मिडिया व्यवसायलाई कसरी दिगो बनाउने?
डिजिटल युगमा पत्रकारिता कसरी जोगाउने? संसारभरिका प्रकाशक र पत्रकारका लागि सर्वाधिक पेचिलो प्रश्न हो, यो।
हिमाल मिडिया मेला २०२३ को अन्तिम सत्रमा प्लाइस मिडिया, सिंगापुरका सहसंस्थापक रिसद पटेलले डिजिटल युगमा व्यावहारिक मिडिया व्यवसायको विषय र मिडियाको दिगोपनका विषयमा बृहत् विमर्श गरे। उनले गुणस्तर र स्थिरताका साथमा मिडिया व्यवसाय जोगाउन पत्रकारिताले आफ्ना पाठक, दर्शक र श्रोतातिर फर्कनुपर्ने विचार राखे।
उनले भने, “मिडियालाई दिगो बनाउने एउटा उपाय पत्रकारिताले मानिसका दिनहुँका समस्या समाधान गर्ने र निर्णय गर्न सघाउने सामग्री दिएर हो।”
पटेलले डिजिटल युगमा पत्रकारिताको शक्ति जोगाउन मिडिया सञ्चालनको रणनीति फेर्नुपर्ने बताए। उनले मिडियाले आममानिसका दिनहुँका समस्या खोज्ने, समाधान गर्ने र मानिसलाई असल निर्णय लिन सघाउने रणनीतिले पत्रकारितालाई दिगो बनाउने बताए।
पटेलले दिनहुँ बदलिंदो प्रविधि पत्रकारिताका लागि चुनौती नभएको बरु यसले पहुँच विस्तार र दिगोपनका लागि अवसर सिर्जना गरेको उदाहरण दिए। पत्रकारिताका लागि प्रविधि चुनौती नभएको बरु आममानिसका कुरा नसुन्नु, उनीहरूका समस्या समाधान गर्न चासो नदिनु पत्रकारिताको दिगोपनका लागि समस्या भएको उनको तर्क थियो।
मिडियालाई ठूलो समुदायका लागि होइन, आफ्ना निर्दिष्ट समूहप्रति लक्षित सामग्री पस्किने प्रयासले टिकाउने पटेलको धारणा छ। उनले भने, “कुन माध्यममा सामग्री दिने भन्ने कुरा महत्त्वपूर्ण होइन, उनीहरूसँग कुरा गर्नु, उनीहरूका समस्या सुन्नु र समाधान गर्ने सामग्री पस्किनुले पत्रकारितालाई व्यावसायिक रूपमा जोगाउन सक्छ।”
पटेलको प्रस्तुतिसँगै हिमाल मिडिया मेला २०२३ समापन भएको छ। यो वर्ष सम्पन्न हिमाल मिडिया मेलाको दोस्रो संस्करणमा मिडिया र पत्रकारितासँग सम्बन्धित विभिन्न विषयमा विमर्श गरिएको थियो। मिडिया मेलामा भारतको द वायर अनलाइनका सम्पादक सिद्धार्थ वरदराजनले प्रमुख वक्ताको मन्तव्य व्यक्त गरेका थिए।