‘मिथ्या सूचना र गलत समाचार चिरफार गर्न मिडिया नै लाग्नुपर्छ’
मिथ्या सूचना र गलत समाचारको चिरफारमा मिडिया नै लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
हिमाल मिडिया मेलाको ‘मिथ्या सूचना, तथ्य समाचार’ सत्रमा बोल्दै पत्रकार शिव गाउँलेले अबका दिनमा पत्रकारिता गर्न परम्परागत बुझाइले मात्र नपुगेर प्रविधिको पनि ज्ञान तथा सीप आवश्यक भएको बताए। पत्रकारले प्राप्त जानकारीलाई आफूले पनि पुन:पुष्टि गर्नुपर्ने दिन आएको गाउँलेको भनाइ थियो।
“विगतमा स्रोतमा भर पर्दा मात्र पनि हुने दिन थियो, अब त्यो जमाना रहेन,” उनले भने, “अब पाठकलाई सूचना प्राप्त भएको जानकारी मात्र दिएर हुँदैन, त्यो समाचार कहाँबाट आएको हो त्यो पनि खुलाउनुपर्ने भएको छ।”
मिडियालाई वस्तुनिष्ठ र तटस्थ हुनुपर्ने चुनौती अहिले मात्र होइन, शुरूआती कालदेखि नै विद्यमान रहेको स्मरण गराउँदै पत्रकार गाउँलेले भने, “हामी क्लिक र भ्यूजको लोभमा प्रतिस्पर्धा गर्नुनपर्ने समाचार दिन पनि अनावश्यक रूपमा प्रतिस्पर्धा गरिरहेका छौं र हाम्रो यो प्रवृत्तिले फ्याक्ट चेकको पाटो छुट्दै जाँदा मिडियामाथि नै अविश्वसनीयता बढ्दै गएको छ।”
मिडियाको काम गराइ हेर्दा समाचार र सूचना नै नछुट्टिने सामग्री धमाधम प्रकाशित भइरहेको उनको भनाइ थियो। पत्रकारलाई तिखार्न समाचार संस्थाले तालीम र अभिमुखीकरणको नियमित कार्यक्रम गर्न लगानी गर्नुपर्ने उनको तर्क थियो।
पत्रकारिताको उद्भव नै प्रविधिको विकाससँगै भएको स्मरण गराउँदै अर्का वक्ता सञ्चारकर्मी दीपक अधिकारीले प्रविधि र माध्यम परिवर्तन भए पनि पत्रकारिताको आधारभूत मान्यता सधैं उही नै रहने हुँदा गलत सूचना र मिथ्या सूचनाको जालो चिर्न सञ्चारमाध्यमहरू पनि गम्भीर हुनुपर्ने धारणा राखे। “सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना र गलत समाचारले पार्न सक्ने प्रभाव विरुद्ध पनि मिडियाले काम गर्नुपर्ने हुन्छ,” उनले भने, “यो त सामाजिक सञ्जालमा आएको कुरा हो भनेर पन्छिन मिल्दैन।”
डिजिटल मिडियाको विस्तारसँगै प्रिन्ट मिडिया मृत सरह भएको जिकिर गर्दै उनले परम्परागत भनिएका माध्यमले पनि गलत सूचना प्रवाह गरिरहेको बताए। “पेशाको मर्यादा जोगाउन गर्नुपर्ने कुराहरू गर्नुपर्यो,” अधिकारीले भने, “फ्याक्ट चेक पनि नगरिंदा गलत तथ्य समाचारमा आइरहेका छन्। अर्को कुरा समाचार प्रभावकारी बनाउन स्टोरी टेलिङमा पनि हामी चुक्दै गइरहेका छौं भने ‘ग्राउन्ड रिपोर्टिङ’ पनि कम हुँदै गएको छ।”
उनले पत्रकारिता कर्म नै ‘हार्ड न्यूज’ मा मात्रै केन्द्रित हुन थालको र मिडियामा ‘ओपिनियन’ ले बढी ठाउँ ओगट्दै लगेको औंल्याए। नेपालमा सञ्चार क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले सबै सरोकारवालाले मिल्न सक्ने जति ठाउँमा मिलेर खोजमूलक समाचार उधिन्ने तथा पत्रकारिता क्षेत्रमा सहकार्य गर्नुपर्ने सुझाव राखे।
‘कपी-पेस्टकारिता’ ले सञ्चार संस्थाको साख खस्किइरहेका तर्क गर्दै अर्का वक्ता डिजिटल राइट नेपालका सन्तोष सिग्देलले नेपालमा डिजिटल माध्यमलाई कसरी अघि लाने भन्ने विषयमा सरोकारवालाले गम्भीर रूपमा छलफल गरेर नीतिनिर्माण गर्न ढिला भइसकेको बताए। सूचना प्रविधिले दिएको अवसर मार्फत मान्छेका वैयक्तिक सूचनाको अत्यधिक सङ्कलन र त्यसको विश्लेषणले गलत भाष्य निर्माण गर्दै निश्चित तह र तप्काको समुदायले प्रभाव पार्ने काम भइरहेको उनको भनाइ थियो।
डिजिटल माध्यमलाई नियमन गर्ने विषयमा धेरैभन्दा धेरै बहस हुनुपर्ने तथा यसलाई व्यवस्थित गर्न नीति बनाउन सरोकारवाला गम्भीर हुनुपर्ने सिग्देलको राय थियो।
हिमालमिडियाले आयोजना गरेको मिडिया मेलाको पहिलो दिनको ‘मिथ्या सूचना, तथ्य समाचार’ विषयमा उनीहरूसँग पत्रकार सजना बरालले संवाद गरेकी थिइन्।