भूराजनीतिः नेपाल तरुल कि गोलभेंडा?
हामी तीन वटा ढुङ्गाले घेरिएका छौं। पहिला हामी तरुल थियौं। अहिले गोलभेंडा बन्न पुगेका छौं। तरुलभन्दा चनाखोपूर्ण तरीकाले उत्तर र दक्षिणलाई सम्हाल्ने भने बुझिन्छ। पाकेको गोलभेंडा भएको छ नेपाल।
हिमाल मिडिया मेला २०२३ को पहिलो दिन ‘बदलिंदो भूराजनीतिबीच मिडियाको सन्दर्भ’ शीर्षकको संवाद भयो। हिमाल साउथएशियनका सम्पादक रोमन गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा हिमाल मासिकका प्रकाशक कनकमणि दीक्षित र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा वक्ता थिए। उक्त संवादको सम्पादित अंश:
रोमन गौतमः पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेर परिभाषित गरेका थिए। वर्तमान सन्दर्भमा त्यो पत्थर दुई वटामात्रै हो कि अरू पनि छन्?
सुधीर शर्माः अहिले धेरै ढुङ्गा भइसकेका छन्। कुनै ठूला ढुङ्गा नै छन्, कुनै गिट्टी मात्रै। भारत, चीन र खासगरी अमेरिकाको नेपालमा एक खालको प्रभाव र रुचि नभएको होइन। सन् १९५० देखि नै यस्तो रुचि छ। तर, पछिल्लो समय तीन वटै देशको झन्डै झन्डै बराबरी जस्तो प्रभाव बढिरहेको छ। त्यसो त यी देशहरूले विभिन्न समयमा नेपाललाई हेर्ने दृष्टिकोण फेरिइरहेछ। अहिले भारत र अमेरिका एकातिर र चीन अर्कातिर भइरहे जस्तो देखिन्छ। त्यस हिसाबले अहिले नेपाल तीन वटा ढुङ्गाको बीचमा छ। उनीहरूको आफ्नै रुचि छ। हाम्रा लागि भने चुनौती थपिएको छ। २००७ सालदेखि नै भारत नेपालमा आफूले चाहे जस्तो राजनीति स्थापित गर्न चाहन्छ। ऊ त्यति वेलादेखि नै नेपालले चीनसँग घनिष्ठ सम्बन्ध नराखोस् भन्ने चाहन्छ।
केही वर्षयता भारतको सत्तारूढ दलको वैचारिक आग्रह, राजनीति मिसिएको हिन्दूत्व पनि मिसिएर आएको छ। चीनले जहिले पनि ‘एक चीन नीति’ को सुनिश्चितता चाहन्छ। त्यसो त नेपालले चीनको त्यो चासो सधैं सम्बोधन गरिआएको छ। तर, सन् २००८ पछि नेपालमा चीनको स्वार्थ तिब्बतमा मात्र सीमित छैन। विश्वभर बढेको उसको प्रभाव नेपालमा पनि पर्न थालेको छ। सामरिक रुचि बढेको सक्रिय चीन थेग्न हामीलाई गाह्रो परिरहेको छ। जहाँसम्म अमेरिकाको प्रसङ्ग छ, पहिला ऊ कहिले भारतसँग मिलेर त कहिले चीनसँग मिलेर आउँथ्यो। अहिले चीनसँग शीतयुद्ध शुरू भएकाले नेपालमा त्यसको प्रभाव बढ्न थालेको छ। उसका निम्ति नेपालको महत्त्व बढिरहेछ।
राज्यका रूपमा हामी धेरै कमजोर भएका छौं। पहिला यस्तो अवस्था आउँदा सामना गर्न सक्ने क्षमता थियो। अहिले निकै कमजोर भएका छौं। नीति बनाउनै नसक्ने भएका छौं। हामीसँग क्षमता नै नभएको होइन, त्यसलाई उपयोग गर्ने संयन्त्रको कमी भएको मात्र हो। विश्वभर अहिले नेपालीले ‘एक्सपोजर’ पाएका छन्। व्यक्तिगत तवरमा विश्वमञ्चमा नेपालीको उपस्थिति बढिरहेको छ, तर त्यसलाई उपयोग गर्ने सवालमा हाम्रो कमजोरी बढिरहेछ।
कनकमणि दीक्षितः नेपाली नेताहरूले आफ्नो स्वार्थका लागि नेपालको भूराजनीति दाउमा राख्छन्। मुख्यतः नयाँ दिल्लीसँगको आफ्नो सम्बन्धलाई जारी राख्न राखी बाँध्नेसम्मको काम गर्छन्। तर, त्यो सम्बन्ध आफ्नो स्वार्थका लागि हो, देशका लागि होइन। दक्षिणएशियाको सबैभन्दा पुरानो राज्य–राष्ट्र हुनुका नाताले नेपालसँग जुन सम्भावना थियो, त्यो उपयोग गर्न पाइरहेको छैन। हाम्रा नेताहरू कमजोर भएका छन्। यो सन्दर्भमा पत्रकारिताले पनि आत्मसमीक्षा गर्नुपर्ने वेला भएको छ। वर्तमान भूराजनीतिक सन्दर्भमा विश्लेषण गर्दा हामी तीन वटा ढुङ्गाले घेरिएका छौं। पहिला हामी तरुल थियौं। अहिले गोलभेंडा बन्न पुगेका छौँ। तरुल भन्दा चनाखोपूर्ण तरीकाले उत्तर र दक्षिणलाई सम्हाल्ने भने बुझिन्छ। पाकेको गोलभेंडा भएको छ नेपाल। हामी ‘एक्रोनिम्स’ हरूको नियन्त्रणमा छौं, रअ, आईबी, एमईए आदि। भारत पनि यति धेरै रूपमा सक्रिय भइरहेछ, कुन चाहिं भारत भनेर खोज्नुपर्ने स्थिति छ।
अर्कातर्फ, चीन पनि ‘एक्टिभिज्म’ बाट ‘एड्भेन्टरिज्म’ तिर गएको छ। आफूले चाहेको मानिसलाई प्रधानमन्त्री बनाउन पैसा खर्च गर्नेदेखि तथाकथित कम्युनिस्ट नामधारी पार्टीको एकीकरण गर्नमा उसको सक्रियता देखिन्छ। चीनको हाउगुजी वा डरका कारणले पश्चिमा मुलुक झनै हावी भइरहेका छन्।
यी सबैका बीच भारतको हस्तक्षेप भने बढी नै छ। तर, त्यसबारे हाम्रो मिडियाले कुरा गर्दैनन् भने कोठामा रहेको हात्तीको कुरा नगरेर परको मुसाको कुरा गरिरहेका हुन्छन्। भारतमा विश्लेषकहरू कमजोर भइरहेका हुनाले त्यहाँको सत्तालाई नेपालमा भइरहेको हस्तक्षेपलाई खबरदारी गर्न सकिरहेका छैनन्। भारतको हस्तक्षेप अहिले चुलिएको अवस्था छ। जसरी संविधान निर्माणका वेलामा लैनचौरबाट फोन आउला भनेर ‘स्वीच अफ’ गर्नुपर्ने अवस्था थियो, अहिले त्यही अवस्था छ। यो सबै गर्न दिएको नेताहरूले हो। त्यसमा मिडियाले चुनौती नदिएको भएर पनि हो। कागजी प्रमाण नभएको बहानामा नेताहरूलाई प्रश्न गरिरहेका छैनौं।
गौतमः सुधीरजी, कनकजीले नेपालको अवस्था टमाटर जस्तो भन्नुभयो। तपाईंको धारणा के हो? त्यस्तै भूराजनीतिक मामिलामा मिडियाको भूमिका के छ?
शर्मा: कनक दाइले अलि निराशा व्यक्त गर्नुभयो। यति धेरै निराश हुनु पर्दैन जस्तो लाग्छ। हामी तरुल नै छौं, टमाटर भइसकेका छैनौं। सङ्कट छ, तर त्यसको आयतन कति छ भन्ने छुट्याउनुपर्छ। लियो ई. रोजले स्ट्राटेजी फर सर्भाइभलमा लेखेभन्दा पर जान सकेका छैनौं। हाम्रो रणनीति अस्तित्व रक्षा नै हो। तर, यो नयाँ समस्या आफैंमा होइन। नेपालले भारतसँग कस्तो सम्बन्ध राख्ने भन्ने अहिलेसम्म स्पष्ट नै भएको छैन। बीपी कोइराला र टंकप्रसाद आचार्यले अलिकति स्वतन्त्र ढङ्गले जाने प्रयत्न गरेका थिए। महेन्द्रको प्रयोग अप्रजातान्त्रिक भएकाले असफल भयो। अहिलेको संवैधानिक व्यवस्थाले एउटा दलले सरकार बनाउन सक्ने अवस्था छैन। गठबन्धन संस्कृतिमा निर्भर हुनुपर्ने भएकाले भारत बलियो भएको छ।
मिडियाको चर्चा गर्दा हाम्रा कमीकमजोरी धेरै छन्। हाम्रो व्यावसायिक पत्रकारिताको अभ्यास पुरानो छैन। २०-२५ वर्षको मात्र हो। तर, यो धेरै उदार छ। अहिले हामीले गरिरहेको छलफल भारतमा गर्न सम्भव छैन। भारतको आँखामा नेपालका मिडिया सबै चीनपक्षधर छन् भन्ने छ। चीनको आँखामा नेपालका मिडिया अमेरिकाको कब्जामा छन्। चीन, भारत र अमेरिका सबैको बुझाइ फरक छ। तर, मिडियाले आफ्नो भूमिका पूरा गरेको छ, चाहे त्यो नाकाबन्दीको वेलामा होस् वा अन्य घटनामा। नाकाबन्दीको वेलामा मिडिया अगाडि थिए। कतिपय पार्टीले त नाकाबन्दी भन्न पनि सकिरहेका थिएनन्। त्यसैले ‘कभरेज’ नै नभएको होइन। कहिलेकाहीं हुनुपर्ने जति नभएको होला। तर, समग्रमा नेपालका मिडियाले आफू स्वतन्त्र ढङ्गले लेख्न सक्छौं भन्ने अवस्था छ। भारतमा जस्तो मिडियालाई बोलाएर ‘लाइन’ दिने प्रचलन छैन नेपालमा। तर, भूराजनीतिको मामिलामा हामीले राजनीतिक विषयमा मात्रै ध्यान दिइरहेछौं। अन्य पाटोलाई ध्यान दिइरहेका छैनौं।
दीक्षितः मलाई चाहिं नेपालको अवस्था टमाटर नै हो भन्ने लाग्छ।
शर्माः त्यसो भन्दा निराशा हुन्छ कि भन्ने लाग्छ। निराशा नबाडौं मात्रै भनेको हो।
शर्माः आत्मसमीक्षा भनेको यथार्थ चित्रण गर्ने हो। हामी तरुल भए पनि हुन्छ, टमाटर भए पनि हुन्छ, तर अरूलाई आफ्नो कुरा सुनाउन सक्ने हुनुपर्छ। संसारलाई हामीले आफ्नो सफ्ट पावर (सौम्य शक्ति) बुझाउनै सकिरहेका छैनौं। यो मिडियाको सन्दर्भमा मात्र लागू हुँदैन। सोसल साइन्टिस्टहरूले पनि आत्मविश्वासपूर्वक आफूलाई विश्वमञ्चमा प्रस्तुत गर्न सकिरहेका छैनन्। रणनीतिक अध्ययन गर्ने नेपालका सोसल साइन्टिस्टहरू मिडिया जस्तै असफल भएका छन्। उदाहरणका लागि नेपालका जलविद्युत्हरूमा भारतीय कम्पनीको एकलौटी भइरहेछ। एकताका अस्ट्रियन, क्यानेडियन, चिनियाँहरू आइरहेका थिए। अहिले उनीहरू फर्किरहेका छन्। मिडियाले यसबारे त लेख्ला। तर, यसलाई ‘डिस्कोर्स’ को विषय कसरी बनाउने? सूचना आए पनि राजनीतिक दलले बहसको विषय बनाइरहेका छैनन्।
अघि (मुख्य मन्तव्यमा) सिद्धार्थ वरदराजनले ‘नेपाल दक्षिणएशियाको मिलनबिन्दु हो’ भन्नुभयो। मेरो तर्क छ, नेपाल आफ्नो आर्थिक उन्नतिका लागि खुला समाज रहिरहनुपर्छ। त्यस्तै दक्षिणएशियाको मिलनबिन्दु हुनका लागि पनि नेपाल खुला समाज नै हुुनुपर्छ। नेपाली मिडियाले हाम्रो ‘सफ्ट पावर’ बारे बुझाउन सक्नुपर्छ।
अहिले बढिरहेको अर्को चुनौती हिन्दूत्वको राजनीति हो। हिन्दूत्वको अर्थ हो, राजनीतिक रूपमा हिन्दू धर्मको प्रयोग। नेपालमा हिन्दूत्व प्रवेश गरिरहेछ। कसैलाई भने यो छिरोस् र अहिले भइरहेको व्यवस्था ढलोस्, त्यसपछि जेसुकै होस् भन्ने छ। सन् २०२४ को निर्वाचन जित्नका लागि मोदी र अमित शाह नेपालमा हिन्दूत्वको प्रयोग गर्न चाहन्छन्। पत्रकारिताले त्यसलाई उजागर गर्नुपर्छ। पत्रकारको काम यसले यस्तो भन्यो, उसले त्यस्तो भन्यो भनेर कोट गर्ने मात्र होइन आफ्नो विचार दिने पनि हो।
प्रश्नोत्तर:
अमित ढकाल (सेतोपाटी): नेपाल टमाटर कि तरुल भन्ने छलफल चल्यो। म एकदुई वटा उदाहरण दिन्छु। २०६३ वैशाख ८ मा हामीले राजाको प्रस्ताव मानेनौं। भारत र बाँकी विश्वले भन्दा हामीले मानेनौं। संविधान जारी गर्दा पनि हामीले मानेनौं। त्यति वेला सुशील कोइरालालाई भारतले प्रधानमन्त्री बनाउन चाहन्थ्यो, हामीले मानेनौं। चीनसँगको पारवहन सन्धि भारत चाहँदैनथ्यो, हामीले गर्यौँ। लिम्पियाधुरा लिपुलेक सहितको चुच्चे नक्शा पनि हामीले भारतले नमान्दा नमान्दै संसद्बाट पारित गर्यौं। त्यसपछि ओलीले भारतसँग नजिकिन खोजेको देखिन्छ। त्यसपछि भारतले उनले गरेको संसद् विघटनको समर्थन गर्यो। चुनावमा जान भारतले दबाब दिंदा पनि देउवाले संसद् विघटनको विरोध गरे। हाम्रा नेताहरूले आफ्नो स्वार्थ बाझिंदा भारत, चीन र अमेरिकाले नमानेको थुप्रै उदाहरण छन्। उनीहरू पनि नेपाललाई कसरी ‘ह्यान्डल’ गर्ने भन्नेमा अलमलिएका छन्। भारतले नेपाललाई चीनले खायो भन्छ। चीनले भारतले नेपाललाई खायो भन्छ। अर्थात् नेपाललाई कसैले खाएको छैन। हामी विदेश नीतिको विषयमा सबै देशको उचित स्वार्थ स्विकार्छौं, सामरिक रूपमा असंलग्न नै रहन्छौं र आर्थिक हितको सुरक्षामा हामी एक ठाउँमा उभिन सक्छौं कि सक्दैनौं?
लेखनाथ पाण्डे: अलि अगाडि जर्मन राजदूतले ‘चीनमा समाचार बन्छ, नेपालमा छापिन्छ’ भने। कसको कमजोरी हो यो?
दिनेश पन्त (नयाँ पत्रिका): कूटनीतिको कुरा आउँदा हिन्दूत्वको कुरा आयो। हिन्दूत्वको ‘प्रोजेक्ट’मा मिडिया पनि संलग्न भए जस्तो देखिन्छ। एकदुई महीनाअघि नेपालबाट पत्थर लगिएको थियो। त्यो पत्थर लगिंदा नेपालका मिडियाले किन प्रश्न उठाएनन्? जनकपुरमा मस्जिद अगाडि तरबार उठाएर जय श्री राम भन्दा किन मिडियाले कभरेज गरेन?
जर्नादन बराल (सेजन): हामीले आफ्नो हित कत्तिको पूरा गर्यौं भनेर किन छलफल हुँदैन? हामी कहाँ हुने भन्ने महत्त्वपूर्ण हो।
मीनेन्द्र रिजाल (नेपाली कांग्रेस): संविधान बनाउँदाको हठयोगी सुशील कोइराला हो। उनलाई भारतले प्रधानमन्त्री बनाउन खोजेको मात्र भन्दा तथ्य फरक पर्छ कि?
सन्तोष परियार (राष्टिय स्वतन्त्र पार्टी): भारत र चीनलाई हामी कति महत्त्वपूर्ण छौं भनेर पनि डिस्कोर्स गर्न सक्छौं कि?
सुधीर शर्माः मलाई लाग्छ, अहिलेको पुस्ताको नेतृत्वले भूराजनीतिको संवेदनशीलता बुझेको छ। हामी नेताहरूलाई भारतपरस्त, चीनपरस्त भन्ने ‘लेबल’ लगाउँछौं, तर ‘प्रोइन्डिया’ भनेको नेता वा सरकारले पनि भारतबाट फाइदा लिन सकेको देखिंदैन। हाम्रा नेताहरूले आफ्नो मात्रै स्वार्थ हेरे, त्यही नै हाम्रो समस्या हो। नयाँ पुस्ताको नेतृत्वले, नयाँ खालका राजनीतिक शक्तिले कसरी यी विषयलाई लिन्छन् भन्ने मेरो रुचि छ। हाम्रा नेताहरूले किन एउटा लक्ष्मणरेखा तय गर्न सकेका छैनन्?
हामी संस्थागत हिसाबले जान सकिरहेका छैनौं। संस्थागत हिसाबले बलियो हुन नसक्दा विदेश नीति बलियो बन्न सकेकोे छैन। हाम्रो समाज ठूलो संक्रमणबाट गुज्रिरहेको छ। त्यसले पनि हाम्रो चेतमा प्रभाव पारिरहेछ कि?
२००७ सालपछिको वैदेशिक नीतिमा भएको विविधीकरणले पनि नेपालको विदेश नीति सुदृढ बढाउन काम गरेको छ। यो विविधतालाई बिर्सन भएन। नेपाल जस्तो तुलनात्मक रूपले सानो देशले विविधतालाई ध्यान नदिंदा भविष्यमा झन् ठूलो सङ्कटमा पर्न सक्छौं। इतिहासमा कुनै वेला चीन र तिब्बतको युद्ध हुँदा मध्यस्थ गर्ने र मध्यस्थको कागजमा हस्ताक्षर गर्ने नेपाली नै थिए। अहिले हाम्रो भूमिका साँघुरिएको छ।
भारतमा बढिरहेको हिन्दूत्व र हाम्रो हिन्दू धर्मबीच आधारभूत रूपमै फरक छ। भारतको हिन्दूत्व नेपालमा छिर्दै छ। त्यसलाई कसरी ‘कभर’ गर्ने भन्ने विषय छलफलकै क्रममा छ। कहिलेकाहीं सानो घटनालाई ठूलो ‘कभरेज’ गर्दा झनै बढ्ने खतरा छ।
कनकमणि दीक्षितः सन्तोषजीले प्रतिरक्षात्मक भयौं भन्नुभयो। कसरी प्रतिरक्षात्मक भयौं र? यथार्थ कुरा भन्दा प्रतिरक्षात्मक भएका हुँदैनौं। नेपाल सानो देश हो अरूको चासोमा कत्तिको पर्ला र भन्ने चिन्तन नै लघुताभास हो।
अमितजीले भारतीय चुनौती सामना गरेका विभिन्न उदाहरण दिनुभयो। चुनौती त आएकै रहेछन्। चुनौती चुलिएको छ। विदेशीहरूको हस्तक्षेप बढेको छ। भारत लागिपरेको छ। उदाहरणका लागि लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त गर्न कसले दबाब दिएको थियो? भारतको हस्तक्षेप बढिरहेको छ भन्न डराउनु पर्दैन। घरीघरी लड्नुपर्ने अवस्था चाहिएको छैन भन्न सक्नुपर्यो। मैले सिक्किमीकरणको कुरा गरिरहेको छैन। नेपालको राजनीतिक भाष्य कसरी बनाउन खोजिंदै छ भन्ने चर्चा गरेको हो।