समाचारकक्ष समावेशी बनाउनुपर्नेमा जोड
सञ्चारमाध्यमले समाचारकक्षलाई समावेशी र विविधायुक्त बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।
हिमाल मिडिया मेलामा ‘सबैलाई समेट्ने समाचारकक्ष’ सम्बन्धी अन्तरक्रियामा बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले नेपाली समाचारकक्षमा समावेशी र विविधता सन्तोषजनक हुन नसकेको बताए। “भविष्यमा समाचारकक्षमा समावेशिता आउने र विविधता हुनेछ भनेर विश्वास गर्न सकिन्छ, तर वर्तमानमा हामीले त्यो ठीकसँग अभ्यास गर्न सकेका छैनौं,” उनले भने।
समावेशिता र विविधता सम्बन्ध र शक्तिसँग जोडिने भएकाले यो हस्तान्तरण गर्न सहज नभएको उनको धारणा थियो। उनले भने, “समाचारकक्षसँगै समाचारका सामग्रीमा विविधता छैन, जुन समुदायको विषय छ, त्यसमा सोही समुदायले जति आत्मसात् अरू समुदायले गर्न सक्दैन, सिद्धान्त अनुसार समाचारकक्षमा त्यो कार्यान्वयन हुन सकेको छैन।”
त्यस्तै, अन्तरक्रियामा बोल्दै पत्रकार पवित्रा सुनारले विकास संवाहक मिडिया समावेशी नहुँदा समाचार सामग्रीमा विविधता नआउने बताइन्। समाचारकक्ष पूर्ण रूपमा समावेशी हुन सके मात्र सीमान्तीकृत समुदायका विषयले प्राथमिकता पाउने उनको भनाइ थियो। “पहिलेको तुलनामा समाजको चरित्र केही फेरिए पनि कानून र व्यवहारमा सन्तुलन आउन सकेको छैन, अधिकारसम्पन्न नभएसम्म समावेशी र विविधता पूर्ण हुँदैन,” उनले भनिन्।
अर्को वक्ता एवं सञ्चारविद् यमबहादुर दुराले विविधता गहन, व्यापक र जटिल विषय भएकाले छुमन्तर शैलीमा तत्काल लागू गर्न नसकिने बताए। उनले समावेशी र विविधतापूर्ण समाचारकक्ष विकसित देशहरूमा पनि नभएको उल्लेख गर्दै विविधता आउन लामो यात्रा बाँकी रहेको बताए।
समावेशी र विविधतायुक्त समाचारकक्ष बनाउने जिम्मेवारी सबैको भएको उनीहरूको भनाइ थियो। यसका लागि सरकारले नीति नै बनाएर लागू गर्नुपर्नेमा उनीहरूको जोड थियो।