‘जलवायुबारे रिपोर्टिङ गर्न गम्भीर हुनुपर्छ’
जलवायु सङ्कटको विषयमा रिपोर्टिङ गर्दा गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
हिमाल मिडिया मेलाको दोस्रो दिन बिहीबारको ‘पत्रकार र जलवायु सङ्कट’ विषयमाथि चर्चा गर्दै जलवायु वैज्ञानिक तथा राजनीतिकर्मी अरनिको पाँडे, नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित र अन्नपूर्ण दैनिकमा आबद्ध पत्रकार नितु घलेले वैज्ञानिक ज्ञानले मात्र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न नसकिने हुँदा राजनीतिकर्मीलाई झकझकाएर नीति निर्माण गर्ने काममा पत्रकार गम्भीर हुनुपर्ने औंल्याएका छन्।
पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढाउने काममा अरू कुनै जीवको नभई मानवकै भूमिका भएकाले यसको सम्बोधन गर्ने काम पनि मानवले नै गर्नुपर्ने हुँदा अबको पत्रकारितालाई त्यतातर्फ उन्मुख बनाउनुपर्ने वक्ताहरूको राय थियो। वैज्ञानिक र पत्रकार दुवैले काम गर्ने तरीका एउटै भएको बताउँदै पत्रकार दीक्षितले शतप्रतिशत प्रमाण नभईकन नलेख्ने मिडियाको धर्ममा धेरै चुकिरहेको बताए।
उनले जलवायु परिवर्तनबारे पुरानो खालको पत्रकारिताले नपुग्ने र पत्रकारले केही निष्कर्ष नै दिनुपर्ने जिकिर गरे। “मैले पहिलोचोटि सन् १९८४ मा वाशिङ्टनमा एक जना वैज्ञानिकसँग कुरा गर्दा उनले ‘ग्लोबल वार्मिङ’ शब्द प्रयोग गरेका थिए। पछि खोज्दै जाँदा सन् १९०२ मा पहिलो पटक कोइला बालेर पृथ्वी तात्दै छ भनेर लेखिइसकेको रहेछ,” दीक्षितले भने, “तर, शुरूमा नीतिनिर्माताहरूले यसलाई विश्वास नै गरेनन्। यूरोपले यसको गम्भीरता बुझेको २५ वर्षपछि अमेरिकाले यसको गम्भीरता बुझ्यो। यसमा मिडियाको भूमिका छ।”
जलवायु परिवर्तनबारे लेख्न पत्रकारिताको कक्षामा पढाइने समाचारको परिभाषा नै फेर्नुपर्ने तर्क व्यक्त गर्दै दीक्षितले जलवायु परिवर्तन सम्बन्धमा लेख्न लामो समयको घटना केलाउनुपर्ने भएकाले धेरैको ध्यान नपुगेको बताए।
मिडियाले यो विषयको संवेदनशीलता बुझाउन लेख्नका लागि धेरै सूचना उपलब्ध भएको तर्क गर्दै जलवायु वैज्ञानिक पाँडेले दुई वर्षअघिको मेलम्ची बजारमा गएको बाढीबारे धेरै समाचार आउन नसकेको बताए। “मेलम्ची बजारलाई अहिले पनि जोखिम छ भन्ने ज्ञान छ, तर कति ठाउँमा कति क्युबेक गेग्रान बाँकी छ, कति पानी पर्यो भने बगाउँछ भनेर ‘रिसर्च’ गर्ने ठाउँ धेरै छन्। तर, अनुसन्धान गर्न ‘रिसर्च फन्डिङ’ खोइ त?” पाँडेको प्रश्न थियो।
नेपालमा जलवायु परिवर्तन एउटा अवसर पनि भएको बताउँदै पाँडेले जलवायु परिवर्तनको क्षेत्रमा काम गरेर नेपालले आफूलाई अन्तर्राष्ट्रिय तहमा आफूलाई बलियो गरी उभ्याउन पनि सक्ने बताए। “तीन वर्षअघि सगरमाथा संवाद गर्ने कुरा आएको थियो, नेतृत्व परिवर्तन भएपछि फेरि हरायो। अरू देशको के के जिम्मा छ भन्ने बहस बढाउनु छ। अरू वेलामा एकअर्कासँग संवाद पनि नगर्ने देशलाई एउटै मञ्चमा ल्याउने अवसर पनि हामीलाई छ,” पाँडेले भने।
जलवायुको विषयमा लेख्न विज्ञसम्म पुग्न मात्रै होइन, फिल्डमा पुग्न पनि गाह्रो अवस्था भएको पत्रकार नितु घलेको भनाइ थियो। “हामीलाई विज्ञसम्म पुग्न गाह्रो छ,” घलले भनिन्, “सरकारी निकायले सूचना सङ्कलन र व्यवस्थापन नगर्दा पनि यस विषयमा लेख्न गाह्रो हुने गरेको छ।”
मेलाको दोस्रो दिन तीन वटा सत्रमा विविध विषयमा छलफल भएको छ। पहिलो सत्रमा हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईंसँग पत्रकार रजनीश भण्डारीले संवाद गरेका थिए।
त्यस्तै, दोस्रो सत्रमा ‘डिजिटल रिडर रेभेन्युः मिडियाको भविष्य’ विषयमा सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, उकालो डटकमका प्रबन्ध सञ्चालक आमोद प्याकुरेल, अफ द रिकर्डका प्रणय राणा र नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञवालीसँग मधु आचार्यले संवाद गरेका थिए।
हिमाल मिडिया मेलाको यो दोस्रो संस्करण हो। मेलाको पहिलो दिन भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले मुख्य मन्तव्य राखेका थिए।