वर्षाले फाइनल खेल रोकियो, भोलि खेलाइने
नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ भने मंगलबार खेलाइनेछ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो इनिङको २७.३ ओभरको खेल हुँदा वर्षा भएको थियो। त्यसपछि रोकिएको खेल सञ्चालन हुन सकेन।
अब नेपाल र यूएईबीचको खेल फेरि वैशाख १९ गते बिहान ९ बजे खेलाइनेछ। आज जुन अवस्थामा रोकिएको छ, भोलि त्यही अवस्थाबाट खेल सञ्चालन हुने नेपाल क्रिकेट संघले जनाएको छ।
भोलि यूएईले २७.३ ओभरबाटै ब्याटिङ गर्नेछ। यूएईको एक विकेट मात्रै बाँकी छ।
नेपाल क्रिकेट संघले फाइनल खेलका लागि एक दिन ‘रिजर्भ’ राखेको थियो। फाइनल खेल बराबरीमा टुङ्गिए वा नतीजा आउने अवस्था नभएमा ‘रिजर्भ’ दिनमा फेरि खेलाइने व्यवस्था रहेको छ।
वैशाख १९ गते पनि खेल हुन नसकेमा भने ‘सिडिङ’ का आधारमा विजेता घोषणा गरिनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्राविधिक कमिटीले ‘सिडिङ’ का लागि पाँच वटा आधार तय गरेको छ। यसमा सबैभन्दा बढी अङ्क भएको टोलीलाई विजयी घोषणा गरिन्छ। दुवै टोलीको अङ्क बराबर भएमा बढी खेल जितेको टोली विजयी हुन्छ। त्यसमा पनि बराबर भएमा रनरेट, बलिङ स्ट्राइक रेट र त्यसपछि हेड टु हेडका आधारमा विजेता घोषणा गरिन्छ।
यस प्रतियोगितामा नेपालको सात अङ्क छ भने यूएईको ६ अङ्क छ। अब वैशाख १९ मा पनि खेल हुन सकेन भने नेपाललाई लिगमा प्राप्त अङ्कका आधारमा विजेता घोषणा गरिनेछ।
सोमबार वर्षाले खेल अवरुद्ध हुँदासम्म यूएईले नौ विकेटको क्षतिमा १०६ रन बनाएको छ। यूएईले चौथो ओभरमै कप्तान मोहम्मद वासीमलाई ११ रनमा गुमाएको थियो। नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए।
त्यसपछि पाँचौं ओभरमा करण केसीले भृत्य अरविन्दलाई आठ रनमा आउट गरे। खेलको आठौं ओभरमा केसीले नै आर्यन लक्रालाई १३ रनमा आउट गर्दै दोस्रो विकेट लिए।
दशौं ओभरमा ललित राजवंशीले रमिज शाहजादलाई एक रनमै आउट गरे भने १४औं ओभरमा सन्दीप लामिछानेले रोहन मुस्ताफालाई ३० रनमा आउट गरे।
त्यस्तै, २३औं ओभरमा गुल्सन झाले वसिल हमीदलाई १० रनमा आउट गरे। सातौं विकेटका रूपमा आयन अफजल पाँच रनमा आउट भए। उनलाई लामिछानेले आउट गरे।
आसिफ खानले यूएईको पारी सम्हाल्न खोजे पनि अर्कातिर विकेट झर्दै गयो। खानलाई ४६ रनमा राजवंशीले आउट गरे। त्यस लगत्तै नवौं विकेटमा रूपमा राजवंशीले नै जहूर खानलाई शून्यमा आउट गरे।
नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई-दुई तथा सोमपाल कामी र गुल्सन झाले एक-एक विकेट लिए।