गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
गण्डकी प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३५ मत परेको थियो। उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र नेकपा (एकीकृत समाजवादी) सांसदले मत दिएका थिए।
विश्वासको मतको प्रस्तावको विपक्षमा नेकपा (एमाले)का २२ सांसद उभिए। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेश सभा सदस्य तटस्थ बसेका थिए। उनी यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्र रूपमा अघि बढ्ने बताए। मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने जनाउँदै उनले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको बताए। सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उनको भनाइ थियो।
त्यस्तै, मुख्यमन्त्री पाण्डेले पछिल्लो समयमा अल्पमतको कामचलाउ सरकार भइसकेपछि केही योजनालाई बढाएको पाइएको बताए। ती योजना आवश्यकताका आधारमा या राजनीतिक आग्रहका आधारमा बढाइएको सम्बन्धमा पुनर्विचार गरिने उनले बताए।