एउटाको नाममा रहेको खानी अर्कैलाई दिलाएको विषय सर्वोच्चमा
एउटाको नाममा रहेको खानी खोजतलासको अनुमति कर्मचारीको मिलेमतोमा अर्कैलाई दिएको प्रकरणमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
आफ्नो नाममा रहेको चुनढुङ्गा खोजतलासको लाइसेन्स खानी विभागले बदनियतपूर्वक अरूलाई दिएको भन्दै लक्ष्मी विष्टले सर्वोच्चमा रिट दायर गरेकी हुन्। रिटको पेशी वैशाख २१ मा तोकिएको छ।
धादिङको गजुरीस्थित १.६१ वर्ग किलोमिटर क्षेत्रमा रहेको चुनढुङ्गाको खोजतलास अनुमतिपत्र २०७५ फागुन २६ गते चार वर्षका लागि मकवानपुरकी विष्टको नाममा जारी भएको थियो। अवधि सकिएको भन्दै विभागले वासुदेव धिक्तालाई खोजतलासको अनुमति दिएपछि विष्टले अदालत गुहारेकी हुन्। विभागले चैत १५ गते विष्टको अनुमतिपत्रको अवधि सकिएको भन्दै रद्द गरेको पत्र काटेको थियो।
तर, विष्टले भने नवीकरणका लागि दिइएको आफ्नो फाइल लुकाएर विभागका कर्मचारीले मिलेमतोमा धिक्तालाई दिएको दाबी गरेकी छन्। खोजतलास अनुमतिपत्र बर्सेनि नवीकरण गर्नुपर्ने नियम छ। यही नियम अनुसार विष्टले गत असोज ३१ गते दस्तुर तिरेर नवीकरणका लागि विभागमा निवेदन दिएकी थिइन्। यसबारे विभागले निर्णय नगरी फाइल लुकाएर धिक्तालाई अनुमतिपत्रको स्वामित्व दिएको आरोप छ।
यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ।