महावीर पुन र सरकारबीच सात बुँदे सहमति
चार दिनदेखि धर्नामा बसिरहेका रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनसँग सरकारले सहमति गरेको छ।
सोमबार भएको छलफलपछि सरकार र पुनबीच सात बुँदे सहमति भएको छ। सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले हस्ताक्षर गरेका छन्।
अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी वैशाख १५ देखि पुनले माइतीघर मण्डलमा धर्ना शुरू गरेका थिए।
पुनको माग बमोजिम सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कामलाई एकीकृत रुपमा संचालन गर्न सरकारले कोष स्थापना गर्ने सहमति गरेको हो। कोषबाट अनुसन्धान तथा विकास सम्बन्धी कार्यमा लगानी गरिने सहमतिमा उल्लेख छ।
यसका लागि संसद्को आउँदो अधिवेशन विधेयक पारित गरिने जनाएको छ। यो विधेयकको मस्यौदा आगामी ६० दिनभित्र गरिने सहमति भएको छ।
यससँगै पुनको नेतृत्वमा चलिरहेको आन्दोलन पनि आजैबाट अन्त्य गर्ने सहमति गरिएको छ।