पहिरोले थुनिएको अरुण नदी बग्न थाल्यो
संखुवासभाको मकालु गाउँपालिका-३ र ५ मा निर्माणाधीन अरुण-३ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरुण नदी बग्न थालेको छ।
आइतबार बिहान ८ बजे अरुण-३ जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो। पहिराले थुनिएको अरुण नदी बिस्तारै ड्याम माथिबाट बग्न थालेको हो।
अरुण नदी थुनिएको आठ घण्टापछि ड्याम भरिएर बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो। अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो।
बाँधमा पानी जमेपछि करीब दुई किलोमिटर परसम्म ताल बनेको छ। टनेलको पानी निष्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो।
बहाव परिवर्तन गरी ४२९ मिटर लामो डाइभर्सन टनेल मार्फत अरुण नदीलाई मोडिएको थियो। आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेल मार्फत नदी बग्दै आएको थियो।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका बस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ। अरुण थुनिएपछि अरुण-३ मा ड्याम साइटको काम पनि ठप्प भएको छ। अहिले आयोजनाको ड्याम साइटको अस्थायी बाँधमा पानी भरिएको छ। (रासस)