पूर्व लडाकूलाई रकम दिने निर्णय कांग्रेस-एमाले सरकारले गरेको होः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व लडाकूलाई रकम दिने निर्णय आफ्नो नेतृत्वको सरकारले नगरेको बताएका छन्।
प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्व लडाकूलाई रकम दिने निर्णय २०७१ सालमा भएको बताए। नेपाली कांग्रेस र नेकपा (एमाले) सरकार भएको वेला रकम दिने निर्णय भए पनि सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको उनले प्रस्टीकरण दिए। प्रधानमन्त्री दाहालले आर्थिक समस्याका कारण किस्ताबन्दीमा पूर्व लडाकूलाई रकम दिने विषयमा छलफल भइरहेको बताएका छन्।
यस्तै‚ एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि भएको आक्रमणमा सत्तारूढ दलको संलग्नता रहेको भनी लगाएको आरोपमा सत्यता नरहेको प्रधानमन्त्री दाहालले प्रस्टीकरण दिएका छन्।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार पाँच वर्ष चल्ने बताएका छन्। उनले भने, “सरकार पाँच वर्ष चल्छ। यताउता हुन्छ कि भन्ने भ्रम हो।” उनले राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफ्नो नेतृत्वको सरकारमा आउने बताए। उनले भने‚ “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिंदैन। सरकारमा आउने कुरा चलिरहेको छ।”