मानवीय विपद् सिर्जना नगर्न मेयर बालेनलाई भूमिहीनको चेतावनी
भूमिहीनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई ज्ञापनपत्र पठाएर वैकल्पिक व्यवस्था नगरी बस्ती हटाएर मानवीय विपद् सिर्जना नगर्न चेतावनी दिएका छन्।
काठमाडौंका भूमिहीनका तर्फबाट ६ जना अगुवाले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा बसोबासको वैकल्पिक व्यवस्था गरेर मात्रै बस्ती हटाउन आग्रह गरेका छन्। राज्यको संरक्षणको खाँचो भएका भूमिहीनलाई विपद्मा नपार्न उनीहरूले ध्यानाकर्षण गराएका छन्।
भूमिहीनले भनेका छन्, ‘जनताप्रति अभिभावकीय दायित्व वहन गर्नुपर्ने संवैधानिक तथा कानूनी दायित्व भएको महानगर सरकारबाट हामी जस्ता राज्यको संरक्षणको खाँचो भएका नागरिकको जीवनमा मानवीय विपद् सिर्जना गर्ने गरी आवासविहीन बनाउने कार्य हुँदैन भन्ने कुरामा हामी सबैले पूर्ण विश्वास र भरोसा राखेर यो पत्र लेखेका छौं।”
उनीहरूले वैकिल्पक बसोबासको व्यवस्था गर्न पनि आग्रह गरेका छन्। भूमिहीनले भनेका छन्, ‘भूमि सम्बन्धी ऐन र नियमावली समेतका संघीय कानून एवं भूमि आयोगसँग भएको सम्झौता सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान तथा लगत सङ्कलन एवं वैकल्पिक आवास सहितको व्यवस्थापन सुनिश्चित गरे पश्चात् मात्रै बस्ती हटाउने योजना कार्यान्वयन गर्न ध्यानाकर्षण सहित अनुरोध गर्दछौं।”
वैकल्पिक व्यवस्था विना उठिबास लगाउने कार्य मानवअधिकारको गम्भीर उल्लंघन समेत मानिने उनीहरूले स्मरण गराएका छन्। “हामीलाई आवासविहीन बनाउने, जीविकोपार्जनको आधारबाट वञ्चित गर्नेगरी गरिने उठिबास लगाउने कार्य जोसुकैले गरे पनि त्यो गम्भीर मानवअधिकार उल्लंघनको विषय हुन आउँछ,’ भूमिहीनले भनेका छन्, ‘त्यस्तो कार्य खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, २०७५ को दफा ४० (ङ) विपरीत कसूरजन्य कार्य हुने र दफा ४२ (ग) अन्तर्गत फौजदारी दायित्व वहन गर्नुपर्ने संघीय कानूनी प्रबन्ध रहेको बारेमा समेत ध्यानाकर्षण गराउन चाहन्छौं।”