कसरी बढाउने डिजिटल माध्यमबाट आम्दानी?
सञ्चारमाध्यमलाई पुरानै माध्यमबाट आयस्रोत जुटाउन मुश्किल हुँदै गएको जनाउँदै अब डिजिटल माध्यमबाट आम्दानी बढाउनेतर्फ सोच्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।
सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकालले सञ्चारमाध्यमले व्यापारिक घरानाका बदमासीबारे लेख्न नछाडेको दिन उनीहरूले सञ्चारमाध्यमसँग गर्ने ‘ब्ल्याकमेलिङ’ रोकिने टिप्पणी गरेका छन्। हिमाल मिडिया मेला २०२३ को ‘डिजिटल रिडर्स रेभेन्युः मिडियाको भविष्य’ विषयक अन्तरक्रियामा बोल्दै ढकालले यस्तो टिप्पणी गरेका हुन्।
प्रस्तोता मधु आचार्यले नेपाली मिडिया किन आफैं विज्ञापनदाता समक्ष पुग्नुपरेको भनेर प्रश्न गरेका थिए। छलफलमा ढकाल, नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञवाली, अफ द रेकर्डका प्रणय राणा र उकालो डटकमका प्रबन्ध सञ्चालक आमोद प्याकुरेल सहभागी थिए।
तीमध्ये ढकालले एउटा उदाहरण दिंदै भने, “एक वर्षअघि एउटा बहुराष्ट्रिय कम्पनीबारे सर्वोच्च अदालतले गरेको एउटा निर्णयको समाचार कसैमा पनि आएन, हामीले लेख्यौं। अनि उसले फोन गरेर थर्कायो- अरूले लेखेनन्, तिमीहरूले मात्र लेख्नुपर्ने किन? अनि मैले भनें- एउटा बहुराष्ट्रिय कम्पनी नेपाल आउँदा के अपेक्षा रहन्छ भने त्यसले अझ राम्रो नैतिक मूल्य स्थापित गर्छ, राम्रो व्यवस्थापन ल्याउँछ। यदि तिमीले यसरी मसँग झगडा गर्ने हो भने म तिम्रो हेडक्वार्टरलाई लेख्छु र मलाई तिम्रो विज्ञापन चाहिंदैन भनेपछि यस्तो हैन भनेर पछि हटे। मिडियाले, सम्पादकहरूले र प्रकाशकहरूले कुनै पनि व्यापारिक घरानाबारे लेख्न नछोड्ने भनेको दिन व्यापारिक घरानाको ‘ब्ल्याकमेल’ पनि सकिन्छ।”
ढकालका अनुसार मिडियालाई विज्ञापन दिनेहरूले आफूले लगानी गरेको नभएर च्यारिटी गरेको ठान्छन्। यही प्रश्नमा ढकालले सामाजिक सञ्जालले थपेको चुनौतीबारे पनि उल्लेख गरे। फेसबूक र गुगलमा सस्तोमा विज्ञापन राखिने हुँदा महँगोमा मिडियालाई किन विज्ञापन दिने भन्ने समेत विज्ञापनदाताले प्रश्न गर्ने गरेको उनले सुनाए।
यस्तै, उकालो डटकमका प्रबन्ध सञ्चालक प्याकुरेलले मिडियाले दिने सामग्रीको स्तर राम्रो हुने हो भने विज्ञापन माग्न आवश्यक नहुने बताए। उनले आफूहरू नाफा नकमाउने संस्थाका रूपमा रहेको र विज्ञापनभन्दा ‘क्राउड फन्डिङ’ मा केन्द्रित रहेको बताए।
“कन्टेन्ट दिनुपर्यो। मान्छे हामी जस्तै त हुन् नि! दिन्छन् त पैसा। मैले घरको घ्यूतेल किन्न पैसा मागेको होइन,” प्याकुरेलले भने, “तपाईंको पर्दा पछाडि के भइरहेको छ त्यो देखाउने हाम्रो प्रयास हो भनेर पैसा मागेको हो।”
अफ द रेकर्डका राणाले आफूहरूले ‘मेम्बरशिप मोडेल’ बारे सोचेको बताए। युवा पुस्ताको समाचार उपभोग गर्ने तौरतरीका बदलिएकाले अब युवालाई केन्द्रमा राखेर सामग्री तयार पार्नुपर्ने बताए।
“अहिले १८ वर्षको कलेज जाने युवाले तिर्न सक्दैन होला। तर, उनीहरूले राम्रो सूचना पाइराखे भने पाँच वर्षपछि शायद तिर्न सक्छन्। हामीले उनीहरूलाई कन्टेन्ट दिएर मात्र मनिटाइजेशनबारे सोच्नुपर्छ,” राणाले भने, “अहिले फेसबूक पेज हेरौं, तिनीहरूले टन्न पैसा कमाइरहेका छन्। उनीहरूको समाचार लाखौंले हेर्छन्। अनि हामी पत्रकारिता गर्ने भन्ने तर कसैले नपढ्ने पत्रकारिता गरेर पैसा कसरी कमाइन्छ?”
त्यस्तै, नेपाल रिपब्लिक मिडियाकी सीईओ ज्ञवालीले पहिले र अहिलेको समयलाई दाँज्दै पहिला प्रकाशक र सम्पादकबीच आर्थिक स्रोतका विषयमा नभएर समाचारलाई लिएर संवाद हुने गरेको बताइन्। अहिले भने अवस्था फरक भएको उनको भनाइ थियो।
उनले पहिला पत्रकारको स्तर पनि उच्च तहको भएको बताउँदै समाचार कक्षमा लगानी गरे वा समाचार सामग्रीको स्तर कायम गर्न पत्रकारको क्षमता अभिवृद्धि गरे आर्थिक सङ्कटको समस्या समाधान हुने बताइन्। यसलाई पुष्टि गर्न उनले न्यूयोर्क टाइम्सको ७० प्रतिशत आयको स्रोत ‘पे-वाल’ भएको बताइन्।