अंग्रेजी माध्यमले चम्काएको सामुदायिक विद्यालय
अंग्रेजी माध्यमबाट पठनपाठन गर्न थालेको झापाको दीपेन्द्र प्राविमा पाँच वर्षको अन्तरमा विद्यार्थी संख्या पाँच गुणा बढेको छ।
६ वर्षअघिको कुरा हो- झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४, ऐनाबारीमा रहेको दीपेन्द्र प्राथमिक विद्यालयमा पढाइ राम्रो नभएको भन्दै अभिभावकहरूले धमाधम आफ्ना छोराछोरी निकाल्न थाले। २०७४ को शैक्षिक सत्र सकिंदा विद्यालयमा ७४ जना विद्यार्थी मात्र बाँकी रहे।
विद्यालयमा अधिकांश मेचे समुदायका विद्यार्थी थिए। अभिभावकले बढी पैसा लागे पनि निजी विद्यालयमै छोराछोरी पढाउने भन्न थाले। विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यलाई छटपटी भयो। विद्यालयको प्रगति प्रतिवेदन गाउँपालिकामा बुझाउन समेत लाज भयो।
समस्या समाधान गर्न आचार्यले २०७५ सालको शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा पढाउने प्रस्ताव विद्यालय व्यवस्थापन समिति समक्ष राखे। समितिका तत्कालीन अध्यक्ष बिसुलाल मेचेले उनको प्रस्तावमा साथ दिए। व्यवस्थापन समिति, अभिभावक संघ र गाउँपालिकाले पनि विद्यालयलाई अंग्रेजी माध्यमबाट मात्रै पठनपाठन गर्न स्वीकृत दियो।
तर, स्वीकृतिभन्दा महत्त्वपूर्ण चाहिं विद्यार्थी पाउनु थियो। “हामीले त्यो साल गाउँ गाउँमा तपाईंहरूका छोराछोरी एक वर्षका लागि भए पनि हाम्रो विद्यालयमा पढाउन दिनुहोस् भनेर हात जोडेर अनुरोध नै गर्यौं। घर घरमा गएर विद्यार्थीहरू माग्यौं,” आचार्य भन्छन्। र, यहींबाट शुरू भयो दीपेन्द्र प्राथमिक विद्यालयको उन्नतिको यात्रा।
नर्सरीको कक्षाकोठा
अंग्रेजी भाषाको आकर्षण
२०७५ सालको शैक्षिक सत्रबाट विद्यालयमा अंग्रेजी माध्यमबाट मात्रै पठनपाठन हुन थाल्यो। सोही साल नमूना बाल मन्टेश्वरी परियोजनामा विद्यालय छानियो। एयर कन्डिशन सहितको बाल मन्टेश्वरी लागू भएपछि विद्यालयमा बालबालिकाहरूको संख्या पनि बढ्यो।
साना बालबालिकालाई खेल्नका लागि पनि पर्याप्त सामग्री भएपछि उनीहरू घरमा भन्दा कक्षाकोठामा रमाउन थालेको बाल शिक्षिका यशोदा निरौला बताउँछिन्। यशोदालाई २०७५ सालको बाल दिवसमा हल्दिबारी गाउँपालिकाले उत्कृष्ट ‘बाल शिक्षिका’ का रूपमा समेत पुरस्कृत गरेको थियो। यी पक्षले पनि रित्तिन लागेको विद्यालयमा विद्यार्थी भर्नादर बढायो। पढाइ राम्रो नभएको भन्दै निकाल्ने अभिभावकहरू नै आफ्ना सन्तान भर्ना गराउन थाले।
“आफ्नो विद्यालय गाउँपालिकाकै राम्रो शिक्षा दिने विद्यालय भएको दाबी गर्न पाउँदा पनि मनमा आनन्द मिल्दो रहेछ,” प्रधानाध्यापक आचार्य भन्छन्, “अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालय खोज्दै हिंडेका अभिभावकले गाउँमै सामुदायिक विद्यालयमा आफ्ना सन्तान अंग्रेजीमा पढाउन पाए। अभिभावकको चाहना र हाम्रो विद्यालयलाई उत्कृष्ट बनाउने उद्देश्य पनि एक हदसम्म पूरा भएकोमा सन्तुष्टि छ।”
हल्दिबारी गाउँपालिकाले निकाल्दै आएको शैक्षिक उपलब्धिका आधारमा पछिल्ला तीन वर्षदेखि दीपेन्द्र प्राथमिक विद्यालय पहिलो स्थानमा छ। विद्यालयका शिक्षक अर्जुन भट्टराईका अनुसार गाउँपालिकाले शैक्षिक उपलब्धि, विद्यार्थी संख्या र बाह्य क्रियाकलापलाई आधार मानेर प्रत्येक वर्ष विद्यालयहरूको मूल्याङ्कन गर्दै आएको छ। भौतिक रूपमा केही कमजोरी अझै भए पनि गुणस्तरका आधारमा विद्यालय अब्बल र प्रतिबद्ध भएको भट्टराईको दाबी छ।
प्रधानाध्यापक दीर्घराज आचार्य
दीपेन्द्र प्राविमा अहिले नौ जना शिक्षक छन्। विद्यालयले यस वर्षबाट कक्षा ७ सम्म पढाउन शुरू गरेको छ। विद्यार्थी संख्या पनि ३७५ पुगेको छ। वैशाख विद्यार्थी भर्नाको महीना भएकाले संख्या अझै बढ्न सक्ने अनुमान छ।
विद्यालयका शिक्षकहरूकै लगानीमा दुई वटा स्कूल बस पनि सञ्चालनमा छ। बसबाट आउने विद्यार्थीले मासिक पाँच सयदेखि सात सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ। यो भाडादर विद्यालय व्यवस्थापन समिति र अभिभावक भेलाबाट तोकिएको हो। बसका कारण टाढाबाट आउने विद्यार्थीलाई ठूलो राहत भएको स्थानीय नुमा मेचे बताउँछिन्।
मेचे भाषामा पढाइ
हल्दिबारी गाउँपालिकामा मेचे समुदायको जनसंख्या तीन हजार हाराहारी छ। त्यसमध्ये अधिकांश हल्दिबारी–४, ऐनाबारी आसपासमा बस्दै आएका छन्।
“अधिकांश बालबालिका निजी विद्यालयमा पढ्ने भएपछि उनीहरूले पुर्ख्यौली भाषा नै बिर्सन थाले,” स्थानीय नुमा मेचे भन्छिन्, “हामीले गाउँपालिकासँग स्थानीय भाषाको पाठ्यक्रम निर्माणका लागि आग्रह गर्यौं। उहाँहरूले हाम्रो भाषा संरक्षणमा चासो दिनुभयो। २०७७ सालबाट कक्षा १ मा मेचे भाषाको जङ्नि राउ, थाख १ (हाम्रो भाषा, कक्षा १) पठनपाठन शुरू भयो।”
मेचे भाषाको पठनपाठन गर्दै।
ऐच्छिक विषयका रूपमा जङ्नि राउलाई राखिएको भए पनि कक्षा १ मा पढ्ने सबै समुदायका विद्यार्थीले यो विषय पढ्दै आएको शिक्षिका सुनीता मेचे बताउँछिन्। सुनीताले नै मेचे भाषा पढाउँदै आएकी छिन्। विद्यार्थीको रोजाइमा मेचे भाषा परेकाले अहिले पुस्तक नै अभाव जस्तो देखिएको उनी बताउँछिन्।
हल्दिबारी गाउँपालिकाले २०७७ सालमा ७० प्रति पुस्तक प्रकाशन गरेको थियो। शुरूको वर्ष ५० प्रति पुस्तक पाएको विद्यालयले २०७९ मा २० प्रति पुस्तक पायो। यो वर्ष भने पुस्तक सकिएको जानकारी पाएको विद्यालयका प्रधानाध्यापक आचार्य बताउँछन्।
त्यसो त कक्षा १ मा मात्रै पढाइ हुने भएकाले विद्यार्थीले राम्रोसँग भाषा जान्दैनन्। शिक्षक भट्टराई यसलाई कक्षा ५ सम्म विस्तार गर्नुपर्ने बताउँछन्। “विस्तार गरेर लैजान पटक पटक गाउँपालिकासँग आग्रह गरिए पनि गाउँपालिकाले बजेट अभावको कारण देखाउँदै बेवास्ता गर्दै आएको छ,” उनले भने।
यता हल्दिबारी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राई पालिकामा समन्वयका लागि कोही पनि नआएको दाबी गर्छिन्। गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम कक्षा १ देखि ३ सम्म लागू गर्ने प्रक्रियाको अन्तिम चरणमा रहेको भए पनि तत्काल मेचे भाषाका सम्बन्धमा भने गाउँपालिकाको कुनै कार्यक्रम नरहेको उनले बताइन्।