिचर्या गर्दै लामो र कठिन यात्रा तय गरी गौतम बुद्ध जस्तै सम्यक् सम्बुद्ध नै हुने लक्ष्य राख्नेहरूको मार्गलाई महायान भनिन्छ। हीनयान र महायानबारे नबुझी वा बुझ्न नचाहेर हिजोआज हीनयानीहरूले ‘हीनयान’ शब्दको प्रयोगमा हिनताबोध गर्दै आपत्ति प्रकट गर्न थालेका छन्। कसैको चित्त नदुखाऔं भन्दै महायानीहरूले पनि हीनयान शब्द प्रयोग गर्न छाडेका छन्। हीनयानीको तात्पर्य थेरवादी बौद्ध सम्प्रदाय भन्ने बुझाइ पनि पाइन्छ। तर‚ यथार्थ के हो भने हीनयानभित्र देखा परेका अनेकौं सम्प्रदायमध्ये थेरवाद एक हो। एउटै थेरवादले सम्पूर्ण हीनयानलाई जनाउँदैन। र, हीनयानभित्रका अनेक सम्प्रदाय तथा उपसम्प्रदायमा जीवित थेरवाद मात्रै हो।
बुद्धको महापरिनिर्वाण भएको १०० वर्ष नपुग्दै दोस्रो संगायन हुँदा भिक्षुहरूबीच मतभेद उत्पन्न हुँदा बहुसंख्यक र अल्पसंख्यक गरी दुई समूहमा बाँडिए। अल्पसंख्यकहरू ‘स्थविरवाद’ र बहुसंख्यक ‘महासांघिक’ नामबाट चिनिए।
बुद्धको महापरिनिर्वाण भएको १०० वर्ष नपुग्दै दोस्रो संगायन हुँदा भिक्षुहरूबीच मतभेद उत्पन्न भयो। जसका कारण भिक्षुहरू बहुसंख्यक र अल्पसंख्यक गरी दुई समूहमा बाँडिए। अल्पसंख्यकहरू ‘स्थविरवाद’ नामबाट चिनिए र अर्कोलाई बहुसंख्यक भएकै आधारमा ‘महासांघिक’ भनियो। तर‚ यी दुवैले मान्ने धर्म–दर्शन एउटै मात्र नभई उनीहरू एउटै विहारमा सँगै बस्दथे।
मतभेद हुँदै जाँदा स्थविरवादभित्रै महीशासक र वृज्जिपुत्तक भनी दुई सम्प्रदाय देखिए। महीशासकमा सर्वास्तिवाद र धर्मगुप्तिक नामका दुई सम्प्रदाय देखापरे। सर्वास्तिवादबाट काश्यपीय, सांक्रान्तिक र सूत्रवादी (सौतान्त्रिक) बने। वृज्जिपुत्तकबाट धर्मोत्तरीय, भद्रयाणिक, षाण्णागारिक र सम्मितीय नामका सम्प्रदायको उदय भई स्थविरवादीहरूकै १२ वटा सम्प्रदाय पुग्यो।
यस्तै‚ महासांघिक शुरूमा गोकुलिकी र एक व्यावहारिक भनी विभाजित भए। गोकुलिकीबाट प्रज्ञप्तिवाद र बाहुलिक (बाह्यश्रुतिक) भए। बाहुलिकबाट चैत्यवादी सम्प्रदाय आयो। यस प्रकार महासांघिकहरूको ६ वटा सम्प्रदाय बन्यो। यी सबै गरेर अष्टादश निकाय अर्थात् अठार निकाय त ईश्वीअघि सम्राट् अशोकद्वारा आयोजित तेस्रो संगायनअघिको हो। यी विविध सम्प्रदायहरूले गर्दा समस्या भएको र सम्राट् अशोकबाट तत्कालीन बौद्ध धर्ममा शुद्धीकरण गरिएको बताइन्छ। तर‚ वास्तवमा उनले अन्य सम्प्रदायहरूलाई निषेध गर्ने वा दुरुत्साहन गरेको बुझिन्छ।
अष्टादश निकाय र त्यसपछि विकास भएका अन्य निकाय (सम्प्रदाय)हरूमा थेरवादको नाम नआउनु आश्चर्यको विषय हो। आजभोलि श्रीलंका, भारत, नेपाल, थाइल्यान्ड, म्यानमार, कम्बोडिया लगायतका देशहरूमा प्रचलित थेरवादलाई अनुसरण गर्नेहरू बुद्धले शुरूमा दिएको उपदेश वा पहिलोपल्ट विभाजन हुँदाको स्थविरवाद नै थेरवादका रूपमा रहेको बताउँछन्। यसको विपरीत सम्राट् अशोक विभज्जवादका पक्षपाति रहेको र उही विभज्जवादबाट थेरवादको विकास भएको भन्ने पनि छन्। थेरवाद सम्बन्धी यी दुई विपरीत मान्यताबारे निर्क्योल हुन सकेको छैन।
बौद्ध धर्मदर्शनका उद्भट विद्वान्हरूले बुद्धका उपदेशहरूलाई सूक्ष्म अध्ययन गरी विशिष्टीकृत र व्याख्या गर्ने क्रम महायान र हीनयान भनी छुट्याइएको भन्न सकिन्छ। उनीहरूको दर्शन भने बुद्धले दिएका उपदेश नै हो।
विभिन्न निकायहरूबीच फुट हुने, जोडिने तथा विलय हुने क्रम पछि पनि चल्दै गयो। यसै क्रममा महासांघिकमा देखिएको चैत्यवादी सम्प्रदायबाट अन्धक नामको अर्को सम्प्रदायको विकास भयो। चैत्यवादीभन्दा यो सम्प्रदाय खासै फरक थिएन। अन्धक नामको देशमा बस्ने बौद्धहरूको भौगोलिक पहिचानबाट यो सम्प्रदायको नाम रहेको थियो। यही अन्धक सम्प्रदायबाट वैपुल्य, पूर्वशैलीय, अपरशैलीय, राजगिरिक र सिद्धार्थक छुट्टिए। वैपुल्य, पूर्वशैलीय र अपरशैलीय पनि भौगोलिक पहिचानमा आधारित सम्प्रदाय थिए। राजगिरिक र सिद्धार्थक दुई सम्प्रदायको नामकरणका सम्बन्धमा स्पष्ट छैन। यी सम्प्रदायहरू ई.पू. १०० तिर छुट्टिएको देखिन्छ। पछि फेरि एकअर्कामा विलय वा मिलेर एउटा बेग्लै समूहका रूपमा देखा परे जसलाई ‘महायान’ नाम दिइयो। सम्भवतः महायानपछि मात्रै हीनयानको नामकरण भएको हो। यिनीहरूले बोक्ने दर्शन बुद्धले दिएका उपदेश हुन्। बौद्ध धर्मदर्शनका उद्भट विद्वान्हरूले बुद्धका उपदेशहरूलाई सूक्ष्म अध्ययन गरी विशिष्टीकृत र व्याख्या गर्ने क्रम महायान र हीनयान भनी छुट्याइएको भन्न सकिन्छ।
बौद्ध धर्मदर्शनमा देखिएका अनेकौं हाँगाबिँगारूपी सम्प्रदाय र उपसम्प्रदायहरू स्वयं गौतम बुद्धद्वारा नै प्रदत्त वैचारिक स्वतन्त्रता र चिन्तन प्रणालीका विशिष्ट उपज हुन्। बुद्धले ‘मैले यो भनेको हुँ, यही मात्र मान्नुपर्छ, यसमा प्रश्न नगर्नू’ भन्ने खालको प्रतिबन्ध लगाएनन्। यस्तो यस्तो साधना गरेर यस्तो देखेको हुँ, विश्वास मात्रै गरेर बस्नु पर्दैन, साधना गरेर स्वयं आफूले पनि त्यही देख्न सक्छौ भनी सिकाए। गुरुमुष्ठी नै भएन। बुद्धले एउटै कुरा विभिन्न पक्षबाट सिकाएका थिए। जसलाई आआफ्नो सुविधा र रुचि अनुसार जुन पक्ष उपयुक्त र बोधगम्य लाग्यो, त्यसलाई अनुसरण गरे। समाजमा रहँदा अन्य धर्मदर्शनका सम्प्रदायहरूसँग प्रतिस्पर्धा हुनु स्वाभाविक हो। प्रतिस्पर्धाका लागि केही तरीका वा उपायकौशल्य अपनाउनु पनि स्वाभाविक हो। एवं रीतले विभिन्न समूहहरू देखा परे।
महायान सम्प्रदायमा तन्त्र साधनामा जोड दिने समूह आएपछि त्यसलाई बज्रयान भनियो। यी यानहरूका सम्बन्धमा बौद्धहरूबीच रोचक दाबी छ। श्रावकयानीहरू गौतम बुद्धले श्रावकयानका उपदेशहरू मात्रै दिएको र अन्य सबै पछि आएका विकृति भएको दाबी गर्छन्। तर‚ महायानीहरू गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको केही महीनापछि सारनाथमा गरेको धर्मप्रवर्तन श्रावकयानी बौद्ध धर्मसँग मात्रै सम्बन्धित रहेको दाबी गर्छन्। उनले राजगृहस्थित गृधकूत पर्वतमा दोस्रोपल्ट धर्मचक्र प्रवर्तन गरेका थिए। महायान बौद्ध दर्शनको धर्मचक्र प्रवर्तन गर्दा श्रावकयानी भिक्षुहरूले बुझ्न नै सकेनन्। यसरी नै बज्रयानीहरूको दाबी छ- दक्षिण भारतको धान्यकटक पर्वतमा बसी तेस्रो पल्ट धर्मचक्र प्रवर्तन गरेका थिए। यो नै बज्रयान बौद्ध धर्मदर्शन हो। यी तीन यानलाई बेग्लाबेग्लै मानिए पनि तहगत भएको र श्रावकयानको ज्ञान नपाई महायानमा जान नसकिने र महायानी धर्मदर्शनमा दखल नगरेसम्म बज्रयानमा जान नसकिने भनेर यसलाई तहगत मान्नु अर्को विशेषता हो। बज्रयानमा पनि पछि कालचक्रयान, सहजयान लगायत अन्य थुप्रै दार्शनिक सम्प्रदायहरूको विकास भएको पाइन्छ।
बौद्ध धर्मको हाँगाबिँगाको उल्लेख गर्दा राम्रो उदाहरण तिब्बती समाजको बौद्ध अभ्यास पनि हो। तिब्बतमा बौद्ध धर्मको महायान अन्तर्गतकै बज्रयान शाखा पुगेको हो। भिक्षु अतीशा दीपंकर श्रीज्ञान पुग्नुअघिको बौद्ध धर्मलाई पुरानो अर्थमा ‘निङ्मा’ र पछिको बौद्ध धर्मलाई नयाँको अर्थमा ‘सारमा’ भनियो। निङ्मा सम्प्रदाय ठूलो संख्यामा छ। नेपालका तामाङ, शेर्पा लगायत समुदायले अनुसरण गर्ने निङ्मा हो। ‘सारमा’ अन्तर्गत कदम, साक्य र काग्यूको विकास भयो। कदमलाई परिमार्जित गरी गेलुग सम्प्रदाय बनाइयो। खैरो माटोको डाँडामा बनेको गुम्बा र त्यसका शिष्यहरूको अर्थमा साक्य सम्प्रदाय बन्यो भने गाडेन गुम्बाको अर्थमा गेलुग सम्प्रदायको नाम बन्यो। आखिर सबै बज्रयानी बौद्ध धर्म नै। गुरु वा गुम्बाको फरकबाटै अन्य उपसम्प्रदायहरू बनेको पाइन्छ। बज्रयान नै भए पनि एउटाले एउटा पक्षमा जोड दिएर अगाडि बढे अर्काले अर्कै पक्षमा। आवश्यकता अनुसार एकअर्को गुम्बामा गएर अध्ययन गर्नलाई कुनै बाधा छैन। एउटै सम्प्रदायभित्र पनि गुरुशिष्य परम्परामा बेग्लाबेग्लै हाँगा आउनु स्वाभाविक हो।
विशाल बौद्ध वाङ्मयमा सबै पढेर बस्नु असाध्य गाह्रो काम हो। जापानमा दशौं-एघारौं शताब्दीतिर महायानी सम्प्रदायका भिक्षु निचिरेनद्वारा स्थापित निचिरेन सम्प्रदायले अन्य ग्रन्थहरूलाई छाडेर सद्धधर्मपुण्डरिक सूत्र ग्रन्थलाई मात्र प्राधान्य दिएर अगाडि आएको छ भने सोही हाँगाभित्र पनि ठूलासाना गरी दर्जनभन्दा बढी हाँगा फैलिएका छन्। बुद्धद्वारा देसित हजारौं सूत्रहरूमा केबल ‘महापरिनिर्वाणसूत्र’ (दीघनिकाय ग्रन्थमा सङ्कलित) एउटालाई मात्र मान्ने सम्प्रदाय पनि जापानमै छ। यसले बुद्धका अनेक मुद्राका मूर्तिहरूमा केवल महापरिनिर्वाण हुँदाको दृश्य अङ्कित गर्ने मूर्तिको मात्रै प्रयोग गर्छ।
बौद्ध धर्मदर्शनको साधना कसरी गर्ने भन्नेमा साधकलाई स्वतन्त्रता छ। चीन, कोरिया र जापानको पृष्ठभूमि फरक फरक भएको सन्दर्भमा बौद्ध धर्म तिनीहरूसँग हेलमेल हुने क्रममा ती देशहरूमा बौद्धधर्म आआफ्नै विशेषतायुक्त भएर विकास भयो। उदाहरणका लागि बौद्ध धर्म तिब्बतमा पुग्दा त्यहाँ पहिल्यैदेखि चलिआएको बोन धर्मका कतिपय कुरा बौद्ध धर्ममा भित्रियो। जापानमा परम्परागत शिन्तोसँग मिलाएर बौद्ध धर्मको विकास गरियो। यही अवस्था अन्यत्र पनि भयो। काठमाडौंको नेवार समाजमा अलि बेग्लै प्रकारले यसको विकास हुन पुग्यो जुन अन्यत्र पाइँदैन। यही भएर कतिपय पश्चिमा विद्वान्हरूले यसलाई ‘नेवार बुद्धिज्म’ भनेर नाम दिएको पाइन्छ। आजभोलि ‘अमेरिकन बुद्धिज्म’ भनेर बेग्लै नामकरण पनि गर्न थालिएको छ। जापानी बौद्ध धर्म र कोरियन बौद्ध धर्ममा पनि छुट्टाछुट्टै विशेषता पाइन्छन् र त्यही अनुसार छ्याएर नाम दिइएको छ। यसलाई पनि सम्प्रदायकै रूपमा हेर्दा सम्पूर्ण बौद्ध धर्मको विकास क्रम र सम्प्रदायहरूको प्रवृत्ति बुझ्न सकिन्छ।
बौद्ध धर्मदर्शनमा देखिएका अनेकौं हाँगाबिँगारूपी सम्प्रदाय र उपसम्प्रदायहरू स्वयं गौतम बुद्धद्वारा नै प्रदत्त वैचारिक स्वतन्त्रता र चिन्तन प्रणालीका विशिष्ट उपज हुन्।
हाँगाबिँगारूपी सम्प्रदाय तथा उपसम्प्रदायहरू जहाँ जसरी विकास भए पनि त्यो आआफ्नो सुविधा अनुसार भएका हुन्। मूल रूपमा बौद्ध धर्मदर्शनबाट बाहिर नगएपछि यसमा आपत्ति जनाउनुको औचित्य देखिंदैन। सम्प्रदाय सम्प्रदायबीच केही कुरा बाझियो भने पनि त्यसमा आत्तिनुपर्ने अवस्था छैन। किनभने बुद्ध स्वयंले यस अवस्थामा के गर्ने भन्ने उपदेश दिएका छन्। चार आर्यसत्य, अष्टाङ्गिक मार्ग, त्रिलक्षण अन्तर्गत अनित्य, दुःख, अनात्म र प्रतीत्यसमुत्पाद दर्शनसँग मिल्ने कुरा बुद्धवचन हुन्, अन्य होइनन्। बुद्धको यही कुरालाई कसी बनाएर सम्पूर्ण सम्प्रदायलाई बुझ्न सकिन्छ।
हिन्दू धर्ममा षड्दर्शन भने जस्तै बौद्धमा वैभाषिक, सौत्रान्तिक, माध्यमिक (शून्यवाद) र विज्ञानवाद (योगाचार) गरी चार दार्शनिक सम्प्रदायको विकास भएको छ। जगतको समस्त वस्तु, चाहे त्यो बाह्य होस् वा आन्तरिक, भूत तथा भौतिक, चित्त तथा चैत्तिक, सबै वस्तुतः विद्यमान हुन्छ भन्ने मान्यता राख्ने भएका कारण यसलाई सर्वास्तिवाद भनिएको हो। अझ स्पष्ट रूपमा भन्दा ‘सर्वम् अस्ति’ मान्ने भएर सर्वास्तिवाद भनिएको हो। सर्वास्तिवादकै अर्को दार्शनिक सम्प्रदाय सौत्रान्तिक हो। बुद्धवचन भनेर सूत्रलाई मात्र प्रामाणिक मान्ने भएर यसलाई सौत्रान्तिक भनिएको हो। तर‚ यसका सम्बन्धमा हाल खासै ग्रन्थहरू उपलब्ध छैनन्।
जगत्मा कुनै पनि कुराको आफ्नै सत्ता वा स्वभाव छैन, नि:स्वभाव छ तसर्थ ‘सर्वम् शून्यम्’ को मान्यता राख्नेहरू माध्यमिक हुन्। आचार्य नागार्जुनद्वारा प्रतिपादित यो माध्यमिक दर्शनलाई शून्यवाद पनि भनिन्छ। यो माध्यमिक सम्प्रदायले जीव र जगत्मा भएका सम्पूर्ण पदार्थको स्वअस्तित्व नभएकाले असत्य वा शून्य मान्छ भने विज्ञानवाद वा योगाचार सम्प्रदायले त्यो शून्यलाई बुझ्ने चित्त एउटाको स्वतन्त्र अस्तित्व रहेको मान्छ। चित्त वा मनलाई प्राधान्य दिने भएर यसलाई विज्ञानवाद पनि भनिएको हो। धार्मिक र व्यावहारिक दृष्टिले योगाचार भनिएको यो विज्ञानवादकै आधारशिलामा बज्रयानी बौद्ध धर्म उभिएको हो। बज्रयानीहरूले यस दर्शनलाई साधनाको अङ्ग वा साधनका रूपमा लिने गर्छन्। यी चारै वटा दार्शनिक सम्प्रदायका छुट्टाछुट्टै आचार्य, मान्यता र साहित्यहरू छन्।
बौद्ध धर्मदर्शनका सम्प्रदायगत साहित्यहरूमा एकअर्काका सम्बन्धमा टिप्पणी गर्ने, गाली गर्ने तथा चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ। ईशापूर्व तेस्रो शताब्दीसम्म देखिएका १८ वटा निकाय अष्टादश निकायको नामबाट प्रसिद्ध छ। सम्राट् अशोक र उनका गुरुले यी विभिन्न सम्प्रदायहरूलाई विकृतिका रूपमा बुझेको पाइन्छ। पक्षधरता लिने क्रममा सम्राट् अशोकले एउटाको मात्रै पक्ष लिएर अरूलाई संघबाट निकाला गरेको भनिए पनि वास्तवमा अन्य सम्प्रदायका बौद्ध भिक्षुहरू आआफ्नो सुविधाको क्षेत्रमा गएर बसेका हुन्। सर्वास्तिवादी बौद्ध भिक्षुहरू पश्चिमतर्फ लागेर कश्मीर र गान्धार लगायत क्षेत्रमा प्रभाव जमाएका थिए। यहाँ पुगेपछि सर्वास्तिवादीहरू दुई सम्प्रदायमा विभक्त भए। तर‚ पछि कुषाण सम्राट्ले दुवै थरीका सर्वास्तिवादीहरूको संगायन गराएर पुनः एउटै बनाएको पाइन्छ। यो संगायनको लगत्तै सम्राट् कनिष्कले बौद्ध धर्मको प्रचारप्रसारका लागि धर्मदूतहरू नियुक्त गरेर मध्यएशिया लगायत भूगोलको विस्तृत भूभागमा बौद्ध धर्मको प्रचार गरेका थिए। चीनमा फैलिएको बौद्ध धर्म सर्वास्तिवाद र अन्य सम्प्रदायहरू हुन्। आज बौद्ध धर्म विश्वभर फैलिएको एउटै मात्र सम्प्रदाय होइन। कुनै वेला सशक्त रूपमा देखा परेको सम्प्रदाय समय सान्दर्भिक नभएपछि हराउने र अर्को नयाँ सम्प्रदायको उदय हुने क्रम जारी छ।
गौतम बुद्धका अनुसार धर्म र बुद्ध उही हो। जसले बुद्धलाई बुझ्छ, उसले धर्मलाई बुझेको र जसले बुद्धलाई बुझ्यो उसले धर्मलाई बुझेको भन्ने गौतम बुद्धको भनाइबाट पनि यो कुरा स्पष्ट हुन्छ। धर्म हुन्जेल बुद्ध शासन जीवित हुन्छ भन्ने मान्यता पनि छ। धर्मबारे छलफल तथा साधनाको पनि निरन्तरता हिजोआज विश्वभर फैलिएको छ। यसको पठनपाठन पनि अझ व्यापक भएको छ। यस अर्थमा भौतिक रूपमा बुद्ध जीवित नभए पनि धर्मका रूपमा बुद्ध जीवित नै रहेको मानिन्छ। बौद्ध धर्मदर्शनमाथि प्रश्न उठाउने र जवाफ पनि खोज्ने अभ्यास वा साधना बुद्धद्वारा नै प्रदत्त स्वतन्त्रता भएको र अनुयायीहरूले यसको अनुसरण गर्दै आइरहेको सन्दर्भमा विभिन्न सम्प्रदायको उदय र विलय बौद्ध धर्मदर्शन अहिलेसम्म पनि प्रवाहित भइराख्ने कारण हो।