‘सरकारले सामाजिक मुद्दाहरूको संवेदनशीलतालाई बेवास्ता गर्छ’
सरकारले सार्वजनिक मुद्दाहरूको महत्त्व र संवेदनशीलतालाई बेवास्ता गर्दै आएकाले जवाफदेही हुन नसकेको भारतीय पत्रकार गोविन्दराज इथिराजले टिप्पणी गरेका छन्।
हिमाल मिडिया मेला–२०२३ को पूर्वसन्ध्यामा पाटनढोकामा आयोजित अन्तरक्रियामा बोल्दै इथिराजले ‘डेटा जर्नालिज्म’ लाई प्रविधिले सजिलो बनाउँदै लगेको बताए। “निर्णय गर्ने तहका मान्छेहरूलाई सूचनाको अभाव हुँदैन, तर उनीहरूले त्यसको संवेदनशीलतालाई बुझ्न चाहँदैनन्। त्यसैले सञ्चारकर्मीको काम नै उपलब्ध सूचनाका आधारमा बृहत्तर हितका लागि निर्णय गर्न मार्गप्रशस्त गर्नु हो,” इथिराजले भने।
भारतमा ‘डेटा जर्नालिज्म’ को शुरूआत गर्ने पत्रकार इथिराजले सरकारी निकाय आफूमाथि कसैले पनि कुनै प्रकारको प्रश्न नगरोस् भनेर सूचना लुकाउन उद्यत हुने बताए। तथ्याङ्कले वस्तुस्थिति बुझ्न सहयोग गर्ने बताउँदै उनले भने, “डेटा जर्नालिज्मले सरकारलाई पनि फाइदा नै हुने हो, तर पनि वेलावेला मिडिया सरकारको तारो बन्छ।”
सार्वजनिक खपतका लागि जारी गरिने सूचना प्रवाहमा समस्या भएमा कहीं न कहीं केही न केही गडबड छ भन्ने बुझ्नुपर्ने उनको भनाइ थियो। “भारतमा प्रत्येक १० वर्षमा हुनुपर्ने जनगणना गर्न सरकार अग्रसर छैन, किनभने जनगणनाबाट आउने तथ्याङ्कले सरकार झस्किन सक्छ। यसो हुनु भनेको त समाज नै अन्धकारमा रहनु हो।”
तथ्याङ्कको अभावमा गलत तथ्य स्थापित हुने औंल्याउँदै उनले तथ्याङ्कले सत्यलाई पुन:परिभाषित गर्न सहयोग गर्ने पनि बताए। “डेटाले कहिल्यै नसोचिएको आधार प्रस्तुत गर्दै नयाँ बुझाइ बन्न सघाउँछ। त्यसले त सरकार मात्रै होइन, हामी सबैलाई सहयोग नै गर्ने हो नि,” इथिराजले भने।
सामाजिक सञ्जालमा ‘भाइरल’ हुने गलत सूचनाका प्रवाह विरुद्ध लड्न सम्भव भएसम्म त्यस्ता सूचनाको स्रोतमै पुगेर प्रतिवाद गर्नुपर्ने र सामाजिक सञ्जालको आधिकारिक निकायसँगको समन्वयमा गलत सूचनाको प्रवाहलाई रोक्न प्रयास गर्नुपर्ने उनको धारणा थियो। “कोही असत्यलाई नै पत्याउन चाहन्छ भने हामी के नै गर्न सक्छौं र? यद्यपि हाम्रो प्रयास भने सदैव सत्य के हो भन्ने स्थापित गर्न केन्द्रित हुनुपर्छ। त्यो काममा भने हामी चुक्नु हुँदैन,” उनले भने।
पत्रकार कुन्द दीक्षितको प्रश्नको जवाफमा इथिराजले च्याट–जीपीटी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले चुनौती दिए जस्तो देखिए पनि त्यसले पत्रकारितालाई विस्थापित गर्न नसक्ने धारणा राखे। पत्रकारको स्रोतमाथिको शास्त्रीय सिद्धान्तको महत्त्वलाई पुन:स्मरण गराउँदै इथिराजले भने, “च्याट–जीपीटी लगायतले इन्टरनेटमा कतै न कतै प्रकाशित भएको सामग्रीलाई नै पुनःप्रशोधन गर्ने हो। ती सामग्रीको विश्वसनीयताको ग्यारेन्टी पत्रकारले गर्नुपर्ने हुँदा यी नयाँ माध्यम पत्रकारितामा सहायक भए पनि मूलधारकै रूपमा स्थापित होलान् भन्ने मलाई लाग्दैन।”
समाचारलाई विश्वसनीय र पठनीय बनाउन मानवीय भावना र मूल्यलाई समावेश गर्नुपर्ने हुँदा विगतमा जस्तै अहिले पनि पत्रकारलाई कथा भन्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो।
भारतीय अर्थ तथा वाणिज्य विषयमा २५ वर्षदेखि पत्रकारिता गर्दै आएका इथिराज इन्डियास्पेन्ड, फ्याक्टचेकर र बूम लगायत संस्था मार्फत सार्वजनिक चासोका मुद्दा स्थापित गर्ने पत्रकारितामा केन्द्रित छन्। यी संस्था मार्फत उनले समाचारको पारदर्शिता, शुद्धता र तटस्थताको पक्षमा काम गर्दै आएका छन्।
इथिराजले बुधबार हिमाल मिडिया मेलामा ‘डेटा जर्नालिज्म’बारे बोल्नेछन्।