फाइनलमा नेपालको उत्कृष्ट शुरूआत
एसीसी प्रिमियर कपको फाइनलमा नेपालले उत्कृष्ट शुरूआत गरेको छ।
टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको नेपालले शुरूआतमै विकेट लिएको छ। यूएईले ७६ रनमा पाँच विकेट गुमाएको छ।
नेपालका लागि चौथो ओभरमै सोमपाल कामीले विकेट लिएका थिए। उनले यूएईका कप्तान मोहम्मद वासीमलाई ११ रनमा आउट गरे।
त्यसपछि पाँचौं ओभरमा करण केसीले भृत्य अरविन्दलाई आठ रनमा आउट गरे। खेलको आठौं ओभरमा केसीले नै आर्यन लक्रालाई १३ रनमा आउट गर्दै दोस्रो विकेट लिए।
दशौं ओभरमा ललित राजवंशीले रमिज शाहजादलाई एक रनमै आउट गरे भने १४औं ओभरमा सन्दीप लामिछानेले रोहन मुस्ताफालाई ३० रनमा आउट गरे।
अहिले यूएईका लागि आसिफ खान ३० रन र वसिल अहमद आठ रन बनाएर खेलिरहेका छन्।
वर्षाका कारण केही बेर रोकिएको खेल फेरि सञ्चालन भएको छ।