नक्कली शरणार्थी प्रकरणमा आठ जना पक्राउ, उच्च नेतृत्व पनि अनुसन्धानको घेरामा
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।
अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। यो मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ। विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्।
उनीहरूले २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको रिजालको भनाइ छ। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
गिरोहले २०७७ सालदेखि नक्कली शरणार्थी बनाई ठगी अभियान चलाएको खुलेको छ। यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो। घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ गत चैत १२ गते पक्राउ परेका थिए। त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए।
उनीहरूकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। घटनाको थप अनुसन्धान र कानूनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपी सहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो।
प्रहरीले वैशाख १९ गते पूर्व गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा. इन्द्रजीत राईलाई पक्राउ गरेको थियो। प्रहरीले वैशाख २० गते तत्कालीन गृहसचिव भई हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्व ऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेको गिरोहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेक समेत बरामद गरिसकेको छ। प्रहरीले अहिले पनि सचिव रायमाझी र डा. राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ। “अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।
गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगो समेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्ट समेत बनाएको भेटिएको छ। गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरूका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीका रूपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए।
उनीहरूले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख असुलेका थिए। गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए। विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए।
उनीहरूले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै आठ करोड बराबरको चेक समेत दिएका थिए। उनीहरूले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको ब्यांक खाता प्रयोग गर्ने गरेका पाइएको छ। (रासस)