भोलिदेखि हिमाल मिडिया मेला (कार्यक्रमको सूची)
हिमालमिडिया प्रालिको आयोजनामा हिमाल मिडिया मेला-२०२३ बुधबारदेखि काठमाडौंमा शुरू हुँदै छ।
बुधबार र बिहीबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा हुने मेलामा पत्रकारिता जगत्का जल्दाबल्दा विषयमा अन्तरसंवाद हुने आयोजक समितिका अध्यक्ष एवं हिमालमिडियाका सहसंस्थापक कुन्द दीक्षितले बताए। यो हिमाल मिडिया मेलाको दोस्रो संस्करण हो। हिमालमिडिया २५ वर्ष पुगेको अवसरमा गत वर्षदेखि मेला आयोजना गर्न थालिएको हो।
दीक्षितका अनुसार यो वर्ष दुई दिनसम्म ११ वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। छलफलमा ४० जना वक्ता र विभिन्न क्षेत्रका २०० भन्दा बढी व्यक्ति सहभागी हुनेछन्।
मेलामा भारतको द वायर अनलाइन समाचार पोर्टलका संस्थापक सम्पादक सिद्धार्थ बरदराजनले मुख्य मन्तव्य दिनेछन्। शोरेनस्टेन जर्नालिज्म अवार्ड (२०१७) र रामनाथ गोयन्का अवार्ड (२००८) प्राप्त गरिसकेका बरदराजन द हिन्दू दैनिकका पूर्व सम्पादक हुन्। गत वर्षको मेलामा भारतका चर्चित पत्रकार रवीश कुमारले मुख्य मन्तव्य राखेका थिए।
त्यस्तै, यो वर्ष इन्डियास्पेन्डका संस्थापक गोविन्दराज इथिराजले विशेष मन्तव्य राख्नेछन्। भारतमा डेटा जर्नालिज्मको शुरूआत गरेका इथिराज पिंक डिजिटल ब्रोडकास्टका पनि सहसंस्थापक हुन्।
यससँगै सिंगापुरका पत्रकार रिशाद पटेलको पनि विशेष मन्तव्य रहनेछ। उनी स्लाइस मिडियाका सहसंस्थापक हुन्।
मेलामा बदलिंदो भूराजनीतिबीच मिडियाको उपस्थिति, मिथ्या सूचना र तथ्य समाचार, सबैलाई समेट्ने समाचार कक्ष, मिडिया कथावाचन, पत्रकार र जलवायु सङ्कट, खोज पत्रकारिताको खोजी, मिडिया आत्मसमीक्षा लगायत शीर्षकमा अन्तरसंवाद हुनेछ।
कार्यक्रमको सूची: