हिमाल मिडिया मेला शुरू
सञ्चारजगत्का अनेक आयाम र चुनौतीबारे अन्तरक्रिया गर्न काठमाडौंमा हिमाल मिडिया मेला २०२३ शुरू भएको छ।
हिमालमिडिया प्रालिले आयोजना गरेको मेलामा भारतका पत्रकार सिद्धार्थ वरदराजनको विद्वत् प्रवचन रहेको छ। मेलामा मिडिया सम्बन्धी विभिन्न सत्रमा छलफल हुनेछ।
पत्रकारिता जगत्का जल्दाबल्दा विषयमा बहस हुने मेला आयोजक समितिका अध्यक्ष कुन्द दीक्षितले बताए। यो हिमाल मिडियो मेलाको दोस्रो संस्करण हो।
मेलामा बदलिंदो भूराजनीतिबीच मिडियाको उपस्थिति, मिथ्या सूचना र तथ्य समाचार, सबैलाई समेट्ने समाचार कक्ष, मिडिया कथावाचन, पत्रकार र जलवायु सङ्कट, खोज पत्रकारिताको खोजी, मिडिया आत्मसमीक्षा लगायत शीर्षकमा अन्तरसंवाद हुनेछ।
काठमाडौंको होटल याक एन्ड यतीमा शुरू भएको मेला दुई दिनसम्म चल्नेछ। मेलामा ११ वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। छलफलमा ४० जना वक्ता र विभिन्न क्षेत्रका २०० भन्दा बढी व्यक्ति सहभागी छन्।