मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा बुधबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए।
मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेश मार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।
सूदखोरलाई कारबाही गर्न माग गर्दै पीडितहरू लामो समयदेखि आन्दोलनमा छन्। उनीहरू तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन्।