दार्चुला हिमपहिरो: तीन जनाको शव ल्याइँदै, दुईको खोजी जारी
दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलंगा ल्याइँदै छ।
नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो। वैशाख १९ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाकी कमला कुँवर र प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले बताए। कमला र प्रवीण आमाछोरा हुन्।
“पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलंगा पठाउन सकिने अवस्था छैन,” भट्टले भने।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए। “भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौं,” उनले भने।
हिमपहिरोमा अझै दुई जना हराइरहेका छन्। हराइरहेका डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र २८ वर्षीया ईश्वरी थापाको खोजी भइरहेको छ। “वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतीक्षामा छौं,” डीएसपी भट्टले भने, “झन्डै पाँच फिट जति हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ।”
वैशाख १९ गते दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए। दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो। उनीहरू सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो। (रासस)