पुल भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध
धादिङको धुनिबेंसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
सोमबार दिउँसो वर्षा भएपछि पुलको धुनीबेंसीतिरको भाग भासिएको हो। पुल भासिएको क्षेत्रतिर खाडल नै परेको छ।
पुल भासिएपछि दिउँसो केही समय एकतर्फी सवारी आवागमन भएको दियो। अपराह्न ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।
भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो। नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो। राजमार्ग अवरुद्ध भएपछि साना सवारीसाधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ।
ठूला सवारीसाधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताए। केही समय हेटौंडा–काठमाडौं र काठमाडौं–नुवाकोट गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।