‘अर्थ अभावमा खोज पत्रकारिता विस्तार हुन सकेन’
आर्थिक स्रोतको अभावमा नेपालमा खोज पत्रकारिताको विस्तार हुन नसकेको सरोकारवालाहरूले बताएका छन्।
हिमाल मिडिया मेला २०२३ को ‘खोज पत्रकारिताका खोजी’ शीर्षकको छलफलमा सहभागी पत्रकारहरूले अर्थ अभावमा नै नेपालमा खोजी पत्रकारिताको विस्तार हुन नसकेको बताएका हुन्। खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपालले खोज पत्रकारिताका लागि रिपोर्टरमा हुटहुटी, धैर्य आवश्यक भए पनि सबैभन्दा महत्त्वपूर्ण आर्थिक स्रोत भएको बताए। “खोज पत्रकारिताका लागि रिपोर्टरमा धैर्य, चाहनाका साथै सम्पादकमा पनि हुटहुटी हुन आवश्यक छ,” नेपालले भने, “सबैभन्दा महत्त्वपूर्ण आर्थिक स्रोत हो।”
समाचारकक्षको उचाइ बढाउन खोजी पत्रकारिताको महत्त्वपूर्ण योगदान रहने उनको भनाइ थियो। तर, वित्तको समस्या, बजारको सङ्कुचन, अनुदान दिने संस्थाको अभाव आदिले नेपालमा खोजी पत्रकारिता विस्तार हुन नसकेको उनले बताए।
पत्रकार देवेन्द्र भट्टराईले खोजी रिपोर्टिङका लागि पत्रकारमा हुटहुटी, सम्पादकको सहयोगका साथै आर्थिक स्रोत आवश्यक हुने बताए। खोजी रिपोर्टिङका लागि आवश्यक स्रोत कस्तो छ भन्ने प्रश्नको जवाफमा भट्टराईले भने, “मलाई नसोध कहाँ दुख्छ घाउ...।”
पत्रकार दीपा दाहालले पनि खोजी रिपोर्टिङका लागि रिपोर्टरका चाहनाले मात्र अर्थ नराख्ने बताइन्। दाहालले भनिन्, “समाचारकक्षले खोज्दैन भनेर रिपोर्टरको सीप काम लाग्दैन।” उनले खोजी रिपोर्टिङका लागि मिडियाको नीति पनि आवश्यक रहेको बताइन्।
पत्रकार दाहालले खोजी पत्रकारिता चुनौतीपूर्ण भएको र महिलालाई झन् चुनौती भएको बताइन्। त्यसैले मिडिया र परिवारले उनीहरूलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्।
मेलाको दोस्रो दिन चार वटा सत्रमा छलफल भएको छ। पहिलो सत्रमा हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईंसँग पत्रकार रजनीश भण्डारीले संवाद गरेका थिए।
त्यस्तै, दोस्रो सत्रमा ‘डिजिटल रिडर रेभेन्युः मिडियाको भविष्य’ विषयमा सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, उकालो डटकमका प्रबन्ध सञ्चालक आमोद प्याकुरेल, अफ द रिकर्डका प्रणय राणा र नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञवालीसँग मधु आचार्यले संवाद गरेका थिए।
त्यस्तै, ‘पत्रकार र जलवायु सङ्कट’ विषयमाथि चर्चा गर्दै जलवायु वैज्ञानिक तथा राजनीतिकर्मी अरनिको पाँडे, नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित र अन्नपूर्ण दैनिकमा आबद्ध पत्रकार नितु घलेले वैज्ञानिक ज्ञानले मात्र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न नसकिने हुँदा राजनीतिकर्मीलाई झकझकाएर नीति निर्माण गर्ने काममा पत्रकार गम्भीर हुनुपर्ने औंल्याएका छन्।
हिमाल मिडिया मेलाको यो दोस्रो संस्करण हो। मेलाको पहिलो दिन भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले मुख्य मन्तव्य राखेका थिए।