‘कर्ममा रमाउने मान्छेहरूका कथा देखाइरहेका छौं’
हेर्ने कथामा जहिले पनि कर्ममा रमाउने मान्छेका कथा प्रस्तुत गर्दै आएको प्रस्तोता विद्या चापागाईंले बताएकी छन्।
हिमाल मिडिया मेला २०२३ को दोस्रो दिन बिहीबारको पहिलो सत्र ‘मिडिया कथावाचन’ मा बोल्दै हेर्ने कथाकी प्रस्तोता चापागाईंले आफूले देखाउने र बनाउने कथाहरू बनाउनुको उद्देश्य छुटिरहेका आममानिसका कथा भन्नु रहेको बताएकी छन्। कथा भन्ने हुटहुटीले गर्दा नै आफूले भौतिक, सामाजिक र आर्थिक समस्या झेल्दै आए पनि कथा भन्ने क्रम रोक्न नचाहने उनको भनाइ थियो।
अहिलेसम्म १०० भन्दा बढी कथा देखाइसकेको बताउँदै उनले भनिन्, “जो मानिसलाई आफू कथा हुँ भन्ने थाहा हुँदैन, तिनै मानिसहरू हेर्ने कथाका कथा हुन्।”
उनले बीबीसीले नै कथा भन्ने सपना देखाएको सुनाइन्। कुनै समय बीबीसी नै आफ्नो सपनाको कर्मथलो भए पनि सबै मिडिया, राजनीति र प्रायः क्षेत्रमा आममानिसको कथाले स्थान नपाउने भएकाले उनले बीबीसी छाडेर आफ्नै कथा भन्ने स्थान बनाएको बताइन्।
यस यात्रामा विना योजना, पैसा र भविष्य नदेख्दै आफूसँग सहकर्मीहरू कमल कुमार र जीवन रिजालले शुरुआती दिनदेखि नै सहकर्म गरेको कुराले खुशी भएको उनले सुनाइन्। यसरी गरिएको कर्मलाई आँशु बेच्ने भनेर लाग्ने आरोपको जवाफमा चापागाईंले भनिन्, “हामीले अहिलेसम्म कर्ममा विश्वास हुने कथाहरू छानेका छौं। आँसु भन्ने कुरा पात्रहरूले हृदय खोल्दा देखिने गरेको हो।”
यससँगै उनले आफ्नो संस्थाको आर्थिक धरोहर भने दर्शकको सहयोग, विज्ञापन, भ्यूज, कन्टेन्ड पार्टनरशिप नै भएको बताइन्।
वैशाख २० देखि शुरू भएको हिमाल मिडिया मेला आजसम्म चल्नेछ। आज ६ वटा सत्रमा विविध विषयमा छलफल हुनेछ।
मेलाको उद्घाटन समारोहमा भारतको अनलाइन समाचार पोर्टल द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले मुख्य मन्तव्य राखेका थिए। मेलामा ४० वक्ता र २०० भन्दा बढी व्यक्ति सहभागी छन्।